कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गंगामायाको किन उपेक्षा ?

घनश्याम खड्का

काठमाडौँ — छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा, फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसका अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् । लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरेकी हुन् । 

‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म खान्नँ,’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस्, माग पूरा नभएसम्म आन्दोलन तोड्दिनँ ।’ अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद पनि हुने गर्थे । मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो । शारीरिक कमजोरीले बोल्नसम्म नसक्ने अवस्थामा पुगेकी उनलाई मानव अधिकारवादी र चिकित्सकहरूले सुरुमा पानी, फलफूलको रस र झन्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर ब्युँताइदिएका थिए ।


‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबर्जस्ती नै खुवाइयो,’ गंगामाया भन्छिन्, ‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुुस् भनेर सान्त्वना दिइरहे तर अब हार खाइसकेँ, न्याय पाइने छाँट देखिनँ, त्यसैले अब अन्तिम उपाय गर्दैछु ।’


केही दिनयता गंगामायाको स्वास्थ्य बिग्रँदै गएपछि चिकित्सकले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए । तर, उनले आफू अब अनशन बस्ने भन्दै रगत झिक्न नदिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । उनमा जीउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्सको अनुभव कम हुने समस्या देखिएको छ ।

तत्कालीन विद्रोही पक्षबाट अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका बेला बितेका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पतालमा छ । जेठा छोरा नुरप्रसाद पनि चार वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनुपरेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ ।


‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतबारी थियो,’ छोराको हत्याअघि कहिल्यै काठमाडौं नटेकेकी गंगामाया भन्छिन्, ‘तर, अपराधीहरूले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बूढा मरे, भएको अर्काे छोरो मरेबाँचेको पत्तो छैन, अब कसको मुख हेरेर बाँचौं ?’


लामो संघर्षपछि समातिएका अभियुक्तलाई पनि चितवन जिल्ला अदालतले निर्दाेष भनेर छाडिदिएपछि त्यस आदेशविरुद्ध सर्वाेच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सधैँ पेसी सरिरहँदा थप विक्षिप्त छिन् ।


‘जहाँ पनि जहिल्यै भोलि–भोलि भनेर झुलाइरहन्छन्, अदालतले पनि झुलाइरह्यो,’ उनले भनिन्, ‘अब झुलाइरहुन्, मैले अनशन सुरु गरेँ ।’ गंगामायाको निवेदनमा सुनुवाइका लागि पछिल्लो पटक फागुन १३ गतेका लागि सर्वाेच्चले पेसी तोकेको छ । कनकमणि दीक्षित, चरण प्रसाईं, बाबुराम गिरीलगायत मानव अधिकारवादीहरूले ‘गंगामाया बचाऊ’ अभियान चलाइरहेका छन् । अभियान सदस्यहरूले उनलाई कम्तीमा फागुन १३ सम्म अनशन नबसिदिन आग्रह गरेका थिए । उनीहरूले मंगलबार अस्पतालमै पुगेर स्वास्थ्यस्थिति नाजुक भइसकेकाले थप क्षति हुन नदिनका लागि अनशन नबस्न सुझाए पनि गंगामायाले आफ्नो निर्णय छाडिनन् ।

प्रकाशित : माघ १७, २०७४ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?