कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायालय प्रमुख विवादित हुनु राज्य संयन्त्र असफल : डा. बाबुराम भट्टराई

कान्तिपुर संवाददाता

क्वालालम्पुर — पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायालय प्रमुख नै विवादित हुनु राज्य संयन्त्र असफल देखिएको बताएका छन् । 

न्यायालय प्रमुख विवादित हुनु राज्य संयन्त्र असफल : डा. बाबुराम भट्टराई

इण्डोनेसियाको राजधानी जकार्तामा आयोजित ‘एसियामा मानवीय पहुँच र वार्ता’ बिषयक सम्मेलनबाट मलेसियामा नेपालीसँगको एक अन्तरक्रिया कार्यक्रममा आएका डा भट्टराईले आइतबार कान्तिपुरसितको कुराकानीमा उक्त कुरा बताएका हुन् । ‘न्यायालय प्रमुखको बारेमा जुन खालका समाचारहरु आइरहेका छन् । यो चिन्ताजनक छ,’ उनले भने ‘यसले राज्य नै असफल हुनेतर्फ गएको देखिन्छ ।’

उनले राजनीतिक नेतृत्वको भ्रष्टीकरण लगायतका गतिविधिलाई नियन्त्रण गर्ने न्यायपालिका जस्तो महत्वपूर्ण निकाय प्रमुख स्वयं विवादित हुनु अशोभनीय भएको बताए । ‘हाम्रो राज्यको अंग अहिले भताभुङ्ग भएको अवस्था छ । राजनीतिक शक्ति नै सत्तामा पुगेपछि एकदम भ्रष्टीकरणको पर्याय भएको छ,’ डा. भट्टराईले भने ‘करफस्र्योट, बुढी गण्डकी र एनसेल प्रकरणमा अर्बौंको चलखेल राजनीतिक नेतृत्वको संलग्नतामा भइरहेको छ । त्यसलाइ नियन्त्रण गर्न बनेको न्यायालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन्, उनीहरु क्रमिक रुपमा विवादित देखिनु मुलुक असफल राज्यको अनुभूति भएको छ ।’

डा भट्टराईले शनिबार मलेसियाका विकास विज्ञ एवं नीति निर्माताहरुसँग नेपालको विकास सन्दर्भमा छलफल गरेका थिए । आइतबार मलेसियाको रावाङमा नेपाली मूलका मलेसियालीसंग भेटघाट गरेका थिए ।

गैर आवासीय नेपाली संघ मलेसियाले क्वालालम्पुरमा आयोजना गरेको अन्तरक्रियामा उनले आइतबार नेपाली कामदारले भोगेका समस्या र समाधानका प्रयास बारे जानकारी लिएका थिए । कार्यक्रममा नेपाली श्रमिकहरुले सम्झौता अनुसार तलब सुविधा नपाएको, बिरामी हुदाँ समयमा उपचार नपाएको, तोकिएभन्दा बढी समय काममा लगाएको, कम्पनीले घर फर्कन खोज्दा असहयोग गरेको लगायतका गुनासा सुनाएका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७४ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?