२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

बुटवल — सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी बुटवलकी एक महिलाको अस्पतालमै मृत्यु भएको घटना छानबिन र क्षतिपूर्तिको माग गर्दै सोमबार आफन्तले अस्पताल घेराउ गरेका छन् । 

गर्भवतीको मृत्युले अस्पतालमा तनाव

चिकित्सकले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रिएका हुन् । आफन्तहरूले सोमबार घेराउ गर्दा अञ्चल अस्पताल तनावग्रस्त बन्यो । आफन्तले दोषीलाई कारबाही नभएसम्म शव नउठाउने चेतावनी दिएका छन् ।

सुत्केरी गराउन लुम्बिनी अञ्चल अस्पतालमा भर्ना भएकी बुटवल बस्दै आएकी पाल्पाकी ३१ वर्षीया भगवती अधिकारीको आइतबार मृत्यु भएको थियो । अस्पताल र आफन्तबीच सोमबार भएको छलफल निष्कर्षमा पुगेको छैन । मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । गलत औषधि दिएकाले मृत्यु भएको भन्दै घटनाको छानबिन नभएसम्म शव नउठाउने मृतकका श्रीमान् पशुपति अधिकारीले बताए । ‘नर्सले औषधि दिएलगत्तै उनी बेहोस भइन् । यसैले घटनामा चिकित्सकको गल्ती देखिन्छ’, उनले भने ।


चिकित्सकहरूले बच्चादानीको पानी रसाएर रक्तनलीमा मिसिँदा मुटु र फोक्सोले काम नगरेकाले मृत्यु भएको दाबी गरेका छन् । हरेक एक लाख गर्भवतीमध्ये एकजनामा यस्तो समस्या देखिने उनीहरूको तर्क छ । गतवर्ष यस्तै समस्याले ८ गर्भवतीको मृत्यु भएको थियो । अस्पतालका अनुसार आइतबार ७ बजे सुत्केरी गराउन अस्पताल पुगेकी भगवतीलाई ९ बजे भर्ना गरिएको थियो । उनलाई श्रीधर आचार्यलगायतको विशेषज्ञ टोलीले करिब १० बजे जाँच गरेर पाठेघर खुलाउने (अक्सिट्रोसिन) औषधि दिएका थिए । करिब ११ बजे पाठेघर खुम्चाउने (सिन्ट्रोसिन) औषधि दिइएको थियो । यसको करिब १० मिनेटमै उनको शरीर शिथिल र नीलो हुँदै गयो । यसपछि चिकित्सक आत्तिएर स्लाइन चढाएका थिए । सलाइनले झन् बढी भएपछि आईसीयूको भेन्टिलेटरमा राखिएको थियो । उनको अवस्थामा सुधार नआएपछि दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।


घटनाको छानबिन गरी अस्पताल कर्मचारी दोषी देखिए कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए । ‘प्रमाणबिना चिकित्सकको लापरबाही भन्न मिल्दैन’, खनालले भने, ‘औषधिका कारण मृत्यु भए, नभएको छानबिन गर्न तयार छौँ ।’

प्रकाशित : माघ २३, २०७४ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?