कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वराहबाट सिम्लेसम्म जेटबोट सञ्चालन

सुनसरी — सप्तकोसीमा जलयातायातसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जेटबोट सञ्चालन भएको छ । सुनसरीको वराहक्षेत्रस्थित चतरादेखि उदयपुर र भोजपुरको बीचमा पर्ने कोसीको चुहारसम्म मंगलबार जेटबोट सुरु गरिएको हो ।

वराहबाट सिम्लेसम्म जेटबोट सञ्चालन

कोसीमा जलयात्राको सम्भावना भएकाले वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले व्यावसायिक जेटबोट सञ्चालन गरेको सञ्चालक सदस्य अमित भगतले बताए । उनले भने, ‘हामीले दुई साता परीक्षण गर्‍यौं । कोसीको रमणीय प्राकृतिक दृश्य हेर्दै जलयात्रा गर्ने पर्यटकलाई लक्षित गरी सेवा सुरु गरेका हौं ।’


हाल एउटा मात्र जेटबोट नदीमा उतारिएको छ । जेटबोट धनकुटाको सिम्लेसम्म चल्ने उनले बताए । चतराबाट भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा पुग्न चाहने यात्रुले पैदल दूरी करिब ३० किलोमिटर तय गर्नुपर्छ । सिम्ले पुग्नका लागि वराहक्षेत्र मन्दिरबाट ५ घण्टा हिँड्नुपर्छ । जलयात्राबाट त्यहाँ पुग्न ९ किलोमिटरमा छोटिने र जेटबोटले बढीमा २५ मिनेटमा पुर्‍याउने भगतले बताए । एक पटकमा २५ यात्रु बोक्ने जेटबोट फिनल्यान्डको जेट इन्जिनलाई भारतको कियानसिप कम्पनीले निर्माण गरेको बताइएको छ ।


अर्का सञ्चालक सदस्य लक्ष्मीप्रसाद रेग्मीले दैनिक अढाई सय यात्रुलाई सेवा दिने लक्ष्य राखेको बताए । चतरादेखि चुहारसम्मको जलयात्राको दूरी करिब ३० किमि छ । यात्रु र सामानसहित ३५ सय किलो लैजान सकिने क्षमता भएकाले हाललाई २५ जना यात्रु र उनीहरूका सामान्य लगेज मात्र चढाइने रेग्मीले बताए ।


कोसी नदीको प्रवाह बढी भएकाले ठूला जेटबोट कतिपय ठाउँमा ठोकिने भएकाले साना साइजका जेटबोट पनि ल्याउने तयारी भइरहेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष सन्तोष भण्डारीले जेटबोट सञ्चालनले पहाडी भेगका यात्रु तथा पर्यटकलाई सहज विकल्प दिएको बताए ।

प्रकाशित : चैत्र २१, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?