कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्षक नै भक्षक : मादण्ड विपरीत क्रसरलाई अनुमति

प्रशान्त माली

ललितपुर — गोदावरी नगरपालिकाकाले फेरि मापदण्ड विपरितका ९ वटा क्रसर उद्योगलाई सञ्चालन अनुमति दिएको भेटिएको छ । गोदावरीका मेयर गजेन्द्र महर्जन, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले आर्थिक प्रलोभनमा परेर खानी तथा क्रसर उद्योगको सञ्चालन स्वीकृति दिएको नगरपालिकाका कर्मचारीहरुले नै आरोप लगाएका छन् ।

रक्षक नै भक्षक : मादण्ड विपरीत क्रसरलाई अनुमति

यसअघि नगरपालिकाले विभिन्न मितिमा अवैध ३ खानी तथा १५ क्रसर उद्योगलाई सञ्चालन अनुमति दिएको थियो ।गोदावरी नगरापालिकाका मेयर गजेन्द्र महर्जनले क्रसर उद्योग सञ्चालन स्वीकृति दिनुमा आफ्नो कुनै आर्थिक संलग्नता नरहेको दाबी गरे । ‘कार्यपालिका वोर्ड बैठकबाट अन्तरिम निर्णय गरेर सञ्चालन गर्न दिएका हौं,’ उनी भन्छन्, ‘खानी तथा क्रसर उद्योग बन्द भएमा पुनर्निर्माण सामाग्रीको हाहाकार हुनेछ ।’ उनका अनुसार मापदण्ड बनाउन कार्यविधि बनाउने क्रममा छौं । ‘खानी क्षेत्र घोषणा गरेर मात्र सञ्चालन अनुमति दिनेछौं’ उनले भने ।

क्रसर सञ्चालन स्वीकृति दिन प्रारभिक वातावरणीय परीक्षण गर्नुपर्छ । नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, वफर जोनमा वृक्षारोपण, राजमार्ग र खोला किनाराबाट ५/५ सय मिटर, शिक्षण, स्वास्थ्य संस्था र धार्मिक, साँस्कृतिक र पुरात्तात्विक महत्वका स्थानबाट २/२ किमि टाढा हुनु पर्ने प्रावधान छ । वन, निकुञ्ज, आरक्षण र घनाबस्तीबाट २/२ किमी टाढा हुनुपर्ने कानुनी व्यवस्था छ । सरकारले मुलुकभरका क्रसर उद्योगको २०७३ देखि नवीकरण बन्द गरेको छ । कानुनी बन्देज हुँदाहुदैपनि गोदावरीका जनप्रतिनिधि र कर्मचारीले क्रसर सञ्चालन गर्न दिएका हुन् ।

नगरपालिकाका अधिकारीहरुका अनुसार मापदण्ड विपरित खानी तथा क्रसर सञ्चालन हुनुमा प्रमुख जिल्ला अधिकारी महादेव पन्त, एसएसपी गणेश ऐर, जिल्ला अनुसन्धान प्रमुख भुमि पाठक, काठमाडौं प्रहरी परिसर रानीपोखरीका प्रहरी अधिकारीहरुको पनि संलग्नता छ । प्रमुख जिल्ला अधिकारी पन्तले भने अवैध खानी तथा क्रसरहरु सञ्चालन अनुमति दिने गोदावरी नगरपालिकासँग बुझ्नु भन्दै पन्छिने गरेका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरको भनाई पनि उनको जस्तै छ ।

क्रसर घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत पर्दछ । गोदावरी नगरपालिकाले क्रसर व्यवसायी दर्ता गर्ने घरेलु कार्यालयलाई पनि जानकारी दिएको छैन । संसदको प्राकृतिक स्रोत/साधन समितिले २०६८ मा ढुंगा खानी सञ्चालकहरुले खानी सञ्चालन शर्तहरु पूरा नगरेको, खानी निरीक्षण गर्नुपर्ने निकायले नगरेको र यस्तो को–कसको लापरबाहीले यसो भएको हो । सोको अनुसन्धान गरि दोषी उपर कारबाही गर्न समेत निर्देशन दिएको थियो । त्यस्तै २०७१ मा तत्कालिन जिल्ला विकास समितिमा बसेको सर्वदलीय बैठकले पनि खानी क्षेत्र घोषणा गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, विभिन्न समयमा भएका निर्णयलाई कार्यान्वय गर्नुको सट्टा उल्टो गोदावरीले सञ्चालन अनुमति दिएको हो । अवैध क्रसर उद्योग स्वीकृतिसँगै लेले र नल्लु क्षेत्रमा प्राकृतिक स्रोत दोहन बढेको छ ।

गोदावरीले पछिल्लो पटक ९ नम्बरमा रुपक लुइटेलको महालक्ष्मी एग्रिगेट, निरोज श्रेष्ठको सजिलो रोडाढुंगालाई सञ्चालन अनुमति दिएका छन् । ६ नम्बरमा कमल श्रेष्ठको श्रीमाई बज्रबाराही रोडा ढुंगा उद्योग, मघु डोटेलको निराकर रोडाढुंगा उद्योग, विष्णुमान महर्जनको सगरमाथा क्रसर उद्योग, बेखाराम महर्जनको क्रंक्रिट इण्डष्ट्री, श्यामकुमार आर्चायको ए एण्ड एस कक्रिट एलाइड इण्डष्ट्री, मघु डोटेलको क्वालिटी रोडा ढुंगा उद्योग र ४ नम्बरमा भरत बुढाथोकीको हिमालयन नेभरेजलाई सञ्चालन अनुमति दिएका हुन् ।

२५ वटा क्रसर उद्योग अवैध

लेले नल्लु क्षेत्रमा २५ वटा क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेको छ । गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीको नेतृत्वमा वडाध्यक्ष र प्रहरीसहित गएको अनुगमन टोलीले यस्तो भेटाएको हो । अनुगमनको क्रममा गोदावरीमा दर्ता भएका क्रसर उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा अध्यावधि छन् । तर कम्पनीमा नवीकरण भएपनि घरेलु कार्यालयमा अनिवार्य गर्नुपर्ने कानुनी प्रावधान छ । तर, विना दर्ता उद्योगहरु सञ्चालन भइरहेका छन् । गोदावरी नगरपालिकाका उपमेयर अधिकारीले अवैध रुपमा सञ्चालित उद्योग बन्द गरिने दाबी गरिन् । ‘हामीले क्रसर व्यवसायी मात्र दर्ता गरेका हौं,’ उनले भनिन्, ‘सञ्चालन अनुमति दिएका हैनौं ।’

उनले विना नवीकरण सञ्चालित क्रसर व्यवसायीलाई सात दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिइने बताइन् । ‘नभएमा कारबाही प्रकृया अगाडी बढाउछौं,’ उनले भनिन् । अनुगमनको क्रममा खानी तथा क्रसर उद्योग भएको क्षेत्रमा साइनबोर्ड नराखेको, सुरक्षाका उपायहरु नअपनाएको पाइएको थियो । भने नल्लृ खोलामा सिधै क्रसर उद्योगको धुलो मिसाइएको पाइएको थियो । मापदण्ड विपरित सञ्चालित खानीहरुमा मधुकर डोटेलको निराकार ढुंगा रोडा उद्योग, कमलबहादुर भण्डारीको विनायक एग्रिगेट र निरोज गोविन्द्र श्रेष्ठको सजिलो ढुंगा रोडा उद्योग छन् । क्रसर उद्योगहरुमा केपी रोडा ढुंगा उद्योग, कुमार कंक्रिट, बंगलामुखी, बेश, क्वालिटी, गुणसा, बिबि, बज्रबाराही, सांग्रिला, शक्ति स्टोन, मनकामना, कान्तिपुर, छम्पीमाई, पर्वत र सजिलो ढुंगा रोडा उद्योगलगायत छन् ।

प्रकाशित : फाल्गुन २१, २०७४ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?