कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विप्लवलाई प्रधानमन्त्रीले भने, ‘अलि बढ्ता भो क्या !’

अहिले प्रधानमन्त्री अग्नि परीक्षामा हुनुहुन्छ : दाहाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिप्रति असन्तुष्टि जनाउँदै हिंसात्मक गतिविधि नियन्त्रण गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवको २० औं वार्षिकोत्सवलाई राजधानीमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक आर्थिक टाट पल्टिएका बेला सिद्धान्तवादी भएर विकास र समृद्धिविरुद्ध नलाग्न चेतावनी दिए ।

विप्लवलाई प्रधानमन्त्रीले भने, ‘अलि बढ्ता भो क्या !’

‘सिद्धान्तवादी भएर कोही क्रान्तिकारी पल्ट्यिाएका छन् । नचाहिने कामका पछाडि दौडिएका छन् । केपी ओलीलाई वारेन्ट । प्रचण्डलाई वारेन्ट,’ चन्दा उठाउनका लागि सिद्धान्तको नाटक गरिएको बताउँदै प्रधानमन्त्रीले भने, ‘राजनीतिक मजाक नगर्न म विप्लवलाई सुझाव दिन चाहन्छु । अलि बढ्ता भो क्या !’


राजनीतिक प्रहसन नै गर्न मन लागे मदनकृष्ण–हरिवंश र धुर्मुस–सुन्तलीलाई आफूले पनि भनिदिने प्रधानमन्त्रीको ब्यंग्य थियो । माओवादी द्वन्द्वको सिको गर्दै भएका हिंसात्मक गतिविधिमा रोक लगाइने उनले बताए । ‘माओवादी जनयुद्धमा च्यांखे थाप्नेहरु थिए, अहिले खेल नभपछि, खाल नभएपछि च्याँखेको काम छैन,’ उनले भने, ‘यो देशको एकता, यो देशमा शान्ति हुन नदिनेलाई र बिखण्डनमा देश टुक्र्याउछु भन्नेलाई रोकिन्छ ।’


यूरोपियन युनियनको नाम नलिई प्रधानमन्त्रीले नेपालमा साम्प्रदायिक एकता बिथोल्ने प्रयास नगर्न पुन: चेतावनी दिए । ‘सबैलाई भन्न चाहन्छौं, नेपालीलाई मिलेर बस्न दिनुस्, नेपाल एकताबद्ध र समृद्धितिर जान चाहन्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपालको पासपोर्ट यसो देखेपछि जानुस् भनोस् न ।’


प्रधानमन्त्रीले नेपाल भारत र चीनसहित सबै मित्रराष्ट्रसँग मिलेर विकास र समृद्धिमा सहकार्य गर्ने उल्लेख गरे । ‘छिट्टै भारत भ्रमणमा जाँदैछु, भारतसँग मिलेर एकताबद्ध भएर विकासमा बाटोमा सहयात्रा गर्छौं,’ उनले भने, ‘नेपालको विकासमा भारत सहयोगी भूमिकामा रहन्छ, र त्यसका लागि अझ बढ्ता सम्बन्ध सुधार गर्न जाँदैछु, चीनसँग राम्रो छ, हामीलाई सहयोग गर्न तयार छ ।’



नेपालमा विकासका लागि अनुकूल वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकासमा व्यवधान खडा गर्न नहुने बताए । ‘कुनै एक क्षेत्रमात्र होइन समग्र मुलुकमा नै विकासको काम अगाडि बढ्छ । अहिले अनुकूल वातावरण बनेको छ । अब हामीलाई विकास गर्न व्यवधान गर्न कुनै पनि कुरा मान्य हुने छैन,’ विकासमा हुने भ्रष्टाचार कडाइसाथ रोक्ने बताउँदै उनले भने, ‘हामीलाई विकास चाहिन्छ । विकासमा बाधा गर्ने भ्रष्टाचार अब सहिँदैन । म भ्रष्टाचार गर्न दिन्न । भ्रष्टाचार सहन्न । नियन्त्रण गर्छु । निर्मूल गर्छु । यो मेरो प्रतिबद्धता हो ।’


वामपन्थी सरकार बनाउन ढिला भएछ भन्ने अनुभूति हुनेगरी काम गर्ने बताउँदै प्रधानमन्त्रीले अधिनायकवादको आशंका नगर्न आग्रह गरे । ‘लोकतन्त्रका लागि लडेका छौं । वकृत्वकला प्रतियोगिताबाट होइन, संघर्षको मैदानबाट आएका हौं । तानाशाहीलाई जितेर आएका हौं,’ उनले भने ।


मुलुकको अर्थतन्त्र नाजुक भए पनि मुलुकमा कसैलाई भौकै मर्न नदिने बताए । ‘जनता भोकै छ भन्दा मन पोल्ने सरकार छ,’ उनको भनाइ थियो, ‘अब जाडोले, शीतलहरले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।’


विकट भए पनि पहाडी जिल्लामा साक्षरता दर उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले वैशाख ५ गते तराईमा गएर बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान आफैंले सुरु गर्ने बताए । ‘पढाउन नसक्नेको बन्दोबस्त सरकारले गर्छ,’ उनले भने, ‘७६१ वटा सरकार छन् । ३६ हजार जनप्रतिनिधिले गर्नुपर्छ ।’


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकाल लम्बिंदा मुलुकमा विकास र समृद्धिका काम ढिला भएको भन्दै नयाँ सरकारले तीब्र विकासको काम गर्ने बताए । विकासको काम कुनै दल विशेषको नभएको बताउँदै उनले सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे । ‘अहिले प्रधानमन्त्री अग्नि परीक्षामा हुनुहुन्छ, हामी सबै अग्नि परीक्षामा छौं,’ उनको भनाइ थियो, ‘एकाध व्यक्ति र पार्टी विशेषलेमात्रै समृद्धिका काम पूरा गर्न सकिंदैन ।’ ठूलो क्षतिमा गुज्रिएपछिमात्रै देशले समृद्धि प्राप्त गरेको उदाहरण दिंदै नेपाल पनि ७० वर्षदेखिको अराजकता अशान्तिपछि समृद्धितिर लागेको बताए ।


दाहालले पनि विप्लवलाई फेरि पनि बिखण्डन, आन्दोलन र हिंसाको कुरा नगर्न सचेत गराए । ‘सुशासन र समृद्धिको यात्राभन्दा बाहिर गतिविधि गर्न चाह्यो भने नेपाली जनता निस्तेज पार्न आउछन्,’ उनले भने ।


जनताले भाषणभन्दा एक्सन हेर्न चाहेको बताउँदै दाहालले लोकतन्त्र, विकास र समृद्धिका लागि आफू र प्रधानमन्त्रीले ओलीले ठूलो कष्ट व्यहोरेको उल्लेख गरे । समृद्धि र विकासका लागि म १० वर्ष वनबास बसें, प्रधानमन्त्री १४ वर्ष जेलबास बस्नुभयो,’ उनको भनाइ थियो, ‘फुटाउ र राज गर भन्नेहरुले प्रो–इन्डिनय, प्रो–मोनार्की, प्रो–कांग्रेस भनेर फुटाउन खोज्छन्, त्यसो हुन दिनुहुँदैन । अब हामी प्रो–नेपाल प्रो–नेपाली भएर अघि बढ्नुपर्छ ।’

प्रकाशित : चैत्र १७, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?