माओवादी केन्द्रका तर्फबाट महरा सभामुखको उम्मेदवार
काठमाडौँ — माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले महराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।सभामुख चयनका लागि शुक्रबार सूचना दर्ता र शनिबार प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने कार्यक्रम छ ।
सांसद महरा दाङ-२ बाट निर्वाचित भएका हुन् । उनी माओवादी शान्ति प्रकृयामा अाएदेखि पटकपटक मन्त्री भइसकेका छन् । यसअघिको शेरबहादुर देउवाको सरकारमा समेत उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा काम गरेका थिए ।
सभामुखमा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङले पनि दाबी गरिरहेका थिए । दुइटा संविधानसभाको अध्यक्षको रूपमा नेतृत्व गरेको र अन्तरिम संसद्को सभामुखको समेत अनुभव भएकाले प्रतिनिधिसभालाई प्रभावकारी बनाउन नेम्वाङको भूमिका बलियो हुने दाबी एमालेका नेताहरूको थियो । तर, दुई दलबीच एकता प्रक्रियाकै क्रममा मुख्य पदहरू बाँडफाँट गर्दा सभामुख आफूले पाउनुपर्ने माओवादीको अडान थियो । त्यही बमोजिम उसले राष्ट्रपतिको दाबी छाडेर एमालेको सिफारिसअनुसार विद्यादेवी भण्डारीलाई समर्थन गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री एमालेको भागमा परेपछि उपराष्ट्रपति र सभामुखमा माओवादी दाबी छ । सभामुख पदका लागि माओवादीभित्र महराबाहेक गिरिराजमणि पोखरेल, देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्तीलगायतले पनि दौडधुप गरेका थिए ।
प्रकाशित : फाल्गुन २५, २०७४ १०:०७