कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपामा विवाद: समानुपातिकलाई मन्त्री बनाउने कि नबनाउने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) भित्र समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद चर्केको छ । प्रदेश २ मा मधेसी जनअधिकार फोरम र राजपाले सरकार बनाउने गृहकार्य अघि बढाएसँगै यो विवाद सतहमा आएको हो ।

राजपामा विवाद: समानुपातिकलाई मन्त्री बनाउने कि नबनाउने ?

राजपाका महासचिव केशव झाले यही विवादका कारण बिहीबार मुख्यमन्त्रीको शपथसँगै गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिए । फोरम र राजपाबीच माघ २६ गते मुख्यमन्त्रीसहित चार मन्त्रालय फोरम र सभामुखसहित तीन मन्त्रालय राजपाले लिने सहमति भएको थियो ।


राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकाले समानुपातिक सांसदलाई तत्काल मन्त्री बनाउन नहुने प्रस्ताव पार्टीमा राखेका छन् । तर, अध्यक्ष मण्डलका सदस्यमध्ये राजकिशोर यादव र अनिल झाले त्यस प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनीहरूले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको हैसियत बराबर भएको भन्दै त्यस्तो प्रस्ताव आफूहरूले नमान्ने बताए ।


राजपाभित्र २५ सांसदमा १० जना समानुपातिकबाट निर्वाचित छन् । अधिकांश सांसद मन्त्रीका आकांक्षी छन् । राजपाले तीन मन्त्री र तीन राज्यमन्त्री पाउने तय भएको छ । अध्यक्ष मण्डलका सदस्य झाकी श्रीमती डिम्पल झासमेत मन्त्रीको आकांक्षी छिन् । उनी समानुपातिक सांसद हुन् । झा आफ्नी पत्नीलाई मन्त्री बनाउने उद्देश्य राखेरै समानुपातिकलाई मन्त्री बनाउन नहुने प्रस्तावको विरोधमा उत्रिएको स्रोतले बतायो । फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतले शपथ लिने कार्यक्रम छ । उनको शपथसँगै मन्त्रिमण्डल विस्तार गर्ने योजना भए पनि राजपाले तत्काल मन्त्रिपरिषद्मा कसैलाई पनि नपठाउने महासचिव झाले बताए ।


सूची सच्याइयो

रेणु शर्माको सट्टा नरमाया ढकाल

काठमाडौं (कास)– राष्ट्रिय जनता पार्टीले समानुपातिकबाट विजयी हुने प्रस्तावित उम्मेदवारहरूको सूची सच्याएर मंगलबार निर्वाचन आयोगमा बुझाएको छ । यसअघि राजपाले बुझाएको सूची कानुनअनुसार नमिलेको भन्दै त्यसलाई सच्याउन आयोगले पत्राचार गरेको थियो ।


राजपाले समानुपातिकबाट प्रतिनिधिसभामा ६ जनाको प्रतिनिधित्व गराउने अवसर पाएको छ । राजपालाई ६ वटै सिटमा महिला पठाउनुपर्ने बाध्यता छ । त्यसअनुसार सच्याएर पठाएको सूचीमा चन्दा चौधरी, नरमाया ढकाल, निर्जला राउत, रानी मण्डल, अम्रिता अग्रहरी र दुलारीदेवी खंगको नाम राखिएको छ ।


खस आर्य क्लस्टरबाट राजपाले पठाउनुपर्ने २ जनामा बन्दसूचीको क्रम आबद्धता मिचेर पठाइएको भन्दै आयोगले त्यसलाई सच्याउन भनेको थियो । उक्त क्लस्टरको एक नम्बरमा रहेकी नरमाया ढकालको नाम हटाएर यसअघि राजपाले निर्जला राउत र तेस्रो नम्बरकी रेणु शर्माको नाम पठाएको थियो । संशोधित सूचीमा शर्माको नाम हटाएर ढकालको नाम थपिएको छ ।


पार्टी महासचिव केशव झाले आयोगले भनेअनुसार सूचीमा आवश्यक संशोधन गरी पठाइएको जानकारी दिए । आयोगले कांग्रेस र माओवादी केन्द्रलाई समेत सूचीमा नमिलेको विषय सच्याएर पठाउन पत्राचार गरेको छ । फागुन २ भित्र सूची सच्याउन दलहरूलाई म्याद दिइएको छ । आयोगका प्रवक्ता नवराज ढकालले तीन दललाई सूची सच्याउन पत्राचार गरिएकामा राजपाबाट आवश्यक संशोधन भएर आइसकेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?