कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुद्वारा शपथग्रहण

काठमाडौँ — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुले शपथग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । 

राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरुद्वारा शपथग्रहण

निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले शपथ लिएका हुन् । सांसदहरु नेपाली पोसाक र जातीय पहिचान झल्कने आ-आफ्ना वेषभूषामा शपथ लिन पुगेका थिए । सांसदहरुले मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ भाषामा समेत शपथ लिएका छन् । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेको छ ।

शपथग्रहणमा नेपाल प्रहरीको खोजीको सूची रहेका एमाले सांसद् नवराज सिलवाल पनि सहभागी भए । उनी एमाले नेता माधव नेपालको गाडी चढेर गएका हुन् । तर, फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी भने शपथ ग्रहणमा सहभागी हुन पाएनन् । जिल्ला प्रशासन कार्यालय कैलालीले उनी शपथमा सहभागी नहुने जानकारी संसद् सचिवालयलाई गराएको थियो ।

जेष्ठ सदस्य ठाकुरले आजै राष्ट्रपति विद्या भण्डारीसमक्ष शपथ लिएका थिए । प्रतिनिधिसभा निर्वाचन मंसिर २१ गते सम्पन्न भएको थियो ।

यसैगरी, राष्ट्रिय सभाका सदस्यहरुलाई पनि जेष्ठ सदस्य तारादेवी भट्टले पद तथा गोपनियताको शपथग्रहण गराएकी छन् । संघीय संसद् भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सांसद्हरुले शपथ लिएका हुन् ।

राष्ट्रिय सभा ५९ सदस्यीय रहेको छ । तर, सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यले भने शपथ लिन पाएनन् । मुद्दाको किनारा नलागेकाले केपी ओली सरकारले सिफारिस गरेका युवराज खतिवडा, विमला पौड्याल र रामनारायण बिडारी आइतबार शपथ लिनबाट बञ्चित भएका छन् । शपथ रोके पनि खतिवडा अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

राष्ट्रिय सभामा मनोनयनविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु भएलगत्तै निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले अन्तरिकालिन आदेश दिने न्यायाधीश प्रकाश राउत र केपी ओली सरकारमा महान्यायाधिवक्ता रहिसकेका न्यायायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि सुनुवाइ स्थगित गरिएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?