कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट्याएका हुन् ।

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ उनले भने, ‘देशको शिर निहुरिने, अपमानबोध हुने कुनै काम नगरिकन सम्माजनक सम्बन्ध कायम गर्छौं ।’


नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग पनि पारस्परिक सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताए । ‘भ्रमणलाई देश र जनताको हितमा कसरी धेरैभन्दा धेरै उपलब्धिपूर्ण बनाउन सकिन्छ त्यसतर्फ मेरो ध्यान केन्द्रित हुने छ’ उनले भने ।


भ्रमणका क्रममा भारतसँग नयाँ सन्धि, सम्झौताभन्दा पनि विगतका सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिने प्रधानमन्त्री ओलीले बताए । ‘भारत भ्रमणमा सम्झौताको संख्यामाभन्दा सम्बन्धलाई यथार्थपूर्वक अगाडि बढाउँदै पहिला भएका सम्झौताहरुको कार्यान्वयन कसरी गर्ने भन्नेमा पनि मेरो ध्यान जानेछ’ उनले भने ।


प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरिसकेको छ ।


प्रकाशित : चैत्र २०, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?