कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब मात्रै १८ मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कार्यविभाजन नियमावली संशोधन गरी संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले मन्त्रालय संख्या घटाउने निर्णय लिएको हो । तीन तहका सरकार हुने र केन्द्रमा धेरै मन्त्रालय राख्दा प्रशासनिक भार बढ्ने भन्दै १३ मन्त्रालय एकअर्कामा गाभेर १८ मा सीमित गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

अब मात्रै १८ मन्त्रालय

संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाउने प्रावधान छ । तर सरकारले त्योभन्दा सानो मन्त्रिपरिषद् हुने गरी घटाएको हो । यसअघि १५ वटा मन्त्रालय राख्ने सुझाव सामान्य प्रशासन मन्त्रालयले दिएको थियो । अब सातवटा मन्त्रालय यथावत् राखिएको छ भने अन्य केही संशोधन र एकअर्कामा गाभिएका छन् ।


अर्थ, गृह, रक्षा, परराष्ट्र, कानुन न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यथावत् छन् । सूचना तथा सञ्चार मन्त्रालयको भने सञ्चार तथा सूचना प्रविधि नामकरण गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अब रहने छैन । संघीय मामिलालाई सामान्य प्रशासन मन्त्रालयमा लगेर संघीय मामिला तथा समान्य प्रशासन बनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति तीनवटालाई जोडेर एउटै बनाइएको छ । त्यस्तै शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद पनि तीनवटै जोडेर एउटै बनाइएको छ । स्वास्थ्यमा जनसंख्या थपिएको छ । वनमा वातावरण गाभिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय र सहरी विकास मन्त्रालय जोडेर खानेपानी तथा सहरी विकास मन्त्रालय बनाइएको छ । ऊर्जा र सिँचाइ गाभेर जलस्रोत तथा ऊर्जा बनाइएको छ ।


पशुपन्छी र भूमिसुधार तथा व्यवस्था मन्त्रालय, कृषि र सहकारी गरी चारवटा मन्त्रालयलाई एउटैमा गाभेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको छ । श्रम तथा रोजगार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई एउटै बनाइएको छ । मन्त्रालय संख्या घट्नेबित्तिकै अब त्यहाँ रहने सचिव र कर्मचारी व्यवस्थापन गर्नुपर्ने छ । तत्काल अन्य कर्मचारीलाई समस्या नपरे पनि गाभिएका मन्त्रालयका सचिवलाई भने आइतबारदेखि नै जिम्मेवारीमा अन्योल हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?