महोत्तरीबाट आठ हजार जनाले एसईई दिने
महोत्तरी — महोत्तरीमा यो वर्ष ८ हजार २३ परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने भएका छन् । जसमा ६ हजार ६ सय ७६ जना सामुदायिक विद्यालयबाट, ६ सय ४५ले संस्थागत विद्यालयबाट र ७ सय २ जना इक्जामटेड परीक्षार्थी छन् ।
यो सख्या गत वर्षको तुलानामा १४ प्रतिशतले घटेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा नियमित , एक्जामटेड र ग्रेडवृद्धि गरी ९ हजार ३ सय १ जनाले परीक्षा दिएका थिए ।
परीक्षार्थी संख्या घटेपनि परीक्षा केन्द्र भने गत वर्षको संख्यामा १ थप गरेर २९ पुर्याइएको छ । जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार यस वर्ष नियमित र एक्जाम्टेडको प्रश्नपत्र छुट्टाछुट्टै हुने भएकोले परीक्षा केन्द्र बढेको हो ।
यो वर्ष जिल्लाभरका एक्जामटेड परीक्षर्थीलाई बर्दिवासको जनता मावि , रामगोपालपुरको महेन्द्र राष्ट्रिय मावि र जलेश्वरको महेन्द्र आदर्श कन्या मावि गरी ३ केन्द्र कायम गरिएको छ । रामगोपालपुरमा भने नियमित (क) र एक्जामटेड (ख) गरी एउटै विद्यालयमा २ केन्द्र कायम गरिएको शिक्षा कार्यालयले जनाएको छ ।
तोकिएका केन्द्रमध्ये त्रिभूवन मावि गौशालाबाट सबैभन्दा बढी ४ सय ५८ तथा सबैभन्दा कम रामगोपालपुर (क) केन्द्रबाट १ सय ५१ जना विद्यार्थी सहभागि हुनेछन् ।
शिक्षा कार्यालय परीक्षा फाँटकाअनुसार जिल्लाका ८७ सामुदायिक र १९ नीजि गरेर १ सय ६ विद्यालयका विद्यार्थीहरु परीक्षामा सामेल छन् ।
परीक्षा परिचालनका लागि २९ केन्द्राध्यक्ष , ३८ सहायक केन्द्राध्यक्ष , ३ सय ४७ निरीक्षक र १ सय ८३ सहयोगी गरी सुरक्षाकर्मीबाहेक झण्डै ६ सय कर्मचारी परिचालनको व्यवस्था मिलाइएको छ ।
केन्द्र निर्धारण लगत्तै एसएलसी समन्वय समितिको बैठकबाट केन्द्राध्यक्ष चयन र सुरक्षा व्यवस्था सम्बन्धि निर्णय गरिने जिशिअ दहालले जानकारी दिए ।
प्रकाशित : चैत्र ३, २०७४ १४:४९