कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा गिरिजाप्रसाद कोइराला (फोटो फिचर)

‘सहमति र सहकार्य अझै सान्दर्भिक’

विराटनगर — पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसको अबसरमा विराटनगरमा मंगलबार विशेष कार्यक्रम आयोजना गरियो । जीपी कोइराला फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेतालगायतले कोइरालाको योगदानको प्रशंसा गरे ।

तस्बिरमा गिरिजाप्रसाद कोइराला (फोटो फिचर)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा जनतालाई मालिक बनाउने कोइराला महानायक भएको बताए । कोइरालाको स्पष्ट दृष्टिकोणले निरंकुश राजतन्त्र अन्त्य र प्रजातन्त्रको बहाली गर्न धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।


सन् १९२५ मा जन्मिएका कोइराला पाँचपटक प्रधानमन्त्री बनेका थिए । तीन पटक नेपाली कांग्रेसको तीनपटक सभापति भएका थिए । गणतन्त्र स्थापनापछि पछिल्लो समय उनी राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । कुशल संगठक, खरो स्वभाव अनि प्रष्ट दृष्टिकोण भएका मानिने कोइरालाले शान्ति प्रक्रियामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


कृष्णप्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मेका कोइरालाको कोइरालका दुई दाजुहरु वीपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासित विवाह गरेका थिए । २००८ सालमा कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बनेका थिए ।


२०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाएपछि उनलाई पक्राउ गरिएको थियो । २०३१ देखि २०४७ सम्म नेपाली कांग्रेसको महामन्त्री थिए । २०५३ वैशाखमा काठमाडौंमा भएको पार्टीको नवौं महाधिवेशनबाट उनी पार्टी सभापति निर्वाचित भएका थिए ।


२०४६ सालको जनआन्दोलनपछि भएको नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ भनी सम्मान पाएका कोइराला १० वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


विराटनगर आएका बेला कोइरालाले आफ्नो नामको सन्दर्भमा रोचक विगत सुनाउने गर्थे । आफू गर्भमा रहेका बेला माता–पिता गिरिजादेवीको मन्दिर जान्थे । सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा गिरिजादेवी राख्ने दुबैबीच सहमति बनेको थियो । त्यसैअनुसार आफ्नो नाम गिरिजाप्रसाद राखिएको उनले सुनाएका थिए ।


२०६२/६३ को जनआन्दोलनका बेला कोइराला सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । ६ दशकभन्दा बढी समय राजनीतिमा सक्रिय उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताका रूपमा सुरू गरेका थिए । १९८१ असार १८ गते भारतको विहारमा जन्मिएका कोइरालाको २०६६ मा काठमाडौंमा निधन भएको थियो ।


यसै सन्दर्भमा कोइरालाका जीवनकालका विभिन्न महत्वपूर्ण क्षणका तस्बिरहरु पनि प्रदर्शन गरिएको थियो । तस्बिरमा कोइरालाको विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँगको भेट, दक्षिण एसियाली सहयोग संगठन सार्कमा सम्बोधन, आन्दोलनमा सहभागिता, युवा बेला, अरु नेतासँग सहकार्य, पार्टीको कार्यक्रम, शान्ति प्रक्रियामा हस्ताक्षरको क्षण र अन्तिम संस्कारका लागि लगिंदै गरेको बेलाका तस्बिरहरु समेटिएको थियो । प्रस्तुत छ उक्त प्रदर्शनीमा राखिएका तस्बिरहरु :


प्रकाशित : चैत्र ६, २०७४ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?