कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त 

लीलावल्लभ घिमिरे

विराटनगर — शेरधन राई प्रदेश १ काे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई बुधबार मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए ।

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त 

योसँगै प्रदेश १ मा मन्त्रिपरिषद गठनकाे लागि बाटो खुलेको छ ।


संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता राईलाई प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले नियुक्त गरेका हुन् । एमाले संसदीय दलमा भीम आर्चायलाई २ मतान्तरले पराजित गर्दै राई दलको नेता चुनिएका थिए । राईलाई माओवादी केन्द्रको समेत समर्थन छ ।


प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन् । बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।


मुख्यमन्त्री नियुक्त भएपछि राईले भ्रष्टाचारलाई शून्यमा झार्ने, सुशासन कायम गर्ने बताएका छन् । केन्द्रमा र प्रदेशहरुमा सातवटा सरकार बनाइरहँदा निकै धेरै आर्थिक भार व्यहोर्नुपर्ने भएकाले अवस्था र स्थितिलाई विचार गर्दै छरितो, चुस्त खालको र सकेसम्म कम आकारको मन्त्रिपरिषद् बनाउने उनले बताए ।


प्रदेशको समृद्धिको मूख्य आधार कृषि, पर्यटन, जलस्रोत र उद्योग भएकाले तिनको उच्चतम उपयोग गरी ठोस गुरुयोजना बनाएर नमुना प्रदेश बनाउने राईको दाबी छ ।


प्रकाशित : फाल्गुन २, २०७४ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?