कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता पूर्वकानुनमन्त्री एवं वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नियुक्त गरेकी छन् । 

पूर्वमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


झापा गौरादहका खरेल ओली नेतृत्वको यसअघिको सरकारमा कानुनमन्त्री थिए । खरेल पहिलो संविधान सभाका एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।


मनोनित भएपछि उनी एमाले संसदीय दलको प्रमुख सचेतक बनेका थिए । संविधान सभामा तत्कालिन संबैधानिक समिति, संविधान मस्यौदा समिति, विवाद समाधान समिति लगायतमा बसेर काम गरेका थिए ।


ओली प्रधानमन्त्री बनेपछि उनलाई कानुनमन्त्री बनाएका थिए । प्रधानमन्त्री ओली निकट रहेका एमाले पोलिटब्यूरो सदस्य समेत रहेका खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहदै बार एशोसिएसनका महासचिव समेत भइसकेका व्यक्ति हुन् । कानुनमन्त्री भइसकेका व्यक्ति तल्लो मर्यादाको पदमा गएका हन् ।


महान्यायाधिवक्ता सर्बोच्च अदालतको न्यायाधीशसरह हुन्छ । ‘प्रधानमन्त्रीले आफ्नो समूहमा बसेर काम गर्दै सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएपछि मैले यो पदका लागि सहमति जनाएको हुँ’ खरेलले भने, ‘कानुनी क्षेत्रमै मेरो विज्ञता र बर्षौदेखिको अभ्यास भएको र प्रधानमन्त्रीले सरकारलाई सफल पार्न पनि सहयोग गर्नुपऱ्याे भनेकाले मैले यो बिषयलाई धेरै ठूलो रुपमा लिइनँ ।’


उनले संविधानको कार्यान्वयनलाई प्राथमिकता दिने र फौजदारी संहितालगायतलाई अघि बढाउने प्रतिबद्धता जनाए । संघीय संरचनाअनुसार सरकारले धेरै कानूनी संरचना तयार गर्नुपर्ने र कतिपय कानुनी जटिलताहरु समेत आउन सक्ने भएकाले ती कामलाई प्राथमिकता दिने उल्लेख गरे । खरेलको बुधबार शपथ हुनेछ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?