कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शपथका दिन लालबाबु...

भन्छन्– ‘नेता ठीक भए सबै ठीक हुन्छ’
शेखर अधिकारी

काठमाडौँ — ३ फागुनमा नयाँ प्रधानमन्त्रीको शपथ यति हतार सूचनामा भयो कि धेरै सांसद शीतल निवास पुग्नै सकेनन् । कोही जिल्लामा थिए, कोही बाटोमा । धन्न दुई जनामात्रै मन्त्री भए, अली बढी भएको भए त प्रधानमन्त्रीको शपथको रमिता हेर्न गएका पनि शपथको सूचीमा लामबद्ध हुनुपर्ने थियो ।

शपथका दिन लालबाबु...

प्रधानमन्त्रीको शपथको सूचना हल्लैहल्लामा आयो । ‘तर, शीतल निवास जाने इच्छा खासै थिएन,’ मन्त्री भएको एक सातापछि पुल्चोकस्थित मन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले स्मरण गरे, ‘तीनकुने डेरामा पुग्न लागेकाबेला फोन बज्यो ।’


त्यो फोन कसेको थियो ?


‘पहिलो माधव नेपालको,’ संवाददाताको प्रश्नमा उनले फेरि थपे, ‘लगत्तै अर्को फोन आयो केपी ओलीका सहयोगी राजेश बज्राचार्यको ।’


४ बजेका लागि भनेर तोकिएको शपथ धन्न ढिला भयो । नत्र लालबाबु पहिलो चरणमा मन्त्री नहुने पक्काजस्तै थियो । शपथ ढिला भयो । ५ बजेपछि ।


‘पिक आवर’मा बाटो उस्तै भीड । जामैजाम ।


किरकिर । किरकिर । मोबाइल बजेको बज्यै ।


लिफ्ट लिएको गाडीले शीतल निवास पुर्‍याउनेवित्तिकै गेटका सुरक्षाकर्मीले सिधै भित्र पुर्‍याइदिए । राष्ट्रिय गान बज्न सुरु भइहाल्यो ।


माधव नेपाल र ओलीको सचिवालयका केहीलाई सोधे– कुन मन्त्रालय हो ?


‘बिनाविभागीय’ ओलीका एक सहयोगीले यतिमात्रै भने ।


राष्ट्रपतिले प्रधानमन्त्रीलाई शपथ खुवाइन् ।


राष्ट्रपति कार्यालयका सचिवले अरु मन्त्रीको शपथको कार्यक्रम सुनाए । ‘पोर्टफोलियो’सहित नाम वाचन भयो । सुरुमा लालबाबुको नाम थियो, उनीसँगै मन्त्रालयको फुर्को जोडियो– जनसंख्या तथा वातावरण ।


‘हैट् कस्तो मन्त्रालय दे’को’ शपथमा उपस्थित धेरैले प्याच्च भन्दैथिए ।


एमालेले पदाधिकारी वा सिनियर नेताभन्दा तलका नेतालाई प्राय: मन्त्रीमा दोहोर्‍याएको छैन । लालबाबुको अपेक्षा कसैले गरेका थिएनन् ।


अर्की नेतृ थममाया थापा मगरसहित लालबाबुले शपथ लिए । शुभकामना आदानप्रदान भयो । लिफ्टको गाडी फिर्ता गरिदिए, मन्त्रालयबाट पुगेको गाडीमा मन्त्रालय आए । पदभार ग्रहण भयो । न स्वकीय सहयोगी थिए । मन्त्री एक्लै । सामान्य प्रशासन मन्त्री हुँदादेखिका स्वकीय सचिव ओसिम आलम राजधानीमा थिएनन् ।

...


सामान्य प्रशासन मन्त्री हुँदा भन्दा अहिले बढी ब्यस्त छन् लालबाबु । ‘दैनिक ५–७ वटा अन्तर्वार्ता,’ दैनिकी सुनाए, ‘कार्यक्रम, निर्देशन, भेटघाट, सुझाव–सल्लाह ।’ एक सातामा तीन दिन मन्त्रालय बसेँ । तीन दिनमै आफ्नो मन्त्रालयका समस्या खुट्याए । घरमा हुँदा मन्त्रालयको कार्यक्षेत्र, समस्या र समाधानका उपायबारे अध्ययन गरे ।


सञ्चारमैत्री छवि बनाएका लालबाबुलाई मिडिया छल्न भने गाह्रो परेको छ । ‘फोन आफैं उठाउँछु,’ उनले भने, ‘बोलाएको ठाउँमा पुग्ने कोसिस हुन्छ, मिडियालाई सकेसम्म समय दिन्छु ।’ चुनावपछि धेरै नबोल्नू भन्ने चिकित्सकको सल्लाह भएकाले भाषण, मन्तब्य र अन्तर्वार्ता घटाउने कोसिस छ उनको ।


घरबाहिर खाना नखाने बानीले उनी बीचमा एक पटक घर पुग्छन् । त्यहीबेला सामान्य भेटघाट, ब्रिफिङ र अन्तर्वार्ता सकिहाल्छ ।

...


वातावरणका क्षेत्रमा धेरै समस्या देखे लालबाबुले एक सातामै । मापदण्डविपरीत सञ्चालन गरेका होटललाई त लालबाबुले एक सातामै कारबाही गरिसकेका छन् ।


वाग्मती सफाइ अभियानमा सहभागी भए । ‘प्लास्टिकको झोलाले निम्तिने समस्याले चिन्ता थपेको छ,’ उनले भने, ‘यसको समाधान त गर्नैपर्छ ।’ चाउचाउ, चिजबल्सजस्ता जंकफुडको र्‍यापरलाई निश्चित अवधिभित्र सडिने खालको बनाउनेबारे छलफल सुरु गरेका छन् ।


हरियो स्टिकर लथालिंग भएको देखेका छन् । हरियो स्टिकर लगाएका गाडीहरु नै प्रदूषण मापदण्डमा ४७ प्रतिशत फेल भएका छन् । गाडी धनी र स्टिकर दिनेलाई कारबाही भएको छैन । अब तिनलाई कारबाही गर्ने योजना छ उनको ।


हरियो स्टिकर बिक्री वितरण भएको गुनासो आएको छ । ‘६० लाखको गाडी महँगो गाडी चढ्नेले ५–७ हजार खर्च गरेर किन्न जान्छन्,’ उनको बुझाइ छ, ‘बुद्धिको दरिद्रता यो हदसम्म छ ।’

उद्योगलाई चिम्नीको धूवा कन्ट्रोल गर्नेदेखि दूध खाएर गाई सडकमा छाड्ने, ५०–६० हजारको कुकुरलाई सडकमा फोहोर गर्न निकाल्नेलाई कारबाही गर्ने तयारी लालबाबुको छ । ‘सफाइ अभियन्ता छन्,’ उनले भने, ‘अब डण्डा लगाउने अभियन्ता चाहिएको छ ।’

...


फिल्मी भाषामा सामान्य प्रशासन मन्त्री हुँदा ‘सुपर–डुपर’ हिट भएका लालबाबु ‘पोलिटिकल सेलिब्रेटी बने ।


पैसा दिएर सम्मान गर्ने संस्कारको समाजमा लालबाबु सम्मानित भए । कठीन क्षेत्र, कठीन प्रतिस्पर्धीलाई हराउँदै सहज चुनाव जिते । कुन मन्त्रालय अझै टुंगो छैन । जनसंख्या एकातिर, वातावरण अर्कोतिर परेको छ । तर भन्छन्, ‘जुन मन्त्रालय भए पनि राम्रो काम गरेरै देखाउँछु ।’ आफ्नो सफलताप्रति दृढ उनको भनाइ छ, ‘जन्मदा भोटो खोजिन्छ, मर्दा कात्रो खोजिन्छ, जन्मिदा हास्छन्, मर्ने बेलामा रुन्छन्, अहिले हामी हास्ने बाटो खोज्दैछौ, गर्दै गएपछि कति प्रतिशत सफल भइयो कति असफल भइयो हिसावकिताव गर्दै जाने हो ।’

...


राजनीतिप्रति युवा पुस्ता नकारात्मक धारणा राख्छन् । राजनीतिज्ञप्रति सम्मान छैन । तर, लालबाबुको अनुभव फरक छ– उनीसँग दैनिक सयौंले सेल्फी खिच्छन् ।


अझ लालबाबुको भनाइ छ– सबै कुरा नेताले नै बिगारेका हुन् । कर्मचारी बिगार्ने नेता नै हुन् । ‘राजनीति मूलनीति हो,’ उनको भनाइ छ, ‘राजनीति सपार्न सके ठीक हुन्छ ।’


मन्त्रीहरुले कर्मचारीले काम गर्न नदिएको गुनासो गर्ने गरेका छन् । ‘नाच्न नजान्नेले आगन टेढो,’ उखान जोड्दै लालबाबुले भने, ‘ब्यूरोक्रेसी बिगार्न नेताहरु दोषि छन्, आफ्नो ठाउँमा बसे कसरी कर्मचारीले टेर्दैनन् ?’

प्रकाशित : फाल्गुन १३, २०७४ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?