कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सय पुल अति जीर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर २ सयभन्दा बढी पुल अति जीर्ण अवस्थामा रहे पनि मर्मतसम्भार अघि बढाइएको छैन । बजेट अभावमा पुल मर्मत गर्न नसकिएको सडक विभागको दाबी छ ।

विभागका अनुसार ती पुल सडक सुरक्षाका दृष्टिले संवेदनशील अवस्थामा पुगिसकेका छन् । सबै पुल मर्मत गर्न २ अर्ब ९० करोड रुपैयाँजति लाग्ने विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार मर्मतबाहेक मुलुकभर निर्माणाधीन १६ सयभन्दा बढी पुलका लागि समेत बजेट अपुग छ । ‘हामीसँग पुल निर्माणको बजेट भनेको ३ अर्ब रुपैयाँ हो, मर्मतका लागि खासै बजेट छैन,’ उनले भने, ‘१६ सय पुल निर्माणकै लागि ६२ अर्ब रुपैयाँभन्दा बढी चाहिन्छ भने मर्मतका लागि कहाँबाट बजेट जुटाउने ?’

निर्माणाधीनभन्दा जीर्ण अवस्थामा रहेका पुलको संवेदनशीलता हेरेर बजेट विनियोजन गर्नुपर्ने थापाको भनाइ छ । ‘सामान्यत: पुलको आयु ४०/५० वर्ष हुन्छ तर हामीसँग ७० वर्षभन्दा पुराना छन्,’ उनले भने, ‘दैनिक सयौं गाडी ओहोरदोहोर गर्ने ती पुल तत्काल मर्मत नगरे ठूलो संकट आइलाग्न सक्छ ।’

मुलुकको रणनीतिक महत्त्वको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैयानजिकको दोधा पुल, महोत्तरी–धनुषा सिमानाको रतुवा पुल, महोत्तरीको जुडो पुललगायत जीर्ण रहेको थापाले जानकारी दिए । पथलैयाको दोधा पुलमा निर्माणाधीन फास्ट ट्रयाकसमेत पर्ने हुँदा यसलाई ४ लेनमा विस्तार गर्नुपर्ने उनले बताए । ‘टेन्डर आहवान हुने चरणमा छ,’ उनले भने, ‘संवेदनशीलता हेरेर धेरै पुल मर्मतका लागि टेन्डर आहवान गर्दैछौं ।’

थापाका अनुसार नेपालगन्ज खण्डका परुवाखोला र गुलरिया सडकमा पर्ने मादा नदीमाथिको पुल पनि तत्काल मर्मत गर्नुपर्ने अवस्थाका छन् । देशभर निर्मित २२ सयभन्दा बढी पुलमध्ये ५५ प्रतिशतजतिको अवस्था भने ठीकै रहेको उनले बताए । ‘सकेसम्म चाँडो मर्मत गर्छौं,’ उनले भने, ‘बजेट अभावले ढिलाइ भएको हो ।’ काठमाडौं–ललितपुर जोड्ने थापाथली पुल, पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन पुल र अमलेखगन्जको ३ नम्बर पुलको मर्मत गरिसकिएको जानकारी दिँदै थापाले सडक सुरक्षाका लागि रेलिङ व्यवस्थापन गर्न थप २ अर्ब रुपैयाँ बजेट चाहिने बताए । पुल मर्मत तथा सडक सुरक्षाका लागि विभागले विश्व बैंकसँग आर्थिक सहयोग लिनेबारे छलफल पनि भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?