कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण कम्पनीको लापरबाहीले काममा ढिलाइ

हेटौंडा–काठमाडौं जोड्ने ९० किमि लम्बाइको कान्ति लोकपथलाई वैकल्पिक मार्गका रुपमा हेरिए पनि निर्माण कम्पनीको लापरबाहीले काम सुस्त
प्रताप विष्ट

हेटौंडा — कान्ति लोकपथ आयोजना कार्यालयले कालोपत्रेमा लापरबाही गर्ने २ वटा निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ । अमर कन्स्ट्रक्सन र सुनकोसी बिरुवा एसएल कम्पनीले चेतावनी पाएका हुन् ।

निर्माण कम्पनीको लापरबाहीले काममा ढिलाइ

आउँदो असारसम्म कालोपत्रे सक्नुपर्ने म्याद छ । दुवै कम्पनीको कार्य प्रगति सन्तोषजनक नभएकाले कारबाहीसहित जरिवाना गरिने आशयको पत्र थमाइएको छ ।


‘दुवै कम्पनीले गरेको कामको अवस्था मूल्यांकन गर्दा असार महिनासम्म कालोपत्रे गर्न नसक्ने देखिएकाले चेतावनी पत्र दियौं,’ आयोजना प्रमुख देवेन्द्र साहले भने, ‘असारसम्म पिच नसके कानुनले तोकेअनुसारको जरिवाना गरिन्छ ।’ उक्त दुई निर्माण कम्पनीलाई म्याद थप्न नसकिने भएकाले जरिवाना गर्ने चेतावनी पत्र दिएको आयोजनाले जनाएको छ ।


अमर कन्स्ट्रक्सनले करिब १६ करोडमा मकवानपुरको सिमातदेखि आलेभन्ज्याङसम्मको ९ किलोमिटर सडकको विस्तार, ढल, नाली र कालोपत्रे गर्ने ठेक्का लिएको छ । ‘सडक चौडाइको काम सकिए पनि अन्य काम भने अहिलेसम्म भएका छैनन् । त्यसैले असारसम्म पिच हुने कुरै भएन,’ आयोजना प्रमुख साहले भने, ‘समय थप्नका लागि अनेक बहानाबाजी गरिरहेका छन्, कुनै हालतमा म्याद थपिँदैन ।’


यस्तै ललितपुरको काल्चेदेखि देवीस्थानसम्मको निर्माणकार्यको ठेक्का लिएको सुनकोसी बिरुवा एसल कम्पनीले पनि असारसम्म कालोपत्रे सक्ने लक्षण छैन । उक्त कम्पनीले पनि सडक चौडाइको काम मात्रै सकेको छ । यी दुवै कम्पनीले थप जनशक्ति र उपकरणको व्यवस्था गरी तीव्र गतिमा काम गरेमा मात्र सम्झौताअनुसारको मितिमा काम हुन सक्नेछ ।

‘प्रदेश ३ को राजधानी हेटौंडा भएपछि कान्ति लोकपथको निर्माणकार्यले अझै गति लिनुपर्ने थियो,’ प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले भने, ‘काम छिटो सकिए काठमाडाैं, ललितपुर, रामेछाप, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र भक्तपुरलगायत जिल्लाका सांसदहरूलाई प्रदेश राजधानी आउन सहज हुनेछ ।’


हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा हेरिएको यो लोकपथमा माघ अन्तिम सातादेखि यात्रुवाहक बस सञ्चालनको योजना थियो । निर्माण सुरु भएको ६१ वर्षपछि पूर्णता दिन ठेक्का लगाइएको थियो । तर, विस्फोटक पदार्थ अभाव र निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणकार्य पछाडि धकेलिएको छ । मकवानपुर र ललितपुरका विभिन्न खण्डमा गरी चार किलोमिटर सडक चौडा गर्न विस्फोटको आवश्यकता छ ।


‘मकवानपुरको सिमात, ललितपुरको काल्चे र झाँक्रीडाँडालगायत क्षेत्रमा सडक फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोड्नुपर्छ,’ आयोजना प्रमुख साहले भने, ‘अरू उपाय नै छैन ।’ सडक निर्माणका लागि सेनाले २ वर्षअघि नै पाँच टन विस्फोटक पदार्थ उपलब्ध गराउन सहमति जनाएको थियो । सेनालाई पनि भारतले विस्फोटक पदार्थ उपलब्ध नगराएकाले आयोजनालाई दिन नसकेको एक सैनिक अधिकृतले बताए । ‘विस्फोटक पदार्थका निम्ति एलसी खोलेको २ वर्ष भइसक्यो तर पनि भारतले उपलब्ध गराएको छैन,’ उनले भने । भारतले विस्फोटक पदार्थको कच्चा वस्तु उपलब्ध नगराउने र तयारी सामान नै पठाउने अडान लिँदा समस्या भएको ती अधिकृतले बताए ।


२ वटा बाहेक अन्य ११ वटा कम्पनीले समयमै काम सम्पन्न गर्ने आयोजनाले जनाएको छ । अहिले १३ वटा प्याकेजमा काम भइरहेको छ । ट्रयाक खुलेको ६१ वर्षपछि हेटौंडा र ललितपुरतर्फ कालोपत्रेको काम भइरहेको छ । मकवानपुरतर्फ १२ किमि र ललितपुरतर्फ ३ किमि कालोपत्रे भइसकेको छ । असारसम्म कम्तीमा ३५ किलोमिटर कालोपत्रे हुने आयोजनाका इन्जिनियर रमेश पाण्डेले बताए ।


उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने दुई सय २६ र पालुङ हुँदै आउने एक सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् । कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’को प्रयोग गरिँदै छ ।


हेटौंडातर्फको प्रस्थानविन्दु बुद्धचोक र काठमाडौंतर्फको प्रस्थानविन्दु ललितपुरको सातदोबाटो हो । यो लोकपथको निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा ६० करोड खर्च भएको आयोजनामा चालु आवका लागि पनि त्यति नै रकम विनियोजन गरिएको छ ।


हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको ९० किमि लम्बाइको यो मार्ग साढे आठ मिटर चौडा बनाएको छ । दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिँदै छ । कान्ति लोकपथको ट्रयाक ०१३ मा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ देखि नै गाडी चल्न थालेका थिए । त्यसको ६ दशकपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो । यस मार्गलाई मकवानपुर जोड्ने दक्षिणकाली–सिस्नेरी सडक र त्रिभुवन राजपथको विकल्पका रूपमा पनि लिइएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?