कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको दोस्रो ‘इनिङ’

एमाले र माओवादी केन्द्रका तर्फबाट १७४ सांसदको समर्थन रहेको दाबी पेस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुका साथै शपथसमेत गराइन् 
दुर्गा खनाल

काठमाडौँ — २०७३ साउन १९ गते पद छोडेर बाहिरिँदै गर्दा केपी ओलीले प्रधानमन्त्री निवास, बालुवाटारको बगैंचामा बिरुवा रोपेका थिए । नौमहिने कार्यकालमा अनगिन्ती सपना सुनाएका ओलीले ‘विकास र समृद्धि’ को बिरुवा रोपेर हिँडेको सन्देश दिन आफ्नो बहिर्गमनमा भिन्न शैली अपनाएका थिए । झन्डै १९ महिनापछि विकास र समृद्धिको त्यही सांकेतिक बिरुवा हुर्काउने जिम्मेवारीसहित ओली दोस्रोपटक बिहीबारबाट सत्ताको बागडोर सम्हाल्न आइपुगेका छन् । 

ओलीको दोस्रो ‘इनिङ’

संविधानअनुसार तीनै तहको निर्वाचन सकिएपछि संघीयताको व्यावहारिक कार्यान्वयन थालनी भएको छ । स्थानीय तह र प्रदेशस्तरका सरकारसमेत बनिरहेका छन् । यी सबैको केन्द्रीय कमान्ड सम्हाल्ने कप्तानका रूपमा सिंहदरबारमा ओलीको ‘दोस्रो इनिङ’ सुरु भएको हो ।

यसअघि संसद्मा दोस्रो पार्टीको नेताका रूपमा अन्य दलहरूको गठजोड बनाएर प्रधानमन्त्री बनेका ओली यसपटक आफ्नो दलीय हैसियत एक तह बढोत्तरी गर्दै जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । निकट भविष्यमै एउटै पार्टी बन्न लागेको सन्देश दिन उनी माओवादी केन्द्रका ५३ सांसदसहित एमालेका १ सय २१ जनाको समर्थन रहेको दाबी गर्दै बिहीबार राष्ट्रपति कार्यालय पुगेका थिए । उनका साथमा माओवादी नेता नारायणकाजी श्रेष्ठसहित एमाले नेताहरू माधव नेपाल, सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, अग्नि खरेल आदि थिए । संविधानको धारा ७६(२) बमोजिम कुल १ सय ७४ सांसदको समर्थन रहेको दाबी पेस भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै अपराह्न शपथसमेत गराइन् ।


एमाले अध्यक्ष ओली नयाँ संविधान जारी भएलगत्तै २०७२ असोज २४ मा तत्कालीन माओवादी केन्द्रसहितका दलको समर्थनमा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । सरकारको नेतृत्व आलोपालो गर्ने ‘भद्र सहमति’ कार्यान्वयन नभएको भन्दै सत्ता सहयात्री माओवादीले विपक्षी दलसँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव ल्याएपछि उनले राजीनामा दिएका थिए । माओवादीसँगको सम्बन्धका कारण नौ महिनामै सत्ता छोड्ने स्थितिमा पुगेका ओली पुन: त्यही दललाई साथमा लिएर प्रधानमन्त्री बनेका छन्– उक्त पार्टीसँग एकीकरण नै गर्ने मार्गचित्रसहित ।

ओलीले पहिलो प्रधानमन्त्रित्वकालमा भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । मधेसी दलहरू आन्दोलनमा थिए । भारतसँगको परनिर्भरता तोड्न उनले चीनसँग पारवहनलगायत रणनीतिक प्रकृतिका सम्झौता गरे । त्यसको कार्यान्वयन नहुँदै उनको बहिर्गमन भयो । त्यसको कार्यान्वयनलगायत विकास–समृद्धि ल्याउने स्थिर सरकारको नारा दिँदै उनी पछिल्ला तीन चुनावको परिणाम आफ्नो दलका पक्षमा पार्न सफल भए ।

कुनै समय माओवादीका कट्टर आलोचक थिए– ओली । पहिलो संविधानसभा चुनावमा माओवादीबाटै पराजय भोगेका थिए । पहिलो प्रधानमन्त्रित्वकाल माओवादीकै कारण अन्त्य भएकाले उनीहरूको सम्बन्ध अरू बिग्रियो । स्थानीय तहको निर्वाचनसम्म ओलीले माओवादीलाई रुचाएको देखिएन । तर स्थानीय चुनावको परिणाम एमालेले अपेक्षा गरेअनुसार नआएपछि उनले आफूलाई बदले । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा त गठबन्धनसहित पार्टी एकता नै गर्ने तहको घनिष्ठता माओवादीसँग कायम गरे । ओली २००८ फागुन ११ गते तेह्रथुम, इवामाको सामान्य किसान परिवारमा जन्मेका हुन् ।


पिता मोहननाथ ओली र आमा मधु ओलीको कोखबाट जन्मेका उनको बाल्यकाल निकै दु:खसाथ बित्यो । सानै हुँदा आमाको निधन भयो, बाबुले दोस्रो विवाह गरे । पहाडको गरिबीका कारण तेह्रथुमबाट ओली परिवार झापा झर्‍यो । झापामा दु:खजिलो गर्ने थोरै खेत पनि बाढीले बगाएपछि खान–लाउनै निकै ठूलो समस्या पर्‍यो । त्यही समयमा ओली रामनाथ दाहालका घरमा बस्न थाले । दाहाल पञ्चायतकालमा सुखानीमा मारिएका नेता हुन् । दाहालको संगतमा हुर्केका ओलीले उनीबाटै विद्यालय अध्ययनमा सहयोग पाए । दाहाल भूमिगत रूपमा पञ्चायतविरुद्धको आन्दोलनमा लागिसकेका थिए । त्यही क्रममा ओली पनि राजनीतिमा आकर्षित भएका थिए ।

२०२३ बाट माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण पाएका ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुन् । त्यसमा लागेबापत किशोरवयमै उनी तत्कालीन पञ्चायती प्रशासनबाट पक्राउ परे । २०३० सालबाट लगातार १४ वर्ष जेलजीवन बिताए । जेलमध्ये पनि कठोर यातना दिने काठमाडौंको गोलघरमा उनलाई धेरै समय राखियो ।

२०४८ सालबाटै संसद्मा निर्वाचित हुँदै आएका ओली हाल झापा–६ का सांसद हुन् । उनी २०६४ सालको संविधानसभाबाहेक अन्य सबै चुनाव जित्दै आएका छन् । उनी पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकारमा गृहमन्त्री भएका थिए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री ।

एमाले पार्टीभित्र उनी पुराना नेताहरूको पंक्तिमा पर्छन् । तर उनलाई पार्टीको मूल नेतृत्व सम्हाल्ने अवसर भने २०७१ सालमा मात्र मिल्यो । झलनाथ खनाल र माधव नेपालको नेतृत्व हुँदा ओलीको भूमिका पार्टीभित्र विपक्षीको जस्तै थियो । त्यही विपक्षी छविको निरन्तरताले उनलाई पार्टीको सत्ताको नेतृत्वमा पनि पुर्‍यायो । २०७० सालको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता बने । त्यसको छ महिनापछि पार्टीको नेतृत्वमै पुगे ।

एमालेलाई लोकतान्त्रिक र सामूहिक नेतृत्व प्रणालीमा लैजाने कार्यमा ओलीको नाम अग्रपंक्तिमा आउँछ । पार्टीको लोकतान्त्रीकरण र सामूहिक नेतृत्व प्रणालीमा लैजाने प्रस्ताव उनले जनकपुरमा भएको सातौं महाधिवेशनमा ल्याएका थिए । पछि बुटवल महाधिवेशनबाट त्यसैको थालनी भयो ।


ओलीको सबभन्दा ठूलो शक्ति भनेकै बोली हो । तिखो र उखानटुक्का जोडेर बोल्ने उनको शैली अन्य समकालीन नेताहरूको भन्दा फरक छ । जुनसुकै विषयमा पनि कडा प्रहार र छिटो प्रतिक्रिया गर्ने शैलीका कारण उनी आलोचनामा पनि पर्ने गर्छन् ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?