कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कारको उजुरी फिर्ता लिन धम्की

लीला श्रेष्ठ

भक्तपुर — बालिका बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले ललितपुर महानगरपालिका–९ बुङमतीका १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी आवश्यक कारबाही थालेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित साढे चार वर्षीया बालिका महिना दिनयता दुईपल्ट बलात्कृत भएकी थिइन् । 

बालिका बलात्कारको उजुरी फिर्ता लिन धम्की

अभियुक्त वसन्तको परिवार र साथीहरूले बालिकाकी संरक्षकलाई बलात्कारको उजुरी फिर्ता नगरे मार्नेसम्मको धम्की दिंदै आएका छन् । बेवारिसे अवस्थामा भेटिएकी १० महिने शिशुलाई पालेर हुर्काइरहेकी बालिकाकी ६० वर्षीया संरक्षकले भनिन्, ‘सुरुमा तीन लाख रुपैयाँ दिन्छु, हामी मिल्नु पर्‍यो भन्न आए ।’ उजुरी फिर्ता लिन नमानेपछि पटक/पटक धम्की आएको उनको गुनासो छ ।

बलात्कृत बालिकाको स्वास्थ्य प्रतिकूल हुँदै गएको संरक्षकले बताइन् । पुस ३० मा छोरीले पिसाब फेर्दा गुप्ताङ्ग दुखेको बताएपछि संरक्षकले हेर्दा यौनांगमा घाउ लागेको देखेकी थिइन् । घरेलु उपचारले निको नभएपछि उनले बालिकालाई जनस्वास्थ्य केन्द्र च्याम्हासिंह लगेर उपचार गरेकी थिइन् । ‘बलात्कार जस्तो अपराध सोच्नु पनि भएन, सपनामा पनि नदेखेको घटना भयो,’ उनले भनिन् ।

शनिबार ती बालिकाले आफ्नै उमेर बराबरको साथी (बालक) सँग खेल्ने क्रममा साथीलाई थिचिन् । बालककी आमाले के गरेको भनी सोध्दा बालिकाले माया गरेको जवाफ फर्काइन् । ‘(माया) शब्द नै शंकास्पद बन्यो, माया गर्न कसले सिकायो भन्दा बालिकाले वसन्तको नाम लिइन्,’ संरक्षकले भनिन्, ‘सोधपुछ गर्दै जाँदा बलात्कृत भएको पुष्टि भयो, गुप्तांगको चोट बल्ल थाहा पाएँ ।’

बालिकाकी संरक्षकले घटनाको महिना दिनपछि मात्रै घटनाबारे विस्तृतमा थाहा पाएकी थिइन् । बालिकाकी संरक्षकले भनिन्, ‘एक्कासि आकाशले थिचे जस्तो भयो । केही सोच्नै नसक्ने अवस्थामा पुगें ।’ बलात्कार जस्तो जघन्य अपराधमा चुप लागेर बस्न नहुने भन्दै ती बालिकाको साथीको अभिभावकले प्रहरीलाई उजुरी गरे ।

उजुरीको आधारमा प्रहरीले वसन्त तामाङलाई पक्राउ गरी कारबाही थालेको छ । तर, पीडितलाई थप पीडा दिने किसिमले चौतर्फी उजुरी फिर्ता लिन धम्की आएको संरक्षकको गुनासो छ । सानो किराना पसल व्यवसाय सञ्चालन गर्दै आएकी उनलाई बसोबासकै लागि समेत असुरक्षित भएको छ । बलात्कारीलाई कारबाही प्रक्रिया थालेपछि थप असुरक्षित महसुस भएको उनले बताइन् ।


दुई दिनमा बलात्कारका पाँच उजुरी

महानगरीय प्रहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित १४ र १५ वर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथहा नगरपालिका–१२ जानकीनगर घर भई सिर्जनानगर बस्ने २२ वर्षीय अमीर पण्डित र बानेश्वर बस्ने २१ वर्षीया सञ्जीव रायलाई पक्राउ गरेको छ । साथीको घरमा आएका बेला बलात्कार गरेको पीडितको अभिभावकको उजुरीका आधारमा पक्राउ गरेको डीएसपी दीपक श्रेष्ठले बताए ।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दाङ बबई गाउँपालिका–३ हंसपुर घर भई ताथली बस्ने २० सुरेश घर्तीमगर, भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित साढे चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२२ बुङमती घर भई बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

चाँगुनारायण नगरपालिका–८ सुडालस्थित श्री इँटाभट्टामा मजदुरी गर्दै आएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही इँटाभट्टामा कार्यरत सुर्खेत गुर्बाकोट नगरपालिका–९ भुल्केका ३८ वर्षीय कर्णबहादुर पुनमगर पक्राउ परेको डीएसपी प्रसाईंले बताए । पक्राउ परेका बलात्कारका आरोपी पाँचैजनालाई म्याद थप गरी कारबाही थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २५, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?