शान्तिसेना दोब्बर पार्न सकिन्छ : सेना

चन्द्रशेखर अधिकारी

काठमाडौँ — संयुक्त राष्ट्रसंघले आवश्यक ठाने शान्तिसेनामा पठाइने फौज दोब्बर पार्न सकिने नेपाली सेनाले जनाएको छ । अहिले ४ हजार ८ सय ३४ शान्तिसेना खटाइरहेको नेपाली सेनाले उक्त संख्या बढाएर १० हजार पुर्‍याउन सकिने धारणा औपचारिक रूपमै सार्वजनिक गरेको हो । 



विश्वका एक दर्जन मुलुकमा विभिन्न २३ मिसनअन्तर्गत नेपाली सैनिक खटिएका छन्। सन् १९५८ देखि हालसम्म ४२ मुलुकका मिसनमा १ लाख १९ हजार २ सय ७ नेपाली सैनिकले काम गरिसकेका छन्। यस क्रममा ६३ जनाले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा अंगभंग भएका छन्।

‘नेपाली सेनामा रहेको कुल संख्याको दस प्रतिशत विश्व शान्ति मिसनमा पठाउन सकिन्छ,’ प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना दिवस २०७४ मा दिएको वक्तव्यमा उल्लेख छ, ‘नेपाल सरकारबाट भएको संख्याको १० प्रतिशतसम्म शान्तिसेनामा पठाउन सकिने स्वीकृति प्राप्त भएपछि सेनाले यो प्रक्रिया अघि बढाएको हो।’ यसैका आधारमा सेनाले कूटनीतिक ‘च्यानल’ र सैन्य संयन्त्रमार्फत राष्ट्रसंघलाई औपचारिक जानकारी दिएको हो। अहिले सुडानमा ३ सय ७६, दक्षिण सुडानमा १ हजार ७ सय ५०, कंगोमा ८ सय ९६, लाइबेरियामा एक, मोरक्कोमा सात, इजरायलमा तीन, लेबनानमा ८ सय ७२, मालीमा १ सय ५५, सिरियामा ३ सय ३४, सेन्ट्रल अफ्रिका गणतन्त्रमा १ सय १४, इराकमा ७६ र लिबियामा २ सय ३० सैनिक शान्ति स्थापनार्थ खटिइरहेको सेनाले जानकारी दिएको छ। तीमध्ये १ सय ३० जना महिला छन्।

शान्तिसेनाको संख्या बढाउँदै लाने जानकारीसाथै सेनाले कमान्डर र अधिकृत पदसमेत माग गरेको छ। अहिले कमान्डर पदमा नेपाली सेनाको संख्या उल्लेख्य छैन। नेतृत्व तहमा नेपाली सेनाले एक/दुई पदमात्र पाउने गरेको छ। सल्लाहकार पद पनि लामो समयदेखि पाउन सकेको छैन। त्यस्ता पद सुरक्षा परिषदका स्थायी सदस्य मुलुक र केही क्षेत्रीय शक्ति मुलुकहरूले लिने गर्दा नेपालजस्तो मुलुक पछि परेको सैनिक अधिकारीहरूले बताए। राजनीतिक नेतृत्व तहबाटै ‘कूटनीतिक लबिइङ’ हुन सके त्यस्ता पद पाउन सकिने उनीहरूको दाबी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले असोजमा राष्ट्रसंघको महासभामा संवोधन गर्दा पनि सुरक्षा परिषद् सदस्य मुलुकको ध्यानाकर्षण गराएका थिए। दोब्बर सेना पठाउन सकिने भएपछि उच्च पदमा पनि त्यसैअनुसारको अवस्था आउने विश्वास सैनिक अधिकृतले व्यक्त गरेका छन्।

‘शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या वृद्धि हुँदै जानेछ। यसमा शंका छैन। कुल दरबन्दीको १० प्रतिशतसम्म पठाउने हाम्रो तयारी छ। त्यहीअनुरूप माग पनि हुनेमा सेना विश्वस्त छ,’ सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भने। यसअलावा नेपाली सेना पछिल्लो पटक सैन्य कूटनीतिमा पनि अग्रसर भएको उनले बताए। सरकारले तोकेको दायरामा बसी मित्रराष्ट्रका सेनासँगको सम्बन्ध अझ विस्तार गर्न सेना सक्रिय रहेको प्रवक्ता भण्डारीको भनाइ छ।

प्रकाशित : फाल्गुन २, २०७४ १९:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रेम दिवसको विरोध किन ?

नवीन रायमाझी

अमेरिका — भ्यालेन्टाइन डे भन्ने शब्द सबैभन्दा पहिले सन् १९९४ मा भारतको गोवामा देखेको/सुनेको हो । आजकै दिन मान्छेहरु रातो गुलाफको फुल हातमा लिएर यताउति गरिरहेका थिए र पसलहरुमा ठुला ठुला अक्षरमा "ह्याप्पी भ्यालेन्टाइन डे" भनेर लेखेको तुल झुण्ड्याइएको थियो ।

आज अंग्रेजी महिनाको फेब्रुवरी १४ तारिख अर्थात् भ्यालेन्टाइन डे । यो दिबस ईसाई र ईसाई-प्रभावित संस्कृति भएपनि आजकाल बहुराष्ट्रीय पर्व हुँदैछ । नेपालमा पनि यो दिनलाई जानेर वा अरुको अगाडि आफुलाई आधुनिक देखाउन मनाउने वा पाखण्ड गर्ने जमात बाक्लै देखिन्छ, धन्न यो दिनमा सरकारी बिदा चाहियो भन्ने माग अहिलेसम्म आएको छैन । अमेरिकास्थित ग्रिटिङ कार्ड एसोसिएशनको अनुसार क्रिसमस पछि ग्रिटिङ कार्ड यसै दिनमा सबैभन्दा बढी बिक्री हुन्छ । करिब पाँच करोड कार्ड बिक्री हुने यो दिनलाई प्रेम दिबस भन्ने पनि गरिन्छ ।

पंक्तिकारले म जस्तो निम्न मध्यम बर्गीय परिवारमा जन्मे हुर्केको व्यक्तिलाई प्रेम भन्ने शब्द मुखबाट निकाल्न पनि अपराध जस्तै हुन्थ्यो । ट्रकको पछाडी लेखिएको "प्रेम गर तर धोका नदेउ" भन्ने बाक्य भन्दा स्कुलको प्रधान अध्यापक स्व. दमन प्रसाद आचार्यले पोलिथिन पाइपको टुक्राले खुट्टामा हानेको अहिलेसम्म बिर्सिन सकेको छैन ।

फर्कौं गोवा तिरै, भ्यालेन्टाइन डेको बारेमा पहिलो पटक सुनेको भए पनि यो पर्वमा आफु निकै अभ्यस्त भएको देखाउन ४५ रुपियाँमा एउटा कार्ड त किनियो तर त्यो कार्ड दिने कसलाई? कार्ड लिने मान्छे कोहि नभए पनि कार्ड पसले मसँग निकै प्रभावित भएको थियो किनकि त्यो समयमा प्राय अरु मान्छेहरु त्यस्तै १५-२० रुपियाँ पर्ने कार्ड खरिद गरिरहेका थिए । कार्ड साहुजीको दृष्टिमा जति भब्य मान्छे प्रमाणित हुन सफल भए पनि त्यो ४५ रुपियाँ व्यार्थमा गएकोमा मलाई कति दुख लागेको थियो त्यसको अनुभव अरु कसैले गर्न सक्दैन, तर मेरो त्यो औचित्यहीन नाटक सफल भयो ।

जानकारहरुका अनुसार यो दिनमा प्रेमी–प्रेमिका मात्र होइन जसले आफुलाई स्नेह राख्छ त्यो मान्छेलाई उपहार दिएर वा उसँग केहि समय बिताएर मनाउने प्रचलन छ । यद्यपी प्रेम गर्न किन एक दिन मात्र तोक्नु पर्यो? यो त बर्षै दिन र चौबिसै घण्टा गर्दा पनि हुन्छ भनेर कुतर्क गर्ने जमात पनि छ, त्यस्ता ब्यक्तिहरुलाई मेरो जवाफ निधारमा टिका लगाउन किन बिजयादशमी वा दशैं नै कुर्नु पर्यो भन्ने छ । सबै दिन वा पर्वको कुनै न कुनै महिमा हुन्छ । यदि त्यो समाजमा नभएको र त्यो संस्कारको बारेमा जानकारी नभएको ब्यक्तिलाइ त्यस्तो दिनको बारेमा कुनै मतलब नहुन सक्छ तर यो बिल्कुलै गलत हो भनेर भन्न सकिन्न ।

यो कुरा सुनेर धेरैले बिरोध गर्लान् तर सत्य के हो भने यो दिनलाई हामी सिधै यौनसँग जोडेर हेर्छौ, त्यो नितान्त गलत र जानकारीको अभाव हो वा घटिया मानसिकता । अर्को धर्म वा समाजको पर्वको बारेमा यो त बिल्कुलै गलत हो भनेर कुनै पनि सभ्य व्यक्तिले भन्न मिल्ने कुरा होइन । यसको साथै मलाई यो पर्वको बारेमा कुनै जानकारी छैन र मलाई कुनै इच्छा लाग्दैन भनेर कसैले भन्छ भने त्यो उसको स्वतन्त्रताको कुरा हो ।

प्रस्तुत आलेखमा मैले भ्यालेन्टाइन डेको बारेमा कुनै वकालत गर्न खोजेको होइन र म आफैलाई पनि यो दिन कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तो छ । जसलाई यो दिवसको दिन खुशी हुन्छ वा उमंग हुन्छ उसले मज्जाले मनाउनु होला र जसलाई कुनै मतलब लाग्दैन उसले नमनाउनु होला, तर पाखुरा सुर्केर यसको बिरोध गर्नुको कुनै तुक छैन । यसको साथै यो पनि सत्य हो कि प्रेम जस्तो बिस्तृत र ब्यापक बिषयलाई जसले जोसँग पनि गर्न सक्छ, तर कसलाई प्रेम गरिन्छ । उसको मर्यादा मा रहनु पर्छ । प्रेम दिवस मनाउने विचार गर्नु भएका सबैलाई मेरो तर्फ बाट "ह्याप्पी भ्यालेन्टाइन डे ।"

प्रकाशित : फाल्गुन २, २०७४ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT