कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्ट सिटीका लागि परामर्शदाता छनोट

दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकास मन्त्रालयले ‘स्मार्ट सिटी’ ल्यान्ड पुलिङको लागि तीन परामर्शदाता कम्पनीलाई सोबार छनोट गरेको छ । मन्त्रालयका अनुसार भक्तपुरको गुण्डु–बालकोट र ललितपुरको खोकना–बुङ्मती–भैसेपाटीका लागि एमआरसी र नेष्ट परामर्श दाता छनोट गरेको छ ।

स्मार्ट सिटीका लागि परामर्शदाता छनोट

काठमाडौं–


त्यसै काठमाडांै–भक्तपुरको चागुनारायण क्षेत्रको ल्यान्ड पुलिङका लागि फ्रान्सको हेलन एन्ड आर्किटेक कम्पनी छनोट गरिएको छ । कम्पनी छनोट भए पनि अन्तिम सम्झौता गर्न बाँकी रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । ‘छनोट गरिसकेका छौं, अब काम गर्न थाल्छन्,’ उनले भने, ‘विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर चाँडै बुझाउँछन् ।’


स्मार्ट सिटीका लागि छनोटको भएका भक्तपुरको बालकोट–गुण्डु र ललितपुरको खोकना–भैसेपाटीमा परामर्शदाताले काम सुरु गरिसकेको उनले बताए । ‘परामर्शदाताले कर्मचारी फिल्डमा पठाइसकेको छ,’ उनले भने, ‘चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिएका छौं ।’ प्रविधिमैत्री, व्यवस्थित र आधुनिक सहर निर्माण गरिने उनले बताए । व्यवस्थित बसोबास सरकारको पहिलो प्राथमिकता हुने उनको भनाइ छ । काठमाडौंको टोखाका लागि भने परामर्शदाता कम्पनी छनोट अन्तिम चरणमा रहेको उनले बताए । ‘प्रस्ताव आह्वान गरेका छौं, चाँडै छनोट हुन्छ होला,’ उनले भने । एमआरसी र नेस्टले १ वर्ष र हेलन एन्ड आर्किटेकले १५ महिनाभित्र डीपीआर बुझाउने प्राधिकरणसँग सम्झौता गरेको उनले बताए ।


आर्थिक लागत, सडक नेटवर्क, खुला स्थान र स्थानीयसँग छलफल गरेर सम्पूर्ण भौतिक प्रस्ताव पेस गर्न उनीहरू (परामर्शदाता) लाई स्वीकृत दिए उनले बताए । त्यसपछि सरकारले स्मार्ट सिटी निर्माणका लागि स्वकृति दिने उनले बताए । करिब एक वर्षअघि मन्त्रालयले भक्तपुरको गुण्डु उपत्यका, काठमाडौंको टोखा, ललितपुरको खोकना, काठमाडौं–भक्तपुरको चाँगुनारायणदेखि साँखु क्षेत्रमा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । उपत्यकाका चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने भन्दै तीन वर्षका निम्ति सरकारले कित्ताकाटसमेत रोक लगाएको छ ।


उपत्यका विकास प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा १ लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । साँखु मनोहरामा १ लाख तथा टोखा, गुण्डु र खोकना १०–१० हजार रोपनीमा कित्ताकाटदेखि सम्पूर्ण किनबेचमा समेत प्राधिकरणले रोक लगाएको छ । यसरी १ लाख ६० हजार वटा घडेरी बिक्री गर्ने प्राधिकरणको योजना छ ।


प्राधिकरणका अनुसार, पहिलो स्मार्ट सिटी एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म हुनेछ । खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुन: मूलपानी क्रिकेट मैदानलाई समेटिनेछ । दोस्रो स्मार्ट सिटी सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुन: सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्मार्ट सिटीमा खोकना, बुङ्मती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ ।

प्रकाशित : चैत्र १३, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?