कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय दलको नेता दौडमा देउवा

आफ्नो पक्षमा सहजै बहुमत पुग्ने देखेका देउवाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी थालेका छन् 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि चौतर्फी आलोचना खेपिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुन: संसदीय दलको नेता बन्न अग्रसर देखिएका छन् । निर्वाचन हार्नुमा पार्टी र सरकार सञ्चालनमा देउवाको कार्यशैली मुख्य जिम्मेवार ठान्दै युवा नेताहरूले नेतृत्व परिवर्तनमा जोड दिइरहेका बेला देउवा भने दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका हुन् ।

संसदीय दलको नेता दौडमा देउवा

उनले दलको नेताको निर्वाचनअघि केन्द्रीय कार्यसमिति बैठकसम्म नबोलाउने छनक दिएका छन् । ‘देउवाजी दोस्रो पुस्तालाई दलको नेता दिने मनस्थितिमा हुनुहुन्न,’ स्रोतले भन्यो, ‘आफैं दलको नेता हुने गरी सांसदको अंकगणितमा लाग्नुभएको छ ।’ प्रत्यक्षतर्फ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिए पनि समानुपातिकबाट आएकामा देउवा पक्ष नै हावी देखिन्छ ।

आफ्नो पक्षमा सहजै बहुमत आउने देखेरै देउवा दलको नेता बन्न सक्रिय भएको स्रोतको दाबी छ । दोस्रो तहका अधिकांश नेता भने देउवा र पौडेललाई ससम्मान सक्रिय राजनीतिबाट बिदा गर्ने पक्षमा लबिइङ गरिरहेका छन् ।

कांग्रेस नेता मीनेन्द्र रिजालले संघीय संरचनाअनुरूप पार्टीलाई रूपान्तरण गर्न महाधिवेशनकै तयारी तल्लो तहबाट सुरु भएको बताए । उनले पनि अबको महाधिवेशनले पहिलो पुस्ताका नेतालाई ससम्मान बिदा गर्नुपर्नेमा जोड दिए । ‘२०१७ सालदेखि प्रजातन्त्र र गणतन्त्रका लागि पहिलो पुस्ताले ठूलो योगदान दिएको छ । त्यही योगदानबाट हामी यहाँसम्म आइपुगेका हौं,’ उनले कान्तिपुरसँग भने, ‘अबको महाधिवेशनमा उहाँहरूलाई ससम्मान बिदा गर्नुपर्छ ।’ नेतृत्व हस्तान्तरणको मुद्दा चर्किरहेका बेला देउवा दलको नेतामा आउन नहुने उनी निकटकै नेताहरू बताउँछन् । ‘अहिले कांग्रेस लडाइँमा हारेको सिपाहीजस्तो अवस्थामा छ । आम कार्यकर्ताको मनोबल बढाउन पनि देउवाले संसदीय दलको नेतामा आफू नभएर दोस्रो तहका नेतालाई अघि सार्नुपर्छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘देउवाजी फेरि दलको नेता बन्दा पार्टीभित्र कुनै उत्साह आउँदैन । कार्यकर्ताको मनोबल झन् गिर्छ ।’

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङलगायतका नेताहरू पहिलो पुस्ताबाट पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने अभियानमा छन् । त्यसका लागि महासमितिको बैठक हुँदै महाधिवेशनसम्म बोलाउनुपर्ने उनीहरूको जोड छ । सभापति देउवा भने युवा नेताहरूको अभियान नै निस्तेज बनाएर पार्टीभित्र पुन: आफैं शक्तिमा रहने रणनीतिमा छन् । गत माघ ४ को केन्द्रीय कार्यसमिति बैठकमा देउवाले निर्वाचन समीक्षाका लागि राष्ट्रिय सभा निर्वाचनलगत्तै अर्को बैठक बोलाउने भन्दै त्यतिबेला राष्ट्रिय सभाको निर्वाचनको एजेन्डामा मात्र बैठकमा प्रस्तुत गरेका थिए । निर्वाचनमा पार्टी हारेपछिको आक्रोश तत्काल मत्थर गर्न देउवाले यस्तो रणनीति लिएका थिए । अहिले उनी राष्ट्रपति, सभामुख र पार्टीको संसदीय दलको नेताको निर्वाचन देखाउँदै केन्द्रीय कार्यसमिति बैठक बोलाउन ढिलाइ गर्ने पक्षमा छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने राष्ट्रपतिको निर्वाचनअघि नै केन्द्रीय समिति बैठक बोलाउनेबारे छलफल भइरहेको दाबी गर्छन् । ‘राष्ट्रपतिको निर्वाचन आउन अझै धेरै दिन बाँकी भएकाले त्यसअघि नै केन्द्रीय कार्यसमितिको बैठक बस्छ,’ उनले भने, ‘त्यही बैठकले महासमितिको तिथि र स्थान तोक्ने काम पनि गर्छ ।’ केन्द्रीय सदस्य भण्डारी बैठक बोलाउन जति ढिलो हुन्छ, त्यति नै नेतृत्वप्रतिको आक्रोश र आलोचना बढदै जाने बताउँछन् । ‘निर्वाचनमा पार्टी किन हार्‍यो भनेर छलफलका लागि नेतृत्वले बैठकसम्म नबोलाउनु नैतिक नेताका लागि लाजको विषय हो,’ भण्डारीले भने, ‘कहिलेकाहीं नराम्रो कामले पनि सकारात्मक बाटो तय गर्न मद्दत पुर्‍याउँछ ।’

केन्द्रीय कार्यसमितिको बैठक छल्दै जानु, महासमिति बैठक बोलाउन ढिलाइ गर्नु, पार्टीलाई संस्थागत रूपमा नचलाउनुले नेतृत्वको अलोकप्रियता बढदै जाने र त्यसले आफूहरूले उठाएको नेतृत्व हस्तान्तरणको मुद्दा झनै बलियो बन्ने भण्डारीको तर्क छ ।

देउवाले पार्टीभित्र आफू शक्तिशाली बनिराख्न महासमिति बैठकमा विधान संशोधन मुद्दालाई प्राथमिकतासाथ अघि बढाउन चाहेका छन् । आफूअनुकूल विधान संशोधन गराएर पार्टीभित्र आफ्नो वर्चस्व कायम राखिराख्ने रणनीतिमा उनी देखिन्छन् । अहिले त्यसका लागि विधान संशोधनको तयारीसमेत संस्थापन पक्षले गरिरहेको छ । उनी विधान संशोधन नभएसम्म पदाधिकारी मनोनयन नगर्ने पक्षमा छन् ।

१३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा अझै मनोनयन गर्न सकेका छैनन् । निर्वाचनअघि तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेस भित्र्याउँदा देउवाले त्यसका अध्यक्ष विजय गच्छदारलाई उपसभापतिसहित आधा दर्जन नेतालाई केन्द्रीय सदस्य बनाउने सहमति गरेका छन् ।

उपसभापतिका लागि विमलेन्द्र निधि पनि प्रमुख आकांक्षी छन् । उनलाई उपसभापति बनाउने भनेरै देउवाले आफू विदेश भ्रमणमा जाँदा निधिलाई कार्यवाहक जिम्मेवारी दिएका थिए । महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँडसहित आधा दर्जनजतिको दाबी छ । ‘पार्टीको वैचारिक, संगठनात्मक र नेतृत्व परिवर्तनको मुद्दालाई विषयान्तर गराएर विधान आफूअनुकूल संशोधन गर्ने काममा देउवाको मुख्य जोड छ,’ देउवानिकट स्रोतले भन्यो, ‘नेताहरूको व्यवस्थापन गरी आफूअनुकूल पार्टी सञ्चालन गर्ने रणनीतिमा उनी लागेका छन् ।’

प्रकाशित : फाल्गुन ६, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?