कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीनवटै उत्तर–दक्षिण करिडोर निर्माण तीव्र

दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने ३ वटा करिडोरको निर्माण तीव्र गतिमा अघि बढिरहेको जनाएको छ । सरकारले तिब्बती नाकासम्म व्यापारिक सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोर निर्माण अघि बढाएको हो । 

सडक विभागले उत्तर–दक्षिण लोकमार्गअन्तर्गत पर्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोरका अधिकांश खण्डको ट्रयाक खोल्ने तथा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढेको जनाएको हो । राष्ट्रिय गौरवका आयोजना घोषणा गरी सरकारले निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको छ ।

कोसी करिडोर विराटनगर (रानी)–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिनेछ । यसको लम्बाइ ३ सय ३० किमि छ । हाल रानीबाट विराटनगर–वसन्तपुर–खाँदबारीसम्मको २ सय २८ किमि कालोपत्रे भइसकेको छ । मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाको खाँदबारी–किमाथांका खण्डको १ सय ६२ किमिमध्ये १ सय १४ किमि ट्रयाक खुलिसकेको, २४ किमि ग्राभेल भइसकेको उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख बलराम मिश्रले बताए । ‘७८ किमिमा यातायात सञ्चालन भइसकेको छ,’ उनले भने, ‘भोजपुर जिल्लावासीसमेत यो लोकमार्गबाट लाभान्वित हुन्छन् ।’ हालसम्म १ अर्ब ७८ करोड रुपैयाँ खर्च भइसकेको र आव २०७४/७५ मा ५८ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाए ।


कालीगण्डकी करिडोरलाई चौडा गर्ने काम भइरहेको पनि मिश्रले बताए । गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बागलुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिनेछ । त्यसको लम्बाइ ४ सय ३५ किलोमिटर छ । हालसम्म ४ सय २६ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ । गुल्मी र बागलुङ खण्डको पालुङखोला–मालढुंगा २२ किलोमिटर सडक नेपाली सेनाले चौडा पारिरहेको छ ।

जोमसोम–कोरला खण्डको करिब १ सय १० किलोमिटर सडकलाई ग्राभेलमा स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए । मुक्तिनाथ मन्दिर दर्शन गर्न सजिलो हुने यो मार्ग भारतीय पर्यटक तान्न महत्त्वपूर्ण रहेको मिश्रको भनाइ छ । उत्तरी छिमेकी चीनका बौद्ध धर्मावलम्बीलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानसमेत यो मार्ग सहज हुने उनको दाबी छ ।


‘उत्तर–दक्षिण जोड्ने यी सडकले दुई छिमेकीसँगको व्यापारका अतिरिक्त धार्मिक पर्यटन, कृषि तथा अन्य विविध क्षेत्रमा उल्लेखनीय भूमिका खेल्छन्,’ उनले भने, ‘त्यसकारण पनि चाँडोभन्दा चाँडो यी मार्गको विकास गर्नुपर्छ ।’


कर्णाली करिडोर कालिकोट, बाजुरा र हुम्लाका विभिन्न क्षेत्र भएर खुलालु–लैफु–रमनकोट–गोत्री–कुवाडी–श्रीनगर–सिमकोट हुँदै हिल्सा जोडिनेछ । मिश्रका अनुसार २ सय ८० किमि लामो उक्त सडक खुलालु–सिमकोट र सिमकोट–हिल्सा २ खण्डमा निर्माण भइरहेको छ । खुलालु–सिमकोट नेपाली सेना र हिल्सा–सिमकोट सडक विभागले निर्माण गरिरहेका छन् । कडा चट्टान, अग्ला पहाड, हिमाल, सामान्यभन्दा न्यून तापक्रममा निर्माण गर्नुपर्ने र विकट भौगोलिक अवस्थाका कारण काम निकै चुनौतीपूर्ण रहेको बताए । सिमकोट–हिल्सा खण्डको ९५ किमिमध्ये ८८ किमि ट्रयाक खुलिसकेको उल्लेख गर्दै उनले ७ किमि मात्र ट्रयाक खुल्न बाँकी रहेको उनले बताए । ‘तीव्र गतिमा काम भइराखेको छ,’ उनले भने, ‘यसै आवमा ट्रयाक खोल्ने काम सम्पन्न गर्ने लक्ष्य छ ।’

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?