कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक जग्गा मिचेर बनाइएका भवन भत्काउन मेयर आफै पुगे

प्रशान्त माली

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएको भवन भत्काउने अभियान सुरु गरेको छ । महाराजगञ्जस्थित सोमबार राष्ट्रपति भवन शितल निवास नजिकैको काठमाडौं होटेलले ६ आना सार्वजनिक जग्गा ओगटर बनाइएको भवन भत्काइयो ।

सार्वजनिक जग्गा मिचेर बनाइएका भवन भत्काउन मेयर आफै पुगे

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफैले गल र ३ नम्बर वडाध्यक्ष दिपक केसीले हथौंडाले भवनको पर्खालमा हानेर भत्काउने अधियान सुरु गरेका थिए ।


काठमाडौं महानगरपालिकाका मेयर शाक्यले अब क्रमश सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना खाली गर्दै जाने बताए । ‘यस अभियानमा सर्वसाधारणले पनि साथ दिनुपर्छ,’ उनले भने, ‘वडा कार्यालयलाई केन्द्रको पूर्ण समर्थन हुनेछ ।’


उनले भत्काउन पूर्व जग्गा मिचेर बनाइएका सम्बन्धित व्यक्तिलाई सुचना दिइने बताए । ‘आफैले भत्काउन अटेर गरेमा महानगरपालिकाले भत्काउनेछ,’ उनले भने, ‘राजधानीमा सबभन्दा ठुलो समस्या खुला क्षेत्र अभाव हो ।’ उनले सार्वजनिक जग्गामा संरचना बनाउने प्रवृति अन्त्य गर्ने बताए । ‘खुला क्षेत्रमा युवाहरुलाई खेलकुद मैदान र बालबालिकालाई चिल्ड्रेन पार्क बनाइनेछ,’ उनले भने ।


महानगरपालिका–३ नम्बर वडा कार्यालयसँगै जोडिएको उक्त भत्काइएको जग्गामा मल्टी परपोज विल्डिङ बनाउने महानगरपालिकाको योजना छ । महानगरपालिकाका अधिकारीहरुका अनुसार भवनमा युवाहरुलाई लक्षित गरि बिहान योगा र व्यायाम गर्न मिल्ने, दिउँसो ज्येष्ठ नागरिक आश्रम र साँझ बालिबालिकालाई हुने गरि संग्रहालय र पुस्तकालय बनाइनेछ । काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष केसीले काठमाडौं होटेलका सञ्चालकलाई भत्काउन पटक पटक लिखित तथा मौखिक जानकारी गराएको बताए । ‘तर, अटेर गरेपछि महानगरपालिका आफैले भत्काउन सुरु गरेका हौं,’ उनले भने, ‘अन्य सार्वजनिक जग्गा मिचेर बनाइएहरु व्यक्तिहरु सहमतिमा आएमा क्षतिपूर्तिसमेत दिन तयार छौं । नत्र एक्सनमा जान बाध्य हुनेछ ।’


महानगरपालिकाका अधिकारीहरुका अनुसार भत्काइएको उक्त जग्गा चलनचल्तिको मूल्य अनुसार प्रति आना एक करोड रुपैया पर्छ । उनीहरुका अनुसार विश्व हिन्दु महासंघले बाँसबारीमा २२ रोपनी, गाइत्री समाजले ४२ आना र अन्यले १६ रोपनी सार्वजनिक जग्गा मिचेको छ । यी बाहेक ३ नम्बरमा मात्रै ३० रोपनी सार्वजनिक जग्गा मिचेर संरचना बनाइएको वडाध्यक्ष केसीले बताए । उनी भन्छन्, ‘अतिक्रमणमा परेका सम्पूर्ण जग्गा तीन महिनाभित्रमा फिर्ता लिइनेछ ।’


रानीबारीको लथालिंग अवस्थामा रहेको एक सय ३६ रोपनी जग्गामापनि व्यवस्थित पार्क निर्माण गर्ने महानगरपालिकाको योजना छ । ‘पार्क बनाउन चालु आवमा दुई करोड रुपैया बजेट विनियोजित छ,’ वडाध्यक्ष केसीको भने, ‘पहिलो चरणको काम सम्पन्न भएर दोस्रो सुरु भइरहेको छ ।’ पार्क निर्माणसँगै रानीबारीमा लागु पर्दाथ दुर्व्यासनी र यौनजन्य क्रियाकलाप ठप्प हुने महानगरपालिकाको भनाई छ । ३ नम्बरमा कुल २ सय रोपनी सार्वजनिक जग्गा छ ।


महाराजगञ्जस्थित काठमाडौं होटेलले ६ आना सार्वजनिक जग्गा ओगेटर बनाइएको भवन भत्काइदै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायत । तस्बिर : प्रशान्त/कान्तिपुर ।


प्रकाशित : फाल्गुन २१, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?