१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको एक गाउँपालिका अध्यक्षलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले आफूलाई बारम्बार फोनमार्फत ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन् । एक सातादेखि बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी हत्या गर्ने धम्की बारम्बार आउन थालेपछि सुरक्षा व्यवस्था मिलाउन र धम्की दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न गुप्ताले प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।


‘प्राइभेट’ लेखिएको नम्बरबाट फोन आउने र अध्यक्ष भएपछि ठूलो पल्टिएको भन्दै अपरिचित पुरुषले बारम्बार ज्यान मार्ने धम्की आउन थालेपछि आफू र आफ्नो परिवारले मानसिक पीडा भोग्न बाध्य भएको उनले गुनासो गरे । स्थानीय तहको निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी उम्मेदवार हुन् ।


जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मोहनबहादुर खाँडका अनुसार प्रहरीमा घटनाबारे आधिकारिक उजुरी नपरेको र आफूले पनि पत्रपत्रिका र बाहिर अनौपचारिकरुपमा सुनेको बताए ।


प्रकाशित : माघ १६, २०७४ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?