कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

३२ सिटका लागि ५२ प्रतिस्पर्धी

काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने भएको हो । 

राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ । बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुन लागेको छ । निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन् । प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव हुनेछ । चुनाव हुन लागेका ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन् ।


मतदानमा एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइएको छ । एक जना सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट हुनेछ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।


यसरी हुन्छ मतदान

प्रत्येक मतदान केन्द्रमा प्रदेशसभा र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताहरूका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ । बहुमतीय प्रणालीबाट मतदान हुने समूहका लागि दिइने मतपत्रमा मतदाताले आफूले मतदान गर्न चाहेको व्यक्तिलाई रेजा चिह्न लगाई मतदान गर्नुपर्नेछ ।


एकल संक्रमणीय प्रणालीबाट मतदान हुने समूहको हकमा भने मतदाताले आफूले रोजेको उम्मेदवारको नाम अगाडि निर्धारित बक्समा प्राथमिकताक्रम १, २, ३ लेखी मतदान गर्नुपर्ने उनले बताए । महिला र अन्य समूहमा उक्त प्रणाली लागू हुने र दुवै समूहमा ३/३ जना निर्वाचित हुने भएकाले प्राथमकिताक्रम ३ वटा तोकिएको हो ।


बहुमतीय तथा एकल संक्रमणीय दुवै मत प्रणालीबाट भएका मतदानमा एकजनाले गरेको मतको मूल्य प्रदेशसभाका सदस्यको हकमा ४८ तथा स्थानीय तहका प्रतिनिधिको हकमा १८ गणना हुनेछ । एकल संक्रणीय मत प्रणालीअनुसारको मतदान गर्दा मतदाताले उम्मेदवार अगाडि प्राथमिकताक्रम लेख्न छुटाउनु हुन्न ।


प्राथमिकताक्रम निर्धारण नगरी रेजा मात्रै लगाइए वा प्राथमिकताक्रम दिँदा पहिलो प्राथमिकता निर्धारण नगरिएको, प्राथमिकता दोहोरिएको मतपत्र बदर हुनेछ । कसैले पहिलो प्राथमिकता दिएको, दोस्रो नदिएको तर एकैपटक तेस्रो दिएको पाइए त्यस्तो अवस्थामा मत संक्रमणीय हुँदैन ।

प्रकाशित : माघ २४, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?