कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यानो खोज्दा अपांगता

विमल खतिवडा

थाप्राङ (चितवन) — इच्छाकामना गाउँपालिका १ थाप्राङका विष्णु चेपाङलाई सधैं एउटै चिन्ता छ– अपांगता भएका छोरा गौखुट्टेलाई कसरी हुर्काउने । जन्मिएको २० दिन हुँदा अँगेनामा परेका थिए उनी । लगाउने न्यानो लुगा थिएन न त ओढ्ने–ओछ्याउने ।

न्यानो खोज्दा अपांगता

चिसोबाट जोगिन अँगेनाछेउ ओछ्यान लगाएको थियो चेपाङ परिवारले । शिशु कसोकसो गरी आगोमा परिहालेछन् । उनी चिच्याए तर सँगै सुतेकी आमाले चाल पाइनन् ।

छोरो एकोहोरो रोइरहेको सुनेपछि छिमेकी घरमा रहेका विष्णु दौडिएर आइपुगे । उनले हत्तपत्त छोरालाई आगोबाट बाहिर निकाले । तर, खुट्टा डढिसकेको थियो ।


विष्णुले छोरालाई भोलिपल्ट बिहानै गाउँलेको सहयोगमा भरतपुर अस्पताल पुर्‍याए । त्यहाँ एक महिना उपचार भयो तर दुवै खुट्टाका औंला रहेनन् । अहिले हिँड्न समस्या हुन्छ । घुँडामुनिको भाग काम नलाग्ने भएको छ । घटनालगत्तै शिशुको अण्डकोषमा समस्या भएर पिसाब रोकिएको थियो । चिकित्सकले पिसाब फेर्न सक्ने बनाइदिए पनि उनका औंला फर्काउन सकेनन् । ‘खुट्टा गाईको जस्तो भएपछि नाम नै गौखुट्टे राखेको हो,’ विष्णुले भने, ‘अहिले पनि बेलाबेला पोलेको ठाउँ देखाउँदै रुने गर्छ ।’ छोरा अहिले ७ वर्षका भए ।

चेपाङ परिवारमा बर्सेनि अनिकाल दोहोरिन्छ । यसपालि पनि दसैंबाट सुरु भइसक्यो । तर, विष्णुलाई अनिकालभन्दा पनि ठूलो पीर कान्छो छोराकै छ । ४ सन्तान छन् उनका । अहिले साथमा तिनै कान्छा मात्र छन् । ठूलो छोरो घर नफर्केको दशक बितिसक्यो । उनी चितवनकै पर्सातिर बस्ने गरेको खबरसम्म छ परिवारलाई । २ छोरी मेघौलीमा निजी होस्टलमा बसेर पढ्छन् । उनीहरूलाई राम्ररी भेट्नसम्म पाउँदैनन् विष्णु । अनिकाल टार्न पत्नी राधिका स्थानीय गुरुङ समुदायका लागि घाँस काटिदिन्छिन् । एक भारी घाँसबापत १० देखि २० घोगासम्म मकै पाउँछिन् । ‘त्यही मकैको खोले खाएर सास धान्ने हो,’ विष्णुले भने, ‘अरू त के खाने, अन्न बाँकी छैन ।’


स्थानीय जगत गुरुङको सुँगुर अँधियामा पालेको छ चेपाङ दम्पतीले । साँघुरो घरमा सुँगुर र मान्छे एकै ठाउँ बस्छन् । ‘यत्रो उमेरसम्म खुट्टामा चप्पल लाएको छैन,’ विष्णुले फुटेर रगत निस्किएको खुट्टा देखाउँदै भने, ‘अब त बानी परिसक्यो, खुट्टाभन्दा पेटलाई अघाउन पाए पुग्ने थियो ।’ गाउँमै बेलाबखत दाताहरू लुगा लिएर आउँछन् । जडौरी लुगा लिन पनि हानथाप चल्छ । त्यसैका भरमा चाडबाड मान्छन् ।

जाडो छल्ने एउटै उपाय आगो मात्र हो । यो विष्णुको मात्र होइन, गाउँभरिकै नियति हो । गाउँका अगुवाका अनुसार बर्सेनि १/२ जना बालबालिका आगोको सिकार बन्छन् । सोही गाउँका श्याम चेपाङकी १० वर्षीया छोरी खुइलीमाया पनि आगोमा परिन् । टाउको आधा भाग डढेको छ । देब्रे हात र औँला पनि जोगिएनन् । ‘जाडोमा ओढ्ने नभएकाले आगो बालेर सुतेका थियौं,’ श्यामले भने, ‘तातो खोज्दै जाँदा छोरी आगोमा परिन्, रोएपछि मात्र थाहा पायौं ।’ २ वर्षकी छँदा जलेकी थिइन् छोरी । टाउको आगोले खुइलिएकै कारण स्थानीयले उनको नाम खुइलीमाया राखिदिए ।


आगलागीमा परेका बालबालिकाले तुरुन्तै उपचार पाउँदैनन् । सदरमुकामबाट पूरै एक दिन लाग्ने यो गाउँमा चेपाङ समुदायको बाक्लो बसोबास छ । विकट बस्ती भएकाले दाताहरूको दृष्टि हत्तपत्त यहाँ पर्दैन । ‘विकट गाउँमा यो समस्या विकराल बन्दै छ,’ राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङले भने, ‘गरिबीकै कारण उनीहरूसँग ओढ्ने–ओछ्याउने हुँदैन, न्यानोका लागि आगो बालेर अँगेनाछेउ सुताइँदा बालबालिका जल्ने गरेका छन् ।’

बिरामीलाई तत्काल स्वास्थ्यचौकी लगिए पनि स्वास्थ्यकर्मी भेट्न मुस्किल पर्छ । त्यसैले सदरमुकामतिरै दौडाउनुपर्छ । उपचारमा लैजान ढिलाइ हुँदा कतिपयको बाटैमा ज्यान जाने गर्छ । राप्ती नगरपालिकाका स्वाथ्य संयोजक राजेन्द्र पराजुली भने विकट बस्तीमा बालबालिका जलेर अपांग हुने दर पछिल्ला दिन घटेको बताउँछन् । ‘पहिला आगोमा परेर अपांग हुने बालबालिकाको संख्या धेरै हुन्थ्यो,’ उनले भने, ‘अहिले पनि यो क्रम रोकिएकै त छैन तर कम भएको छ ।’

प्रकाशित : माघ २९, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?