कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आतंकवाद निर्मूल पार्न सहकार्य’

-सार्कको महत्त्व घटेको छैन : अब्बासी  -पाकिस्तानले दिँदै आएको चिकित्सा/प्राविधिक शिक्षाको कोटा दोब्बर
चन्द्रशेखर अधिकारी

काठमाडौँ — आतंकवाद र उग्रवादको जरैदेखि अन्त्य गर्न क्षेत्रीय सहकार्यको विकल्प नभएको सन्देश दिएर पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी फर्किएका छन् । १९ घण्टे नेपाल भ्रमणका क्रममा गरेका राजनीतिक भेटघाटहरूमा अब्बासीले विश्व शान्तिकै लागि सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।

‘आतंकवाद निर्मूल पार्न सहकार्य’

विश्व राजनीतिमा देखिएको ‘बदलाव’ का बीचमा विकास गर्न सहकार्य नै पहिलो सर्त रहने उल्लेख गर्दै उनले भने, ‘हामी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मार्फत यस क्षेत्रमा सहकार्य गरिरहेका छौं । तर यसमा दुईपक्षीय सम्बन्ध प्रवेश पाएकाले संगठन अघि बढ्न नपाएको हो ।’


भारत–पाकिस्तान सम्बन्ध उल्लेख नगरी उनले दुई देशबीचको समस्याले सार्कका प्रतिबद्धता, गतिविधि र प्रक्रिया प्रभावित हुन नहुने बताए । सार्कको भूमिका सशक्त तुल्याउन आवश्यक रहेको पनि उनले सबैसँगको भेटमा जोड दिए । पाकिस्तान क्षेत्रीय शान्ति र विकासका लागि सधंै सक्रिय सहकार्य गर्न तयार रहेको पनि उनले बताए । उनले अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्दै यसलाई चिरेर अघि बढिरहेको बताए । सबैजसो भेटवार्तामा उनले भने, ‘हिंसात्मक घटनाका कारण पाकिस्तानमा निर्दाेष सैनिक तथा गैरसैनिकले जीवनको क्षति बेहोर्नु परिरहेको छ । अन्य सदस्य मुलुकमा पनि त्यस्तो समस्या छ । यसलाई मिलेर चिर्न सकिन्छ ।’ स्वदेश फर्कनुअघि उनले आफ्नो नेपाल भ्रमणलाई सफल र उपयोगीको संज्ञासमेत दिए । आगामी तीन महिनामा पाकिस्तान निर्वाचनमा जान लागेको जानकारी दिँदै उनले लोकतन्त्र संस्थागत हुँदै विकास अघि बढेको समेत बताए ।


सार्क सचिवालयमा धुपीको बिरुवा रोप्दै उनले काठमाडौं सार्कको राजधानी भएको बताए । सार्कका महासचिव यतिबेला पाकिस्तानकै अम्जद बी सियाल छन् । उनले स्थगित सार्क शिखर सम्मेलन जतिसक्दो छिटो गराउन पाकिस्तान लागिरहेको भन्दै छिट्टै पाकिस्तानमा सम्मेलन हुने पनि बताए ।


स्वदेश प्रस्थान गर्नुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । राजनीतिक भ्रमणका लागि सोमबार अपराहन काठमाडौं उत्रेका अब्बासीले प्रधानमन्त्री केपी ओलीलाई बधाई दिँदै आपसी हितबारे छलफल गरेका थिए । सोमबारै उनले दुई पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल तथा कांग्रेस नेता विजय गच्छदारसँग पनि भेट गरेका थिए । यी भेटघाट प्रधानमन्त्री ओलीले दिएको रात्रिभोजमा भएका थिए ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने अब्बासीले आफू बसेको होटल हयातमै मंगलबार बिहान भेटवार्ता गरेका थिए । भेटमा अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग र सहकार्यमा अघि बढ्ने बताएका थिए । भेटमा गृहमन्त्री रामबहादुर थापा तथा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत पनि सहभागी थिए । भेटपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरूबीच छलफल भएको बताए । अब्बासीले पूर्वप्रधानमन्त्रीहरूसँग भेट गरेको भए पनि प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट भएन । प्रमुख प्रतिपक्ष दलका नेतासँग भेट नहुनुलाई पाकिस्तानले अस्वाभाविक मान्न सक्ने एक परराष्ट्र अधिकारीले बताए ।


चिकित्सा/प्राविधिक शिक्षामा कोटा थप्ने

राष्ट्रपति भण्डारीसँगको भेटमा अब्बासीले नेपाललाई दिएको चिकित्सा/प्राविधिक शिक्षाको कोटा दोब्बर गर्ने जानकारी गराए । शीतलनिवासमा भएको भेटवार्तामा भण्डारीले अब्बासीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुगेको बताएकी थिइन् ।


भण्डारीले संविधानसभाबाट संविधान जारी भएपछि तीन तहका निर्वाचन सफल भई नयाँ सरकार गठन भएको अवस्थामा अब नेपाल स्थिरता र विकासमा अघि बढ्ने बताएको छलफलमा सहभागी परराष्ट्र सचिव शंकरदास बैरागीले बताए ।


सार्कका संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्र्धन र सम्पर्क सञ्जाल विस्तारमा जोड दिँदै आएकाले यसलाई अघि बढाउन जरुरी रहेको पनि अब्बासीले बताए । पाकिस्तान नेपालको प्रगति र विकासका लागि सामथ्र्यले भ्याएसम्म जेसुकै सहयोग गर्न कुनै पनि बेला उपलब्ध हुने उनले बताए । उनको भ्रमणले पाकिस्तानको क्षेत्रीय प्रभाव रहेको पनि सन्देश देखाउन खोजेको विज्ञहरूले बताएका छन् । मंगलबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडासहितको टोलीले बिदाइ गरेको थियो ।


छलफलमा चीन पनि जोडियो

अब्बासीले भेटघाटमा चीनसँग मिलेर पाकिस्तानले तयार गर्न लागेको रेलवे र हाइवे (सिपेक) को महत्त्वबारे पनि धारणा राखेका थिए । त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने उनको राय थियो । उनले नेपाल पनि बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा गइसकेको मुलुक भएकाले यस क्षेत्रका लागि सिपेक निकै उपयोगी हुन सक्ने बताएका थिए । हाल १ हजार ७ सय किलोमिटर बनिरहेको उक्त रोडले तीन हजारभन्दा बढी सडकलाई एकत्रित गर्छ । सिपेक दक्षिण एसियाको आर्थिक परिवर्तनमा निकै उपयोगी हुने विश्वास उनले व्यक्त गरेका थिए । आफ्नो देशको योजना र प्राथमिकताबारे बोल्दा उनले यस्ता विषय जोडेको परराष्ट्र सचिव बैरागीले बताए । सीधा चीनको प्रसंग नआएको भए पनि विकास परियोजनाबाट चीन जोडिएको अधिकारीहरूले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?