कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेस स्वतन्त्रता अप्ठ्यारो पार्ने काम कतैबाट हुनु हुँदैन : नेताहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिसम्बन्धी विवादको विषयमा समाचार नै छाप्न नपाउने खालको सर्वोच्च अदालतको आदेश ‘पूर्वाग्रह’ प्रेरित रहेको राजनीतिक दलका नेताहरूले आशंका गरेका छन् । 

प्रेस स्वतन्त्रता अप्ठ्यारो पार्ने काम कतैबाट हुनु हुँदैन : नेताहरू

उनीहरूले राज्यका कुनै अंगले आग्रह पूर्वाग्रह नगरी तथ्यका आधारमा काम गर्नुपर्ने बताए । ‘राज्यका कुनै पनि अंगले आग्रह पूर्वाग्रह राखेर काम गर्नु हुँदैन,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘विधि, नियम र तथ्य प्रमाणका आधारमा काम गर्नुपर्छ ।’


आफ्नो जन्ममितिसम्बन्धी विवादको विषयमा परेको रिटलाई प्रधानन्यायाधीश पराजुलीले आफ्नै इजलासमा राखी आदेश दिएकामा पनि संगति नमिलेको नेताहरूले बताए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतान्त्रिक राज्यमा प्रेसले सम्प्रेषण गर्ने समाचारहरूमा कुनै अवरोध आउने अवस्था हुन नहुने बताए ।


‘लोकतान्त्रिक राज्यको मानक प्रेस स्वतन्त्रता हो । त्यो छ कि छैन भनेर हेर्ने स्वयं अदालत हो,’ प्रवक्ता शर्माले भने, ‘प्रधानन्यायाधीशले नै आफ्नो इजलासमा मुद्दा राखेर यस्तो आदेश दिँदा संरक्षण खोज्न कहाँ जाने ?’


माओवादी प्रवक्ता पम्फा भुसालले न्यायको सिद्धान्तअनुसार कुनै पनि न्यायाधीशले आफूसँग सरोकार रहने मुद्दा नै हेर्न नमिल्ने बताइन् । ‘आफ्नो नातागोता पर्ने रहेछ भने त मुद्दा हेर्न मिल्दैन, यो मुद्दा त झन् आफैंसँग सम्बन्धित छ,’ प्रवक्ता भुसालले भनिन्, ‘संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ, त्यसमा अप्ठ्यारो पार्ने काम कतैबाट हुनु हुँदैन । यदि मिडियाले पनि केही त्रुटि, कमजोरी गरेका छन् भने सच्याउनुपर्छ ।’



प्रकाशित : फाल्गुन १३, २०७४ २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?