३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

ठेक्कामा एक्लौटी गर्न नपाएको भन्दै गाउँपालिका कार्यालय तोडफोड

नारायण शर्मा

नवलपरासी — बिनयी त्रिवेणी गाउँपालिकाले स्थानीय बिनयी खोलाको गिटी बालुवा उठाउन खोलेको टेण्डर आफुहरु एक्लैले लिन नपाएको भन्दै स्थानीय युवाहरुले गाउँपालिकाको कार्यालय तोडफोड गरेका छन् । उनीहरुले कार्यालयको सिसा तोडफोड गरेका हुन् ।

शुक्रवार कार्यालय खोल्नासाथ स्थानीयले ढुंगामुढा हानेर ३ वटा झ्यालको सिसा फुटाएका हुन् । गाउँपालिकाले गत मंसिर १९ गते एक सूचना प्रकाशित गरेर बिनयी खोलाको बिभिन्न ६ खण्डलाई बिभाजन गरेर टेण्डर आब्हान गरेको थियो । सबै गरेर एक करोड ५० लाखमा बढाबढ हुने गरि आब्हान गरिएको टेण्डर फर्म १२२ वटा बिक्री भएको थियो ।


टेण्डर बुझाउने म्याद माघ १९ गते दिउसो १२ बजेसम्मको समय तोकिएको थियो । गाउँपालिकाले खोलेको टेण्डर चितवन भरतपुरका मुसे भनिने बचन कार्कीले बिहीवार नै बुझाएका थिए । जिल्ला बाहिरको व्यक्तीले टेण्डर हालेको र आफुहरुले एक्लौटी गर्न नपाएको भन्दै स्थानीयले कार्यालय तोडफोड गरेका हुन् । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले कानून हातमा लिन खोज्ने कार्य दुर्भाग्यपुर्ण भएको बताए । उनले गाउँपालिकाले आब्हान गरेको टेण्डर बढाबढ मुल्यमा हाल्न पाउनु सबैको अधिकार भएको प्रतिकृया दिए । स्थानीयले आफुहरुको मुल्यमा नपाएको भन्दै हुलहुज्जत गरेका हुन् ।


नारा जुलुश गर्दै पुगेको स्थानीयहरुको एक समुहले दादागिरी देखाएर कार्यालय तोडफोड गरेको हो । बिनयी त्रिवेणी गाउँपालिकाका स्थानीय केहि युवाले मिलोमतोमा टेण्डर हाल्न नपाएको भन्दै तोडफोड गरेको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । कार्यालय तोडफोड गर्नेको पहिचान भइसकेको जानकारी दिंदै उनले चाडो पक्राउ पर्ने दावी गरे । तोडफोड भएपछि गाउँपालिकाको आकस्मिक बैठक बसेको थियो ।

कावासोती नगरपालिकाले अघिल्लो वर्ष ६ करोडमा ठेक्का लगाएको केरुंगे खोलाको ठेक्का यसपटक मिलोमतोमा जम्मा ९७ लाखमा सकारेका छन् । जिल्लामा दादागिरी देखाएर सिमित व्यक्तीले आफनो मुल्यमा टेण्डर पार्ने प्रबृति हाबि भएपनि प्रहरी प्रशासन भने मौन बस्दै आएका छन् ।

प्रकाशित : माघ १९, २०७४ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?