कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ घरमा मुक्त हलिया

मेनुका ढुंगाना

अछाम — मेल्लेख ८ हात्तीकोटका मुक्त हलिया जनक आउजीको परिवार नयाँ घरमा बस्न थालेको छ । ३ लाख २५ हजार अनुदान पाएपछि उनको परिवारले चिटिक्कको घर निर्माण गरेको छ । ‘तीन वर्षअघि जग्गा खरिदका लागि १ लाख ५० हजार अनुदान पाएको थिएँ,’ जनकले भने, ‘यस वर्षको रकमले घर बनाएँ ।’

सरकारले ढिलै भए पनि जग्गा खरिद र घर बनाउन अनुदान दिएपछि मुक्त हलिया उत्साहित छन् । आर्थिक वर्ष ०७३/७४ मा (क) वर्गको परिचयपत्र पाएका ११ र (ग) वर्गको परिचयपत्र पाएका ८ गरी १९ मुक्त हलिया परिवारले घर निर्माण अनुदानबापत ३ लाख २५ हजार नगद अनुदान पाएका हुन् ।

बलिगाउँका झुप्रे ढोलीको परिवार पनि पहिलोपटक आफंैले चाहेजस्तो घरमा बस्न पाएका छन् । अर्काको जग्गामा बनाएको सानो छाप्रोमा जीवन बिताउँदै आएको उनको परिवार नयाँ घरमा सरेको हो । (क) वर्गको परिचयपत्रवाहक झुप्रेको परिवार मुक्त घोषणा भएको १० वर्षपछि आफ्नै नामको जग्गामा घर बनाएर बस्न पाउँदा निकै खुसी छ ।

‘अर्काको जग्गामा बनाएको सानो छाप्रोमा कोचाकोच गरेर बस्दै आएका थियौं । अब त्यो समस्या हट्यो,’ झुप्रेले भने । सरकारले आव ०७१/७२ देखि (क) र (ग) वर्गको परिचयपत्र पाएका मुक्त हलियालाई घर निर्माणका लागि नगद अनुदान दिन थालेको हो । हालसम्म घर बनाउन नगद अनुदान पाएर जिल्लाका २६ मुक्त हलिया परिवार लाभान्वित भएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

गत आवमा ६० मुक्त हलिया परिवारले घर मर्मतबापत प्रतिपरिवार १ लाख २५ हजार नगद अनुदान प्राप्त गरेका थिए । मुक्त कमैया पुन:स्थापना कार्यक्रमअन्तर्गत नै गत आर्थिक वर्षमा घर निर्माण, घर मर्मतबाहेक केही मुक्त हलिया परिवारले जग्गा खरिदको सुविधासमेत प्राप्त गरेका थिए । ६ परिवारले जग्गा खरिदका लागि प्रतिपरिवार २ लाख रुपैयाँ अनुदान पाएको छ ।

१८ परिवारलाई जग्गा खरिदका लागि अनुदान दिने सरकारको लक्ष्य भए पनि ढिलो गरी सम्पर्कमा आएकाले धेरै परिवारले जग्गा खरिदको अनुदान पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । मुक्त हलिया पुन:स्थापना कार्यक्रमअन्तर्गत तीनवटै शीर्षकमा अछामका लागि आएको कुल १ करोड ७७ लाख ८४ हजारमध्ये २९ लाख फिर्ता भएको छ । सुरुमा दुई सय १२ परिवार मुक्त हलिया रहेको सरकारी तथ्यांक भए पनि पछि ३८ परिवारले तथ्यांकबाट नाम हटाउन निवेदन दिएका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?