कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीले फराकिलो छाती बनाउनुपर्छ : भारतीय नेता

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसँग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसदका विपक्षी दलहरूले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् ।

मोदीले फराकिलो छाती बनाउनुपर्छ : भारतीय नेता

नेपालको सार्वभौम हैसियतलाई हृदयदेखि आत्मसात् गरी उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र नेपालले अन्य छिमेकीसँग राख्ने सम्बन्धलाई नेपाल–भारतबीचको सदियौंदेखिको मित्रतापूर्ण र घनिष्ठ सम्बन्धसँग नदाँज्न पनि उनीहरूले सुझाएका छन् ।


विगतमा नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप नाकाबन्दीको तहसम्म पुग्दा नेपालीको मन दुखेको स्मरण गराउँदै ती दलहरूले यसप्रति संवेदनशील भएर समकक्षी ओलीको स्वागत गर्न र नेपालका चासोहरू सम्बोधनमा कन्जुस्याइँ नगर्न सुझाव दिएका हुन् । मोदीले यति गरे नेपाल–भारत सम्बन्ध पूर्ववत् अवस्थामा फर्कने उनीहरूको विश्वास छ ।


प्रधानमन्त्री मोदीबाट भविष्यमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता आए नेपाल–भारत सम्बन्धले पुरानै लय समात्नेमा उनीहरू विश्वस्त छन् । ‘प्रधानमन्त्री ओलीसामु भारत बुद्धिमतापूर्वक प्रस्तुत हुनुपर्छ । भारतले नेपाल र नेपालीका आकांक्षाप्रति गहिरो चासो राख्नुपर्छ र त्यसको बदलामा नेपालका प्रधानमन्त्रीले पनि भारतका चासोलाई आत्मसात् गर्नुहुनेछ,’ खरो वक्ताका रूपमा चिनिने कंग्रेस आईका वरिष्ठ नेता मणिशंकर ऐय्यरले भने, ‘सार्वभौम मुलुकलाई आफूले चाहेको गर्न दिएपछि मात्र त्यस देशका जनताको मन जित्न सकिन्छ ।’


व्यापक जनसमर्थनबाट चुनिएका प्रधानमन्त्री ओली भारत भ्रमणमा आउन लागेको सन्दर्भलाई नेपाल–भारतबीचका सबै मतभेद हटाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने भारतीय राष्ट्रिय कंग्रेसका महासचिव डीपी त्रिपाठीले बताए । ‘भारत सरकारले त्यही हिसाबले प्रधानमन्त्री ओलीको सम्मान गर्नुपर्छ,’ उनले भने । भारतले नाकाबन्दीका नाममा नेपालीलाई जुन हदको सास्ती दियो, त्यो सम्झँदा भारतप्रति नेपालीको चित्त दुखाइ स्वाभाविक रहेको त्रिपाठीले बताए ।


भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का केन्द्रीय सचिवालय सदस्य निलोत्पल बसु पनि भारत सरकारबाट नेपालको आन्तरिक र निजी मामिलामा हस्तक्षेप हुनु गलत भएको र ती गल्तीलाई बिर्संदै सम्बन्ध सुधारका लागि यो भ्रमण उपयोगी बनाउनेतर्फ भारतले गम्भीर गृहकार्य गर्नुपर्ने सुझाउँछन् । भारतीय शासकहरूमा नरहेको नेपालको सार्वभौम हैसियतलाई मनैदेखि स्वीकार नगर्ने प्रवृत्तिले दुई देशबीचको सम्बन्धमा बाधा सिर्जना गरिरहेको बताउँदै ऐय्यर भन्छन्, ‘जब नेपाल र नेपालीको भारतप्रति विश्वास जाग्छ, तब मात्र हामीबीच वास्तविक सम्बन्ध कायम हुन्छ । त्यसैले नेपालको सार्वभौम हैसियतलाई स्वीकार गर्नु नै नेपाल–भारतबीचको सम्बन्धको एक मात्र निश्चित आधार हो ।’


सार्क सक्रिय बनाउन नेपालले लिएको अग्रसरतालाई सकारात्मक रूपमा लिनुपर्ने उनीहरूको जोड छ । सार्क क्षेत्रमा ऊर्जा, पर्यटनलगायत क्षेत्रमा साझेदारीको प्रचुर सम्भावना हुँदाहुँदै भारत–पाकिस्तान सम्बन्धका कारण अन्य क्षेत्रीय संगठनहरूको तुलनामा सार्क पछि परेको उनीहरूको निष्कर्स छ ।


पाकिस्तानसँग भारतको मतभेदकै कारण सार्क रोक्न नहुने त्रिपाठीले बताए । कंग्रेस आईका वरिष्ठ नेता ऐय्यर पनि भारतले पाकिस्तानसँगको सम्बन्धका कारण सार्क अवरुद्ध पार्नु गलत भएको बताउँछन् । ‘यो भ्रमणबाट सार्कको विषयले निकास पायो भने दुई वर्ष भारतले गरेको गल्ती नेपाली जनताले बिस्तारै भुल्दै जानेछन् अन्यथा त्यो गल्तीको छाया नेपाल–भारत सम्बन्धमा सधैं रहिरनेछ ।’ सार्कलाई गतिशील बनाउन भारतको भूमिका अहम् हुने र त्यसका लागि भारतले तत्परता देखाउनुपर्नेमा नेता बसुको जोड छ । दुई देशबीच पनि थुप्रै क्षेत्रमा सहकार्य गर्न सकिने उनी बताउँछन् । ‘बेरोजगारी र असमानताजस्ता समस्या हल गर्न पनि नेपाल र भारतबीच सहकार्यका क्षेत्र हुनुपर्छ । तर, त्यो साझेदारी जनता केन्द्रित हुनुपर्छ र जनता लाभान्वित हुनुपर्छ ।’


भारतले नेपाल र चीनबीचको सम्बन्धलाई सधैं शंकाका नजरले हेरेका कारण पनि समस्या देखिएको उनीहरूको भनाइ छ । नेपाल र चीनबीच बढो सम्बन्ध २१ औं शताब्दीको यथार्थ हो भन्नेमा पनि भारत विश्वस्त हुनुपर्छ अनि नेपालले पनि त्यो सम्बन्ध भारतसँगको ऐतिहासिक सम्बन्धको मूल्यमा होइन भन्ने विश्वास दिलाउन सके भ्रमणको सार्थकता रहने नेताहरूको भनाइ छ । ‘कुनै पनि स्वतन्त्र मुलुकको छिमेकसँग सम्बन्ध विस्तार गर्न पाउने स्वायत्त अधिकारमाथि हामीले किन चासो राख्ने ? भारतसँगको सम्बन्धलाई चीनसँग किन दाँज्ने ?’ माक्र्सवादीका नेता बसुले भने, ‘कुन छिमेकसँग कस्तो सम्बन्ध राख्दा मुलुकलाई अधिकतम फाइदा हुन्छ भन्ने निर्णय गर्ने अधिकार त त्यहाँकै जनतालाई नै हुन्छ ।’


भारतले विगतमा गरेका आन्तरिक हस्तक्षेपजस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे सार्क सम्मेलन समयमै आयोजना गर्न सकारात्मक देखिएका ओलीको भ्रमण सफल ठहरिने नेताहरूको कथन छ । यसबाट नेपाल–भारत सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने उनीहरू बताउँछन् । ‘मोदीको प्रस्तुति र सार्क सम्बन्धमा आउने नतिजामै भ्रमणको सफलता र असफलता निर्भर छ,’ ऐय्यरको निष्कर्ष छ ।


‘विगतका गल्तीबाट पाठ सिक्दै भारतले नेपालका समस्या समाधान गर्ने सन्दर्भमा बाधक होइन, सहजकर्ताको भूमिका खेल्नुपर्छ,’ नेता त्रिपाठीले भने, ‘मोदीजीले नेपालका प्रमलाई यसमा आवश्स्त पार्नसके भ्रमण सफल ठहरिनेछ ।’

प्रकाशित : चैत्र २१, २०७४ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?