२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

अर्जुन शाह

कैलाली — फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।उनको १६ गते पेशी तोकेको छ । 

रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

चौधरीले सोमबार अदालत सामू आत्मसमर्पण गरेका थिए । उनीमाथि कर्तव्य ज्यान, डाँका, चोरी, ज्यान मार्ने उद्योग गरेको आरोपमा ८ जनाले किटानी जाहेरी दिएका थिए ।


सोमबार जिल्ला अदालतमा बहस भएको थियो । बहसमा चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्य, गजेन्द्र केसी र मिलनकुमार राईले बहस गरेका थिए । वादीको तर्फबाट सरकारी वकिल प्रकाशबहादुरर भण्डारी, भानदेव जोशी र नवीन भट्टले बहस गरकेा थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवब्ता राजेन्द्र बहादुर साउदले बहस गरेका थिए ।


टीकापुरमा गत २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटना संलग्न रहेको भन्दै ५६ जना विरुद्ध मुद्दा परेको थियो । त्यो मध्ये २५ जना हाल पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन् ।


थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । सो घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको छ । त्यस घटना यता उनी फरार अवस्थामा थिए ।


कैलाली १ बाट अत्यधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन । उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गरेका थिए ।


सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए ।


चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

प्रकाशित : फाल्गुन १४, २०७४ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?