कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रिम महाधिवेशनको प्रस्ताव राख्ने कांग्रेस युवाहरुको तयारी 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसका युवा केन्द्रीय सदस्यहरुले राज्यको संघीय ढाँचा अनुसार पार्टी संरचना रुपान्तरण गर्न अग्रिम १४ औं महाधिवेशनको माग राख्दै चालु केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव राख्ने तयारीमा जुटेका छन् । 

अग्रिम महाधिवेशनको प्रस्ताव राख्ने कांग्रेस युवाहरुको तयारी 

महासमिति बैठकबाट विधान संशोधन गरेपछि अग्रिम महाधिवेशनको प्रकृया सुरु गराईनु पर्ने उनीहरुको माग छ । यस्तो प्रस्ताव ल्याउनेमा पार्टीको संस्थापन इतर पक्षका सदस्यहरु मात्रै छन् । संस्थापन पक्ष भने अग्रिम महाधिवेशनका लागि तयार छैन । विधान संशोधनपछि तदर्थ प्रकृतिको संरचना बनाउने तयारीमा संस्थापन पक्ष छ ।


सभापति देउवाको लोकप्रियता खस्केकै बेला अग्रिम महाधिवेशनमा गएर नेतृत्व फुत्काउने रणनीतिमा संस्थापन इतर पक्ष देखिएको छ । जुन अभियानमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइरालालगायतका नेताहरु पछिल्लो समय निरन्तर क्रियाशील छन् ।


युवा केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिको बैठकमा ल्याउन लागेको लिखित प्रस्ताव समेत त्यसैको एउटा श्रृंखला हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार सम्भवत: सोमबारको बैठकमा उक्त प्रस्ताव प्रस्तुत हुनेछ । निर्वाचन समिक्षाका लागि शुक्रबारदेखि सुरु बैठक आइतबार स्थगित भई सोमबारबाट सुरु हुँदैछ ।


अग्रिम महाधिवेशनको माग गर्दै प्रस्तुत हुन लागेको प्रस्तावमा केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, चन्द्र भण्डारी, दीपक गिरी, गगन थापा, हृदयराम थानी, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, किरण यादव, कल्याण गुरुङ, कमला पन्त, रामकृष्ण यादव, गोविन्द भट्टराईलगायतको समर्थन रहने पौडेलले बताए ।


पौडेलले राज्यको संघीय ढाँचा अनुसारनै पार्टी संरचना रुपान्तरण गर्नु परेका कारण अग्रिम महाधिवेशनमा जान पर्नु बाध्यता रहेको बताए । ‘पार्टीलाई नयाँ दिशा दिनका लागि पनि तत्काल महासमिति बैठक बोलाउनु पर्छ र लगतै अग्रिम महाधिवेशनमा जानुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने,‘निर्वाचनपछि खुम्चेको पार्टीलाई पुरानै अवस्थामा ल्याउन नीति, कार्यक्रम र नेतृत्वमै परिवर्तन आवश्यक छ ।


तर, केन्द्रीय कार्यसमितिको बैठकमा भने अहिले सम्म महाधिवेशन बोलाउने माग उठेको छैन । बैठकमा निर्वाचन हार्नुमा सभापति देउवाको गतिविधि र कार्यशैलीलाई मुख्य जिम्मेबार ठान्दै पौडेल पक्ष देउवाको आलोचनमा उत्रिएको छ भने संस्थापन पक्ष नेतृत्वको बचाउमा छ ।


शनिबारको बैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टी सभापतिबाट विधान विपरीतका गतिविधि र निर्णय भएको भन्दै त्यसको खारेजीको माग गरे । पार्टीको काय सम्पादन समिति, संसदीय समिति गठन गर्दा विधान मिचिएको उनको भनाई थियो । ती दुवै समिति पुर्नगठन हुनुपर्ने उनको माग छ । त्यस्तै भनाई अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पनि राखेका छन । गुरुङले सभापति देउवाबाट कहाँ-कहाँ विधान मिचियो भन्नेबारेमा विधानको दफानै पढेर सुनाएका थिए । उनले विधान संशोधन या निलम्बन नगरी सभातिले पदाधिकारी, केन्द्रीय सदस्य र विभाग समेत गठन गर्न नसक्ने बताए । विधानले सवै विभाग र समितिहरु महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पूर्णता दिईसक्नुपर्ने व्यवस्था गरेको छ । देउवा सभापतिमा निर्वाचित भएको दुई बर्ष वित्दा उपसभापति, महामन्त्री र सहामहामन्त्री मनोनयन गर्न सकेका छैनन् । ४२ विभाग बन्नै सकेको छैन भने केन्द्रीय कार्यसमितिले पनि अहिले सम्म पूर्णता पाएको छैन ।


गुरुङले बेलायतमा पार्टी हार्दा सभापतिले राजीनामा दिने प्रचलन रहेकाले हाम्रोमा पनि त्यहिँ परम्परा राख्न आग्रह गरे । ‘सभापतिबाट बेलायतको उदाहरण दिइराख्नु हुन्छ, निर्वाचनमा पार्टी हार्दा त्यहाँका सभापतिले राजीनामा दिन्छन्,’ उनले भने,‘तपाईंले पनि त्यहिँ प्रचलनको शिरोधार्य गर्ने कि ?’


केन्द्रीय सदस्य दिलेन्द्र बडुले विधान विपरित पार्टी सञ्चालन गर्ने पद्दति नबसाल्न आग्रह गरे भने अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले पार्टी एकता कायम गर्ने दिशामा अघि बढ्न आग्रह गरे । बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्य वीरवहादुर बलायरले नेतृत्वको बचाउ गर्दै ०४८ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरेर हराएको बेलादेखिनै कांग्रेसमा समस्या आएको बताएका थिए । कांग्रेस पराजित हुनुमा सवैको जिम्मेबार आ-आफ्नो ठाउँमा रहेको बताउँदै नेतृत्वलाई मात्रै दोषरोपण गरेर उम्कन निमल्ने उनले बताए । केन्द्रीय सदस्य जीवनकुमार शाही र हरि नेपालले निर्वाचनका गल्तीहरुलाई सच्चाएर पार्टी एकढिक्काका साथ अघि बढ्नु पर्ने बताए ।


नरहरिले भने- तत्काल महासमिति बोलाउनु होस्

कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीको विधान संशोधन र अन्य राजनीतिक बिषयमा छलफल गर्न तत्काल महासमिति बैठक बोलाउन माग गरेका छन् ।


१४ औं महाधिवेशनपछि दोस्रो पटक पटक केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी आचार्यले विधानले व्यवस्था गरेको पार्टी संरचनालाई तत्कालै पूर्णता दिन पनि आग्रह गरेका छन् । स्वास्थ्यका कारण लामो समय राजनीतिबाट निष्क्रिय भएका आचार्यले भने,‘पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पुरा भएका छैनन्, वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्ने छ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नु पर्दछ ।’


आचार्यले कांग्रेस अब पुरानै ढर्रामा अल्मलिन नहुने बताएका छन् । ‘केन्द्रीय कार्यसमितिले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दापनि दीर्घकालिन रुपमा बिषयलाई हेरेर कार्ययोजना अघि बढाउनु पर्छ’ आचार्यको भनाइ छ,‘कांग्रेसले अब आफूलाई जिम्मेबार प्रतिपक्षको रुमपा उभ्याउनु पर्छ । सत्ता पक्षको गल्ती कमजोरी केलाउनुको साथै आफैले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ ।’


मर्यादाक्रममा विवाद

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई पार्टी पदाधिकारीपछिको पहिलो मर्यादाक्रममा राख्ने निर्णय गरेसँगै बैठकमा केहीबेर तनाव भएको थियो ।


मर्यादाक्रम मिलाउन पूर्वअर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीको संयोजकमा समिति बनाइएको थियो । समितिको सुझाव अनुसार देउवाले श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो मर्यादाक्रममा राख्ने निर्णय गर्दै त्यही अनुसारको स्थानमा राखेपछि बैठकमा तनाव भएको हो । यसअघि श्रेष्ठ पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलापछिको मर्यादाक्रममा थिए ।


एउटा व्यक्तिको मात्रै मर्यादाक्रम मिलाएर नहुने भन्दै बैठकमा अधिकांश सदस्यले विरोध गरेपछि देउवाले सवैको मर्यादाक्रम मिलाइने बचन दिएका थिए । त्यसपछि मात्रै बैठक सुरु भएको थियो ।

प्रकाशित : चैत्र १०, २०७४ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?