कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको गृहनगरमा साढे ३ खर्बका योजना

नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्युटावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका छन् । 
अर्जुन राजवंशी

झापा — प्रधानमन्त्री केपी ओलीको गृह नगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नं. १ कै सबैभन्दा धेरै योजना परेका हुन् । 

नगरभित्र एक सय करोडभन्दा बढीका ६ वटा योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए ।


नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यु टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स्, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका हुन् ।


दाहालका अनुसार करोडभन्दा साना योजना दर्जनौं सञ्चालित छन् । यस्तै नगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा पनि दर्जनबढी योजना सञ्चालित छन् । वडा १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । चीनको ‘वान बेल्ड वान रोड’ (ओबिओआर) अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ ।


दमक इन्डस्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा चीन सरकारले तीन खर्ब ३३ अर्ब रुपैयाँ लगानी गर्नेछ । उनले पार्कका लागि ५ सय बिघाभन्दा बढी जग्गा प्राप्त भइसकेको बताए । बाँकी जमिन प्राप्तिका लागि जग्गा अधिग्रहणको काम समेत भइरहेको छ । जग्गा अधिग्रहणका लागि नेपाल सरकारले ३३ करोड रुपैयाँ निकासा गरिसकेको दाहालले बताए ।


पार्क निर्माण गर्ने भनि प्रस्ताव गरिएको क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोली, नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलगायतले स्थलगत अध्ययन समेत गरिसकेको छ । पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने बताइएको छ । पार्कको निर्माण कार्य आगामी बैशाखदेखि सुरु गर्ने तयारी रहेको थापाले बताए ।

वडा नम्बर ३ मा विश्वकै अग्लो हुने दाबी गरिएको बुद्ध मूर्ति निर्माण प्रक्रिया अघि बढाइएको छ । यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त योजना १७ अर्ब ९५ करोडको लागतमा निर्माण हुने बताइएको छ । योजनाका लागि दुई सय ६० बिघा जमिन आवश्यक पर्ने अधिकृत दाहालले बताए । यसमध्ये २५ बिघा जमिन प्राप्त भइसकेको छ । दाहालका अनुसार त्यहाँ ५ सय ४२ फिट अग्लो बुद्ध मूर्ति निर्माण गरिनेछ ।


आयोजना निर्माणका लागि चीन, ताइवान, थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले इच्छा देखिएका छन् । दाहालले बढीमा ६ वर्षभित्र निर्माण सम्पन्न गर्न सक्ने दातालाई निर्माणको जिम्मा दिने गरी छलफल भइरहेको बताए । उनले यसका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले पूर्णता पाएपछि तीव्रता पाउने बताए । आयोजनाभित्र करिब २० बिघाको पार्क हुनेछ । बुद्ध मूर्तिको आकृति हेर्न एक बिघामा पोखरी, स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, चैत्य, ध्यान केन्द्र, अखण्ड दीप, समिङ मल, हस्पिटल, धर्मशालालगायत निमार्ण हुनेछन् । आयोजना अपांगमैत्री हुने बताइएको छ । नगरपालिकामा विश्व बैंकले करिब दुई अर्ब लगानी गर्ने भएको छ । बैंकले सहरी विकास मन्त्रालयमार्फत यहाँ लगानी गर्न लागेको हो । बैंकले ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत दुई अर्बसम्मको लगानी गर्न लागेको हो । यसका लागि सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्यान्टले योजना छनोट तथा अध्ययनको काम गरिरहेको छ ।


कन्सल्ट्यान्टले नगरबाट प्रस्तावित १८ वटा योजनामध्येबाट ७ वटा योजना छनोट गरि मन्त्रालयलाई बुझाउने छ । ती योजनामा विश्व बैंकले लगानी गर्ने दाहालले बताए । नगरपालिकाबाट रतुवा र मावा खोलामा तटबन्ध, ढल निर्माण, आयमूलक सपिङ मल, शिक्षातर्फ इन्जिनियरिङ तथा वन विज्ञान अध्ययन गर्न मिल्ने सुविधासम्पन्न कलेज, स्वास्थ्यतर्फ मुटु, मृगौलाजस्ता ठूलाखाले बिरामीका लागि विशेषज्ञ उपचार गर्न सकिने सुविधा सम्पन्न हस्पिटल निर्माणलगायतका योजनाहरू पेस गरेको इन्जिनियर भीम पौडेलले जनाए ।


वार्ड नं. ३ मा एक अर्ब ५५ करोडको लागतमा दमक भ्युटावर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालयको लगानीमा भ्यु टावरको निर्माण कार्य अघि बढाएको अधिकृत दाहालले बताए । भ्युटावरको डीपीआर एक साता अघि तयार भएको छ । ५ बिघा जमिनमा ४ वर्षभित्र निर्माण कार्य सक्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको उनले बताए । डीपीआर अनुसार भ्युटावर २१ तलाको हुनेछ ।


अधिकृत दाहालले भने, ‘यो टावर विशुद्ध व्यापारिक हुनेछ । पूर्वको दृश्यावलोकन गराउन आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन टावर निर्माण गर्न लागेका हौं । पर्यटक आउन थालेपछि नगरभित्र अन्य व्यापारको पनि कारोबार बढ्छ ।’ वडा ९ मा प्रदेश १ कै ठूलो फाल्गुनन्द सभागृह निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालयकै सहयोगमा करिब दुई हजार मानिस क्षमताको सभागृह धमाधम निर्माण भइरहेको हो । एक बिघा १२ कट्ठा जमिनमा ०७७ मा निर्माण सक्ने गरी निर्माण कार्य अघि बढाएको नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?