कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास निर्माणमा अवरोध - दुई आयोजनामा विस्फोट

-एकै रात तीन स्थानमा बम  -जीएमआर कार्यालय र अरुण तेस्रोको पावरहाउसमा क्षति

सुर्खेत/संखुवासभा — माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । आयोजनाको बाँधस्थल दैलेखको डाब र वीरेन्द्रनगर खजुरास्थित कार्यालयमा शनिबार राति एकै समयमा विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटबाट पर्खाल र सुरक्षा चेकपोस्ट भत्केका छन् ।

विकास निर्माणमा अवरोध - दुई आयोजनामा विस्फोट

विस्फोट हुँदा कर्मचारी डाबस्थित फिल्ड कार्यालयमै थिए । इन्जिनियर क्षेत्रज्ञनारायण खत्रीले बाहिरी पर्खालसँगै आवास घरको पर्खालमा पनि क्षति पुगेको जानकारी दिए । त्यहाँ राखिएका दुईमध्ये एउटा बम भने विस्फोट भएको छैन । उक्त बम सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र छ । ‘घटनालगत्तै सशस्त्र प्रहरीले सुरक्षा दियो,’ इन्जिनियर खत्रीले भने, ‘त्रासले रातभर निदाउन सकिएन । हामी कर्मचारीलाई नै ‘टार्गेट’ गरेर पड्काइएको रहेछ ।’


बम विस्फोटलगत्तै आयोजना सुरक्षार्थ सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो । फिल्ड कार्यालय र सशस्त्र प्रहरी पोस्ट करिब सय मिटर दूरीमा छन् । विस्फोटले मानवीय क्षति भने हुन पाएन ।


९ सय मेगावाटको आयोजनाको सुरक्षा जिम्मा सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । शनिबारको विस्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि उक्त पार्टीले गाडीमा आक्रमण गर्ने र आयोजनाको विरोधमा नाराबाजी गर्नेलगायत गतिविधि गर्दै आएको थियो ।

सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चुतर्वेदीले आधिकारिक जिम्मेवारी कसैले नलिए पनि विप्लव समूहले नै घटना गराएको हुन सक्ने बताए । ‘विप्लव समूहको घोषित कार्यक्रम हेर्दा उनीहरूलाई आशंका गर्न सकिन्छ,’ उनले भने, ‘विद्युत् आपूर्ति बन्द भएको मौका छोपी विस्फोट गराइएको छ ।’ प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीनजना विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिएको जनायो ।


निरन्तर विरोध

विभिन्न दलले सुरुवातदेखि नै आयोजनाको विरोध गर्दै आएका छन् । सन् २००८ मा सरकाले सर्भेका लागि जीएमआरसँग एमओयू गरेको थियो ।


सम्झौतालगत्तै तत्कालीन नेकपा माओवादी, नेपाल मजुदर किसान पार्टी र जनमोर्चाले विरोध गर्दै आएका हुन् । ती दलले माथिल्लो कर्णाली भारतीय कम्पनीलाई दिन नहुने भन्दै स्वदेशी लगानीमा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । भारतले जलस्रोतमाथि एकाधिकार कायम राख्न माथिल्लो कर्णालीमा लगानी गर्न थालेको ती दलको बुझाइ छ । हाल मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका पार्टीले चर्को विरोध गर्दै आएका छन् ।


‘लगानीको वातावरण बिग्रियो’

आयोजनामाथि भइरहेका आक्रमणले लगानीको वातावरण बिग्रेको लगानी बोर्डले जनाएको छ । बोर्ड आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको निकाय हो । ‘आयोजनामा एकसाथ विस्फोट गरियो । यसले लगानीकर्तालाई निरुत्साहित गर्छ,’ बोर्डका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘यस्ता घटनाले जीएमआरलाई मात्र होइन विश्वभर नेपालमा लगानीको वातावरण छैन भन्ने सन्देश फैलिन्छ ।’ बोर्डले गृह मन्त्रालय, सम्बन्धित जिल्लाका प्रशासक र सांसदहरूसँग सुरक्षाका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ ।


अरुणमा विस्फोट

संखुवासभामा पनि अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा शनिबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । चिचिला गाउँपालिका–३ को दिदिङस्थित पावरहाउसमा कुकर बम विस्फोट भएको हो । विस्फोटले निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए । विस्फोट गराउने समूहको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । दुई वर्षअघि पनि उक्त स्थानमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका थिए ।


हवाई फायर

धादिङ (कास)– झार्लाङका बासिन्दाले सदरमुकाम–तिप्लिङ सडक निर्माणमा अवरोध गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । दामन–पाख्रिन खण्डको निर्माण क्रममा ३ वटा एक्साभेटर र डोजरमा शनिबार बेलुका स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो ।


भागदौडमा ३ जना महिला र २ पुरुष सामान्य घाइते भएका छन् । निर्माणमा अवरोध गरेपछि २ सेल अश्रुग्यास र १ राउण्ड हवाई फायर गर्न बाध्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार केसीले बताए ।


उक्त सडकको सदरमुकामदेखि डुन्डुरेखोलासम्मको ४२ किमि निर्माण भइसकेको छ । झार्लाङको फेदी हँुदै सेर्तुङ, तिप्लिङ पुग्ने सडक आफ्नो गाउँ भएर लैजान माग गर्दै स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।


सडक डिभिजन कार्यालय गजुरीका इन्जिनियर मधुसूदन साँखीका अनुसार २९ किमि ट्र्रयाक खोल्न मुख्य ठेकेदार कम्पनी दिव्यज्योति महालक्ष्मीले सहायक ठेकेदार आरजे कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ ।


प्रकाशित : माघ २९, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?