कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुटपिट गर्नेलाई हदैसम्मको कारबाही : गृहमन्त्री

बोक्सी आरोपमा यातना
विमल खतिवडा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन् । गृह मन्त्रालयमा शनिबार तीन विद्यार्थी संगठनको ज्ञापनपत्र बुझदै थापाले घटनामा संलग्नले कठोरभन्दा कठोर सजाय पाउने आश्वस्त पारे । 

कुटपिट गर्नेलाई हदैसम्मको कारबाही : गृहमन्त्री

‘अपराधीहरूले सजाय पाउनुपर्छ, आज अपराधीहरूकै कारण देश अशान्त छ,’ उनले भने, ‘त्यसैले अपराध अन्त्यको माग आजको आवाज हो ।’ अपराध अन्त्य गर्न गृहलाई युवाहरूको साथ चाहिएको थापाले बताए । ‘समाजमा जुन कुरीति छन्, यसमा टेकेर अपराध भइरहेको छ,’ उनले भने, ‘ती अपराधीविरुद्ध विद्यार्थी संगठनले उठाएको आवाज जायज छ, यो अरू युवाका निम्ति प्रेरणा हुन सक्छ, यसका लागि तपाईंहरूको आवाजमा गृह मन्त्रालयको पूर्ण रूपमा समर्थन तथा साथ रहने छ ।’

उनले अपराधीहरूकै कारण देश गरिबीको दुश्चक्रमा फसेको बताए । ‘केही समयअघि निर्वाचन भयो, जनताको जनादेश अपराधीलाई समाप्त पारेर गरिबी र दुश्चक्रबाट देशलाई मुक्त गर भन्ने हो,’ उनले भने । सत्तापक्ष र प्रतिपक्ष एक भएर ज्ञापनपत्र बुझाउन आएकामा खुसी लागेको बताउँदै मन्त्री थापाले एकढिक्का भएर अपराधीविरुद्ध नयाँ अभियान छेड्नुपर्ने बताए ।

एमाले, कांग्रेस र माओवादी विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले बोक्सीको आरोपमा घटाइएको पाशविक, बर्बर र जघन्य घटनाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरे । ‘१२ कक्षामा अध्ययनरत चौधरीलाई कथित बोक्सी आरोप लगाउँदै ६ घण्टासम्म लगातार कुटपिट गरी मरणासन्न बनाएको घटनाले सिंगो नेपाली सभ्यतालाई लज्जित तुल्याएको छ,’ केही दिनअघि पर्साको सुगौली पर्तेवामा ८ वर्षीया बालिकालाई बलात्कार गरिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘यस खालका बर्बर घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिन माग गर्दछौं ।’

ज्ञापनपत्रमा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ । कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिने गरेको औंल्याउँदै विद्यार्थी संगठनहरूले विद्यमान ऐनमै संशोधन गरी यस्ता अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न सरकारसित माग गरे । ‘अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको समयमा कैलालीको घोडाघोडीमा बोक्सी आरोपमा भएको घटना निकै निन्दनीय र हृदयविदारक छ, नेपाली समाजका लागि यो निकै दु:खद विषय हो,’ अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले भने, ‘यस्ता प्रकारका घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न तीन विद्यार्थी संगठन जोडदार माग गर्छाैं ।’ अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी) का अध्यक्ष तामाङको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र गृहमन्त्री थापालाई बुझाइएको हो ।


प्रदेशसभामा कारबाही माग

धनगढी (कास)– बोक्सी आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटनाको शनिबार बसेको प्रदेशसभा बैठकमा चर्को आलोचना भयो । बैठकमा बोल्ने अधिकांश सांसदले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरू मालमती राना थारू, कुन्ती जोशी र पूर्णा जोशीले घटनाको चर्को आलोचना गरे ।

‘घण्टौंसम्म राधामाथि कुटपिट हुँदै गर्दा वरिपरि जम्मा भएका सयौं स्थानीय बासिन्दा रमिते भएको घटना दर्दनाक मात्रै हैन, शर्मनाक छ,’ सांसद थारूले भनिन्, ‘घटनामा संलग्न सबैलाई हदैसम्म कारबाही गरिनुपर्छ । प्रहरीको मिलेमतो प्रयास झनै आपत्तिजनक छ ।’

प्रदेशसभा बैठकको सुरुमै सांसदहरूले घटनाबारे बोल्न सभामुखसँग समय माग गरेका थिए । सबै सांसदको सल्लाहअनुसार ३ महिला सांसदले बैठकमा बोल्दै घटनाको विरोध र कारबाही माग गरेका हुन् ।

सांसद पूर्णा जोशीले घटनाका सम्बन्धमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरिन् । घण्टौंसम्म किशोरीमाथि निर्घात कुटपिट हुँदै गर्दा सयौंको संख्यामा भेला भएका स्थानीय नाटक हेरेझैं ताली बजाएर रमिते भएको उल्लेख गर्दै उनले भनिन्, ‘स्थानीय समाज त स्तब्ध भएन भएन, यो सदनसमेत यस घटनामा स्तब्ध भएन भने विकास र समृद्धिका नारा व्यर्थ हुनेछन् ।’

अर्की सांसद कुन्ती जोशीले घटनाले सिंगो प्रदेशको बदनाम गराएको उल्लेख गर्दै रमितेहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । ‘घटनामा संलग्न कोही कसैलाई छोड्नुहुन्न,’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?