कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सम्बन्ध जनस्तरमै बलियो’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल र अमेरिकाबीच जनस्तरको सहकार्य पनि बलियो रहेको बताएकी छन् । अमेरिकाको २४२ औं स्वतन्त्रता दिवसका अवसरमा राजदूत निवासमा आयोजित कार्यक्रममा उनले कूटनीतिकसँगै जनस्तरको सम्बन्धमा पनि जोड दिने गरेको बताइन् ।

‘सम्बन्ध जनस्तरमै बलियो’

नेपाल र अमेरिकनको राष्ट्रिय गानसँगै कार्यक्रम आरम्भ भएको थियो । कार्यक्रममा उनले नेपालमा अमेरिकी लगानी ल्याएर यहाँबाट अन्य मुलुकमा सामग्री बेच्न सकिने सम्भावना रहेको बताइन् ।


तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेपालले सफलता प्राप्त गरेको उनले खुलाइन् । यसबाट नेपालमा राजनीतिक स्थायित्व हुने र विकास प्रक्रिया अघि बढेको हेर्न पाउने आशा उनले व्यक्त गरिन् । उनले नेपालको विकासमा जस्तोसुकै सहयोग गर्न पनि आफूहरू तयार रहेको बताइन् । राजदूत टेप्लिट्जले नयाँँ सरकारसँग सहकार्य गरेर अघि बढ्ने आफ्नो चाहना रहेको धारणा राखिन् । नेपालको विकास र पूर्वाधार निर्माणमा अमेरिकी सहयोग, साथ र समर्थन रहनेसमेत उनको भनाइ छ ।


लोकतान्त्रिक विधि, मानव अधिकार र भ्रष्टाचारमा शून्य सहनशीलतामा अडेर नेपाल सरकारले काम गरेको हेर्ने चाहना सबैको रहेको राजदूतले स्पष्ट पारिन् । कार्यक्रममा उनले नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् । कार्यक्रममा काठमाडौंस्थित सबै दूतावासका राजदूत, राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो ।


ओलीलाई ट्रम्पको बधाई

काठमाडौं (कास)– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमाले अध्यक्ष केपी ओलीलाई नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई दिएका छन् ।


ट्रम्पले शुक्रबार ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा सराहना व्यक्त गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासन पद्धतिप्रतिको निष्ठा मुखरित भएको उल्लेख गरेका छन् । अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?