कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दुई मिनेटमै सबै भयो’

यूएस बंगला विमान दुर्घटना
कान्तिपुर संवाददाता

काठमाडौँ — यूएस बंगला विमानको फ्लाइट सेड्युलअनुसारै थियो । जहाजमा बंगलादेशको कोक्स बजारमा हुन लागेको कस्टमर सक्सेस समिटमा भाग लिन गएको हाम्रो टोलीका १० पर्यटन व्यवसायी र दुई बंगाली साथीलगायत रमाइलो गर्दै आइरहेका थियौं ।

‘दुई मिनेटमै सबै भयो’

न्युरोसर्जन डा. बालकृष्ण थापा र बंगलादेशमा डाक्टरीे पढाइ सकेर फर्किन लागेका विद्यार्थीको टोली पनि थियो । अरू पर्यटक पनि थिए । काठमाडौं उपत्यका छिरेपछि अवतरणका क्रममा जहाजले जुन रुट लिनुपर्ने हो, त्यो लिएन । कोटेश्वर आइसकेपछि दाहिने पट्टिबाट बढी च्यापेपछि जहाजले एयरपोर्ट ‘मिस’ गर्‍यो ।

सोच्यौं, टावरसँगको कम्युनिकेसनमै त्यसो गरेको होला । एयर ट्राफिकको समस्या हो कि भन्ने पनि लाग्यो । त्यसअघि पनि जहाज बूढानीलकण्ठ र बौद्ध वरिपरिका डाँडाकाँडा घुम्दै घर र रूख नै छोयोछोयो कि जसरी उडिरहेको थियो । सबै यात्रुमा त्रास छाइसकेको थियो । जीवन खतरामा पर्‍यो भन्ने सोचिसकेका थियौं । तर, कसोकसो पाइलटले जहाज ‘टर्निङ’ गर्दै एयरपोर्टतर्फ लगेपछि बाँचिन्छ कि भन्ने आस पलायो ।

तर, जहाज एक्कासि भुइँमा बज्रियो । धावनमार्गमा पुग्नै पाएन । त्यसपछि के भयो मलाई याद छैन । जब थाहा पाएँ, म चौरमा घिस्रिइरहेको थिएँ । जहाजभरि आगो सल्किसकेछ । पेट्रोलको फोहरा र धूवाँको मुस्लो छुटिरहेको थियो । अब जहाज पड्किन्छ र आगो आफूसम्म आइपुग्छ भनेर म आत्तिएँ । पछाडि फर्केर हेर्नै सकिनँ । छिटोभन्दा छिटो भाग्न खोजेँ तर खुट्टाले भरै दिएन । केही छिनमै सेनाका जवान आएर मेरो उद्धार गरे ।

मलाई केएमसी पुर्‍याइयो । त्यहाँको अवस्था लथालिंग थियो । त्यसैले आफन्तले नख्खुस्थित मेडिसिटी अस्पताल ल्याए । अहिले यहीँ उपचाररत छु । दाहिने घुँडाभन्दा तल फ्याक्चर भएको छ । दाहिनेतिरका दुई करङमा समस्या देखिएको छ । आँखामा थोरै इन्फेक्सन छ ।

दुर्घटनास्थलमा छँदा मलाई बाँच्छु भन्ने लागेकै थिएन । आफू जोगिए पनि पर्यटन व्यवसायी, डाक्टर भाइबहिनी र थुप्रै पर्यटकको मृत्यु भएकामा दु:ख लागेको छ । विमान किन दुर्घटनाग्रस्त भयो त्यो पछि थाहा होला । तर, पाइलटकै गल्तीले गलत ल्यान्डिङ भएको हो कि जस्तो लाग्छ । टेक्निकल कुरा भएकाले ठोकुवा नै गर्नचाहिँ सक्दिनँ । अवतरणका लागि फर्काएर ल्याउँदा दोस्रो पटकमा पनि सही ठाउँमा ल्यान्ड गर्न सकेन । जेजे भयो त्यो सब दुई मिनेटभित्रै भयो ।
(विमल खतिवडाले यात्रु केशव पाण्डेसँग गरेको कुराकानीमा आधारित ।)

बिछोडको पीडा


यूएस बंगलाको सोमबार दुर्घटनाग्रस्त विमानमा मृत्यु भएका २३ वर्षीय अवधेशकुमार यादवका बुवा ऋृषिनारायण राय पत्नी सिमित्राको आँसु पुछ्दै । चार महिनाअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका अवधेश एजेन्टले भनेअनुसार काम नपाएपछि ढाका ‘ट्रान्जिट’ हुँदै स्वदेश फर्केका थिए । पशुपतिनाथको सँगै दर्शन गरेर सर्लाहीस्थित आफ्नो गाउँ फर्किने योजनाअनुसार उनले आमाबाबुलाई काठमाडौं बोलाएका थिए । तस्बिर : अंगद ढकाल/कान्तिपुर


आयोगद्वारा छानबिन सुरु

यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो ।

‘आयोगले आजै (मंगलबार) देखि काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ । आयोगलाई १ सय ५० दिनको समय दिइएको छ । सहसचिव आचार्यले दुर्घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि हातेमालो गर्नेछौं ।

बेलायतले पनि सघाउने भनेको छ,’ आचार्यले भने । आयोगको कार्यालय सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा राखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुर्घटनामा परेको बमबार्डियर ड्यास एट क्यु फोर हन्ड्रेड विमान दर्ता भएको मुलुक बंगलादेशबाट जहाजका प्राविधिक डकुमेन्ट झिकाइने बताए ।


उनले आयोगले जहाजको मर्मत, उडानयोग्य प्रमाणपत्रलगायत प्राविधिक डकुमेन्ट पनि मागिने बताए ।

अडियो सार्वजनिक भएकामा आपत्ति
यसैबीच, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ । ‘यो गम्भीर विषय हो । पाइलट र एटीसीको संवाद सार्वजनिक गर्न मिल्दैन,’ महानिर्देशक गौतमले भने, ‘हामीले यो अडियो सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि भनिसकेका छौं ।’

गौतमले यस्तो अडियो आवश्यक परेमा सुन्न सक्ने अधिकार प्राधिकरणका महानिर्देशक र दुर्घटना भएमा जाँचबुझ आयोगलाई मात्रै हुने बताए । यही अडियो सुनेर यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी (सीईओ) इमरान असिफले विमान दुर्घटनामा पर्नुमा नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएका छन् । यसबारे प्राधिकरणका महानिर्देशक गौतमले एयरलाइन्सका सीईओको भनाइ आधारहीन भन्दै खण्डन गरेका छन् ।

‘सीईओको भनाइमा आधार छैन । जे मन लाग्यो त्यो भन्न पाइँदैन । हामीले पनि पाइलटको गल्ती भनेका छैनौं । दुर्घटना हुँदा देखिएको अवस्थाबारे मात्रै अभिव्यक्ति दिएका हौं,’ गौतमले भने, ‘यो विशुद्ध प्राविधिक कुरा हो । आयोगको अनुसन्धानपछि मात्रै खास कुरा भन्न सकिने छ ।’ पूर्वाधार र उपकरण अभावले यो दुर्घटना नभएको प्राधिकरणले उल्लेख गरेको छ ।

‘यात्रु र उडानको चापअनुसार पूर्वाधारको आवश्यकता महसुस भएको पक्कै हो तर, सोमबारको दुर्घटनासँग यसको सम्बन्ध गाँसिएको छैन,’ गौतमले पत्रकार सम्मेलनमा भने ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु तथा चालक दलका ४ सदस्यसहित आएको विमान अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । प्राधिकरणले दुर्घटनामा ४९ को मृत्यु भएको जनाएको छ । तर गृह मन्त्रालयले मृतकको संख्या ५१ पुगेको दाबी गरेको छ ।

बंगलादेशी सञ्चारमाध्यमले चालक दलका क्याप्टेन अविद सुल्तानको मृत्यु नभएको दाबी गर्दै आएका छन् । तर प्राधिकरणका महानिर्देशक गौतमले यो दुर्घटनामा चालक दलका सबै सदस्यको पनि मृत्यु भइसकेको जनाएको छ । विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक तथा चालक दलका चार जना थिए । सबै शव शिक्षण अस्पतालमा राखिएका छन् ।

२२ जनाको उपचार जारी
राजधानीका ६ वटा अस्पतालमा २२ जनाको उपचार जारी छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार सिनामंगलस्थित काठमाडौं शिक्षण अस्पतालमा प्रिन्सी धामी, समिरा व्यन्जनकार, इम्रान कबिर, कबिर हुसैन, मेहेदी हसन, सोवर्णा हसन, सरिम अहमत, एमडी साहिन व्यापारी, सेख रुबायत रसित, आल्मुन नहर एनईको उपचार भइरहेको छ ।

त्यस्तै ग्रान्डीमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, विनोद पौडेलको उपचार भइरहेको छ । न्युरो अस्पतालमा दिनेश हुमागाईं, मेडिसिटीमा केशव पाण्डे, ओममा रिजवानुल हकको उपचार भइरहेको छ । त्यस्तै नर्भिकमा वसन्त बोहोरा, आशिष रन्जित, सोनाम शाक्य, याकुव अली र रिजाना अब्दुल राखिएका छन् । यीमध्ये अधिकांश खतरामुक्त रहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?