कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्क प्रक्रिया अघि बढाउन सहकार्य गरिने प्रतिबद्धता

पाकिस्तानका प्रधानमन्त्री काठमाडौंमा
उपयुक्त समयमा पाकिस्तान भ्रमण गर्छु : ओली
चन्द्रशेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन: सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा सोमबार आएका पाकिस्तानी समकक्षी साहिद खकान अब्बासीसँग भेटघाटका क्रममा उनले सदस्य मुलुकहरूबीच हार्दिकता कायम गर्नुपर्नेमा जोड दिए ।

सार्क प्रक्रिया अघि बढाउन सहकार्य गरिने प्रतिबद्धता

ओली सार्कका वर्तमान अध्यक्षसमेत हुन् । सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने तय गरिएको सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको थियो । कश्मीरको उरीमा भएको घटनालाई लिएर भारत पाकिस्तान जान नचाहेपछि बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंकाले भारतलाई साथ दिएका थिए । त्यसयता थप अवधि नेपालले नेतृत्व गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्नो कार्यकालमै सार्कलाई अघि बढाउन चाहेको र त्यसमा साथ दिन आग्रह गरेपछि ओलीले आफ्नो पनि चाहना सार्कलाई पूर्ववत् सक्रिय बनाउने रहेको बताएका हुन् । दुई प्रधानमन्त्रीको भेटघाटमा सहभागीका अनुसार १९ औं शिखर सम्मेलन जतिसक्दो छिटो गराउने विषयमा आफ्नो पनि पहल हुने ओलीले अब्बासीलाई आश्वासन दिए ।

‘नेपाल मात्र होइन यस क्षेत्रका धेरै मुलुकमा लामो समयदेखि राजनीतिक स्थायित्व कायम हुन नसक्दा केही पछि परेका हुन् । सबै मुलुक राजनीतिक स्थायित्वतर्फ अग्रसर देखिएका छन्,’ एक सहभागीले ओलीलाई उद्धृत गर्दै भने, ‘नेपाल पनि संक्रमणकाल सकेर राजनीतिक स्थायित्व कायम गर्दै विकासको चरणमा प्रवेश गर्न लागेको छ । यस्तो अवस्थामा रहेका हामी सार्कको संस्थापकहरू सबै मिलेर विकासको चरणलाई कार्यान्वयनमा लैजान जरुरी छ ।’ पाकिस्तानी प्रधानमन्त्री अब्बासी समकक्षी ओलीलाई बधाई दिन आएका हुन् । त्यस क्रममा सार्कको विषयले पनि प्रवेश पाएको हो ।


यस क्षेत्रको भूराजनीतिक अवस्था पहिलेको जस्तो नरहेको भन्दै दुवै देशका प्रधानमन्त्रीले आफ्नो मुलुकको स्थायित्व, विकास र समृद्धि हेरेर काम अघि बढाउन पर्नेमा जोड दिएका थिए । होटल याक एन्ड यतीमा रात्रिभोजअघि भएको दुईपक्षीय एक घण्टा लामो छलफलमा दुई देशका आन्तरिक राजनीति, यस क्षेत्रमा आएको अन्तर्राष्ट्रिय राजनीतिको ‘बदलाव’ लगायत विषयमा छलफल भएको थियो ।


‘दुईपक्षीय समग्र विषयमा छलफल भयो । दुवै मुलुकको राजनीतिक विकास क्रमको कुराकानी भयो । नेपालको संक्रमणकाल अन्त्य हुने चरणमा रहेको र विकास प्रक्रियालाई अघि बढाउन सरकार लागिपरेको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । पाकिस्तानका प्रधानमन्त्रीले पनि आफ्नो मुलुकको राजनीति, नेपाल–पाकिस्तान सम्बन्धका बारेमा छलफल गर्नुभयो ।


नेपालले छोटो समयमा आफ्नो राजनीतिक संक्रमणकाल अन्त्य गर्न सफल भएकोमा बधाई दिनुभएको थियो,’ छलफलमा सहभागी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकारसँग भने, ‘सार्कको विषयमा पनि छलफल भएको थियो । सार्क प्रक्रियालाई कसरी अघि बढाउने भन्नेमा दुवै देशले सदस्य मुलुकहरूबीच भएको असमझदारीलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ दुई प्रधानमन्त्रीबीच दुईपक्षीय आर्थिक र सामाजिक विकासबारे समेत छलफल भएको उनले जानकारी दिए । सुरक्षा (एकअर्काका मुलुकका नागरिक), सीधा हवाई उडान, दुईपक्षीय व्यापार, सांस्कृतिक सहकार्य, जनस्तरको सम्बन्धमा पनि छलफल भएको अर्का सहभागीले बताए ।


अब्बासीको सम्मानमा ओलीले रात्रिभोज आयोजना गरेका थिए । भोजमा सबै पूर्वप्रधानमन्त्रीलाई बोलाइएको थियो । त्यसमा झलनाथ खनाल, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्दको उपस्थिति थियो भने शेरबहादुर देउवाले पार्टीका उपनेता विजयकुमार गच्छदारलाई पठाएका थिए । दुई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराई उक्त रात्रिभोजमा सरिक नभएको परराष्ट्र अधिकारीले बताए ।


यस क्षेत्रको भूराजनीतिमा नयाँ फडको संकेत दिने शैलीमा पाकिस्तानका प्रधानमन्त्री अब्बासी १९ घण्टे औपचारिक भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं उत्रेका हुन । उनी ३२ सदस्यीय टोलीसहित पाकिस्तान एयर फोर्सको विशेष विमानमा आएका थिए । उनको भ्रमणलाई अचानक मात्र नभई भूराजनीतिक संकेतका रूपमा समेत हेरिएको छ । इस्लामिक गणतन्त्रका प्रधानमन्त्री अब्बासीले नेपालमा तीन तहको सफल निर्वाचन सम्पन्न भएपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना दिन आएको बताइएको छ ।


प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडा तथा अन्य परराष्ट्र अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात पुगे । सधैं झैं विदेशी विशिष्ट पाहुना आउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा राखेर सलामी दिइने गरिन्थ्यो । त्यो कार्य यस पटक त्यहाँबाट टुँडिखेल सारियो । अब्बासीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनी स्वदेश फर्कने कार्यक्रम रहेको अधिकारीले बताए । उनले कांग्रेस सभापति देउवालाई पनि भेट्न चाहेको भए पनि दलको निर्वाचन लगायतका कारण त्यो सम्भव नभएको अधिकारीहरूले बताए ।


टुँडिखेलमा सम्मान गारद पाउने पहिलो पहुना !


दुईदिने औपचारिक भ्रमणमा आइपुगेका पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलमा १९ तोपको सलामी दिइएको छ । प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अति विशिष्ट कक्षमा स्वागत गर्दै उनको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । उक्त स्वागत कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका राष्ट्रिय धुन पालैपालो बजाइएको थियो । समारोहमा पाकिस्तानी प्रधानमन्त्रीलाई विभागीय मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचयसमेत भएको थियो ।

प्रकाशित : फाल्गुन २१, २०७४ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?