कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडिया सोसाइटीद्वारा आदेशको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल मिडिया सोसाइटीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो योग्यताबारे उठेका प्रश्नलाई समाचार बनाउन प्रतिबन्ध लगाउने गरी प्रेस काउन्सिलका नाममा जारी गरेको आदेशको विरोध गर्दै त्यसलाई सच्याउन माग गरेको छ ।

मिडिया सोसाइटीद्वारा आदेशको विरोध

‘आइतबार सार्वजनिक भएको कान्तिपुर दैनिकका विषयमा गरिएको आदेशमा उल्लेख गरिएको प्रेस काउन्सिललाई मिडियामाथि कारबाही गर्न दिएको अन्तरिम आदेश र संविधानको धारा १९ का विषयमा गरिएको पूर्व–सेन्सरसिपलाई स्थापित गर्नेखालको व्याख्या तत्काल सच्याउन माग गर्दछौं,’ सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयको जत्तिकै नागरिक र मिडियाको पनि इज्जत र प्रतिष्ठा हुन्छ ।

लोकतान्त्रिक खुला समाजमा पारदर्शिता कायम गर्न प्रेसलाई निर्वाध काम गर्ने वातावरणको संवद्र्धन गर्नुको कुनै विकल्प छैन । तर हालैका केही घटनाक्रमहरूले नागरिकलाई बोल्न बन्द गराउने र प्रेसलाई पूर्व–सेन्सरसिपको अवस्थामा पुर्‍याउनका लागि सम्मानित न्यायिक निकायबाट भएका व्यवहारको हामी दृढतापूर्वक विरोध गर्दछौं ।’


प्रेस स्वतन्त्रता लोकतन्त्रको प्रमुख आधारस्तम्भ रहेको भन्दै स्वस्थ आलोचना लोकतन्त्रको गहना मात्रै नभई नियमित कर्तव्य भएकाले त्यसमाथि प्रतिबन्ध लगाउन नमिल्ने सोसाइटीको विज्ञप्तिमा उल्लेख छ ।


‘राज्यका अन्य अंगको स्वेच्छाचारितालाई निरुत्साहित गर्ने अभियानमा’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार जगत्को अभिभावकका रूपमा हेरिने सम्मानित न्यायालयको नेतृत्व प्रतिशोधको भावना लिएर प्रेस स्वतन्त्रताकै विरुद्ध लाग्ने कुरा कल्पनाभन्दा बाहिरको सोचाइ हो ।’

प्रकाशित : फाल्गुन १५, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?