कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीले भत्काए सीमा नदीका पुल

दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा सेना र सशस्त्र प्रहरी टोली परिचालित
मनोज बडू

दार्चुला — स्थानीयबासिन्दाले भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल भत्काइदिएका छन् । गत फागुनमा भारतले नेपालको अनुमतिबिना ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

नेपालीले भत्काए सीमा नदीका पुल

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । भारतले सडक निर्माण सामग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुल र हेभि इक्युमेन्ट गुड्ने करिब डेढसय मिटर ट्रयाक बनाएको थियो । उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्ग समेत निर्माण गरेको थियो ।


४ मध्ये स्थानीयले लखनपुर, नजाङ् र तम्बाकुका काठेपुल भत्काएको प्रहरीले जनायो । दार्चुला सदरमुकाम उत्तरको उक्त क्षेत्रमा नेपालतिर बस्ती छैन । भारतले आफ्नो क्षेत्रमा सडक निर्माण गर्न नेपाली भूमि प्रयोग गर्न खोजेको थियो । ‘सीमावारि हाम्रोतर्फ बस्ती नभएकाले पुल बनाउनुको अर्थ छैन,’ एक स्थानीयले भने, ‘भारतलाई मात्र फाइदा हुने देखिएकाले ती पुल भत्काएका हौं ।’


नेपाली प्रशासनको अनुमतिबिना भारतले मनोमानी ढंगले पुल बनाउने गरेको आरोप स्थानीयको छ । ‘आफूलाई आवश्यक नहुँदा पुल भत्काउँछन् । हिँड्डूल गर्दा हामीलाई दुर्व्यवहार गर्छन्,’ अर्का एक स्थानीयले भने । सोमबार स्थानीयले तल्लो दुम्लिङमा अस्थायी काठेपुल निर्माण गर्न खोजेका थिए । भारतीय सुरक्षाकर्मीले ‘माथिबाट कुनै आदेश’ नआएको भन्दै पुल राख्न दिएनन् । त्यसकै झोकमा मंगलबार त्यहाँका स्थानीयले भारतले बनाएका पुल पनि भत्काएर महाकालीमा फालेको डिएसपी जनकबहादुर शाहीले बताए । उक्त क्षेत्रमा अस्थायी प्रहरी पोष्ट दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित गरिएका छन् ।


गत फागुन २१ गते भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका अधिकारीबीच सीमा बैठक भएको थियो । बैठकमा भारतीय पक्षले आउजाउका लागि अस्थायी पुल राख्न दिनुपर्ने माग गरेका थिए । बैठकले सीमा नदीमा स्थानीयस्तरबाट अनुमति दिन नमिल्ने हुनाले दुवै देशका अधिकारीले केन्द्र सरकारलाई अनुमतिका लागि माग गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । तर, अहिलेसम्म गृह मन्त्रालयबाट र भारतबाट पनि उक्त बैठकमा भएको सहमतिका बारेमा कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ ।


उत्तरी सीमामा सशस्त्र

पछिल्ला गतिविधिले उत्तरी क्षेत्रका स्थानीयबीच तनाव हुनसक्ने विश्लेषण गरेर मंगलबार जिल्ला सुरक्षा समितिले सशस्त्र प्रहरीको एक टोली त्यता पठाउने निर्णय गरेको छ । त्यहाँको पछिल्लो सुरक्षा अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रमा गएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले बताए । नेपाली सेनाको एक टोली पनि सोही क्षेत्रमा छ ।


सातादेखि व्यास गाउँपालिकाको बुदी क्षेत्रमा रहेको सेनाले अहिले तल्लो दुम्लिङ्मा अस्थायी क्याम्प स्थापना गरेर उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ । त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति नै नहुने र भारतीयले मनोमानी गर्ने गरेका समाचार सार्वजनिक भएपछि नेपाली सेनाले उत्तरी सीमा क्षेत्रमा चासो देखाएको हो ।

प्रकाशित : चैत्र १४, २०७४ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?