कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

युवती अपहरण आरोपमा पाँचजना पक्राउ

प्रहरीले पाँचैजना विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरे पनि युवतीको अवस्था भने खुल्न सकेको छैन
कान्तिपुर संवाददाता

इटहरी — एक १८ वर्षीया युवती अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिका २ का नजिम साफी, सोही स्थानका शमसाद अन्सारी, अकबर साफी, आलम साफी र इटहरी उपमहानगरपालिका–९ का विशाल राई पक्राउ परेका हुन् । युवतीका आफन्तले उनीहरूविरुद्ध अपहरणको उजुरी दिएका थिए ।

युवती अपहरण आरोपमा पाँचजना पक्राउ

अपहरणकारीले पीडित पक्षलाई फिरौतीका लागि पटक–पटक दबाब दिएको खुलेको छ । हरिनगर गाउँपालिका १ बाट बेपत्ता ती युवती अहिलेसम्म फेला परेकी छैनन् । उनलाई सोही स्थानका जाकिर र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर बेपत्ता पारेको आफन्तले बताएका छन् । युवतीका आफन्तले अपहरणमा ती दुवैको संलग्नता हुन सक्ने आशंका गर्दै हजरतका दाजु आलमलाई छुटाइदिन अनुरोध गरेका थिए । उनले उल्टै ५ लाख फिरौती माग गरेपछि घटना सार्वजनिक भएको थियो । पीडित परिवारसँग अपहरणकारी समूहले पटक–पटक रकमको मोलमोलाइ गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । युवतीको परिवारलाई रकमका लागि ताकेता गरिएपछि उनीहरूले इटहरी उपमहानगर–९ का विशाल राईको नाममा २५ हजार रुपैयाँ आईएमई गरेको पनि प्रहरीले जनायो ।


डीएसपी नारायण चिमौरियाले फिरौती रकम बुझाए पनि युवती फिर्ता नभएपछि पीडित परिवारले जिल्ला प्रहरीमा उजुरी दिएपछि घटनाबारे थाहा भएको बताए । ‘घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ,’ उनले भने, ‘पक्राउ परेका पाँचैविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।’ प्रहरीले अपहरणकारी पक्राउ गरे पनि बेपत्ता युवतीको अवस्था भने अज्ञात नै छ ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?