कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै बच्चा ‘साटियो’ 

कान्तिपुर संवाददाता

वीरगन्ज — बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् ।

अस्पतालमै बच्चा ‘साटियो’ 

‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । ‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान दिएको थिएँ ।’ बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले मंगलबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।’ सोही अस्पतालमा चिकित्सकको लापरबाहीले गर्भमै शिशुको मृत्यु भएको आरोपमा पीडित पक्षले मंगलबारै ओपीडीमा तालाबन्दी गर्दै टायर बालेर प्रदर्शन गरेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?