कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जव न्यायाधीशले प्रधानन्यायाधीशबिरुद्ध आदेश गरे....

घनश्याम खडका

काठमाडौँ — ठीक सवा १२ बजे न्यायाधीश चोलेन्द्र शमशेर जबरा भित्र छिरे, कुर्सीमा बसे र खल्तीबाट एउटा कागज झिकेर पढ्न थाले, ‘...सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यू उक्त मिति २०७४।४।२१ मा नै अवकास प्राप्त भइसकेको अवस्था रहेकोले उहाँले तोक्नु भएको कजलिष्टबमोजिमको आज मिति २०७४।११।२८ गते सुनुवाईका लागि तोकिएका प्रस्तुत मुद्दाहरु नैतिक र कानुनी दृष्टिले हेर्न मिलेन ।...'

जव न्यायाधीशले प्रधानन्यायाधीशबिरुद्ध आदेश गरे....

सर्वोच्च अदालतको वृहतपूर्ण इजलाशमा भरिभराउ सञ्चारकर्मी र कानून व्यवसायीका आँखा एकोहोरो अघिल्तिरको सात वटा खाली कुर्सीमा सोझिएका थिए । इजलाश अधिकृत फाइल खोलेर अघिदेखि बसिरहेकाले केही बेरमै न्यायाधीश आउँछन् र बहस सुरु गर्छन् भन्ने सबको मनमा परिरहेको थियो । तर झण्डै डेढ घण्टा कुर्दासम्म पनि इजलाशका सात कुर्सी रित्ताको रित्तै रहे ।


ठीक सवा १२ बजे न्यायाधीश चोलेन्द्र शमशेर जबरा भित्र छिरे, कुर्सीमा बसे र खल्तीबाट एउटा कागज झिकेर पढ्न थाले जसको पुछारमा लेखिएको थियो, ‘...उपरोक्त व्यवस्थाहरुसमेतबाट सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यू उक्त मिति २०७४।४।२१ मा नै अवकास प्राप्त भइसकेको अवस्था रहेकोले उहाँले तोक्नु भएको कजलिष्टबमोजिमको आज मिति २०७४।११।२८ गते सुनुवाईका लागि तोकिएका प्रस्तुत मुद्दाहरु नैतिक र कानुनी दृष्टिले हेर्न मिलेन । नियमानुसार गरी पेश गर्नु ।’


पराजुलीमाथि जे आरोप लागिरहेको थियो अन्तत: जबराको आदेशले त्यसैलाई पुष्टि गरिदिएको छ ।

चोलेन्द्रका अनुसार पराजुलीले कान्तिपुर विरुद्धको अवहेलना मुद्दा चल्दै गर्दा वृहतपूर्ण इजलाशका न्यायाधीशहरुलाई ‘आफ्नो जन्म मिति बारे भ्रममा नपर्न’ भन्दै सबै कागजातहरु देखाएका थिए । त्यस क्रममा एसएसलसीका चारित्रिक प्रमाण पत्रमा उनको जन्म मिति २०११।१।१३ रहेको तथ्य खुल्न गएको थियो ।


‘त्यस हिसाबले उहाँले साउन २१ गते नै अवकाश पाइसक्नु भएको देखिन्छ’ जबराले भने, ‘अवकाश भइसकेको मानिसबाट तोकिएको इजलाशमा बस्न मलाई कानूनले दिएन, त्यसैले आफ्नो राय सुनाएर म बाहिरिएँ ।’


२०३०।४।२१ मा उनले लिएको सुरुको नागरिकतामा पराजुलीको उमेर २००९।४।२१ थियो । त्यसलाई सच्याएर पछि उनले कतै २०१०।१।१३ र कतै २०१०।१।१६ बनाएका थिए । नेपाल राष्ट्रिय वीद्यापीठबाट उनले प्रवेशिका उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्रमा भने उनको जन्म मिति २०११।१।१३ छ जो हालसम्म उनले कतै पेश गरेका थिएनन् । जन्म मितिकै बारेमा विवाद उठेपछि र समाचारहरु आएपछि त्यसविरुद्ध लागेको अवहेलनाको मुद्दा सुन्न सामेल न्यायाधीशहरुबीच उनले आइतबार हालसम्म लुकाउँदै आएको त्यो प्रमाणपत्र पनि पेश गरेका थिए ।


त्यो देख्ने बित्तिकै जबराले उनलाई राजिनामा गर्न सुझाएका थिए भने अन्य न्यायाधीशहरु ओमप्रकाश मिश्र, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसीले भने यसमा कुनै प्रतिक्रिया नदिई उनको इजलाशमा बसेका थिए ।

न्याय पषिद ऐन, २०७३ अनुसार छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी देखिएमा सबभन्दा अघिल्लो कायम हुन आउँछ । त्यस हिसाबले पराजुलीले गत साउनमै अवकाश पाइसक्नु पर्ने थियो ।

‘मैले उनलाई एक दिनको म्याद दिएको थिएँ राजिनामा गर्नका लागि’ जबराले भने,‘तर उनले आफू चुकेको महसुसै गरेनन्, त्यसपछि मात्रै सत्य तथ्यसहित इजलाशमा आफ्नो आदेश गरेको हुँ ।’


कीर्ते गरेर प्रधान न्यायाधीश पदमा बसिरहेका पराजुलीबाट तोकिएको पेशी आफूलाई हेर्न कानूनले नै छेकेको भन्दै उनी बाहिरिएपछि अन्य न्यायाधीशले पनि मुद्दा हेर्न छाडेका थिए ।

आफ्नो आदेश गरेर उनी बाहिरिए लगत्तै केहीबेरसम्म अवहेलनाको मुद्दामा सुनुवाइ गर्न तम्तयार बसेका पराजुली तुरुन्तै रक्षात्मक अवस्थामा पुगे । आफ्नो मुद्दामा आफैं सुनुवाइ गर्न उनले गठन गरेको वृहतपूर्ण इजलाश स्वत: निश्क्रिय हुन पुगेको थियो । पराजुली त्यसपछि दिनभरी नै आफ्ना भित्रियाहरुसँग छलफलमा जुटिरहे । नेपालबारका पदाधिकारीलाई बोलाएर पनि उनले राय लिए । ‘आफू निकट एक अधिवक्तालाई बोलाएर उनले चोलेन्द्रविरुद्ध अवहेलनाको मुद्दा दर्ता गराउन आदेश पनि गरे’ सर्वोच्च स्रोत भन्छ,‘उनी साँझ अबेरसम्म पनि त्यही कुरेर बसिरहेका छन्, आफ्नै इजलाशबाट अदालतको अवहेलना गरेको भनेर चोलेन्द्रलाई कारबाही गर्ने तयारीमा छन् ।’


न्यायाधीश चोलेन्द्र जबराको आदेशको पूर्णपाठ:






प्रकाशित : फाल्गुन २८, २०७४ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?