कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरनिकोको अझै एकलौटी

अनिश तिवारी

सिन्धुपाल्चोक — यात्रुलाई सुविधा दिने भन्दै विभिन्न नामबाट बस सेवा चलेका भए पनि अरनिको राजमार्ग भएर दोलखा, चरिकोट र रामेछापसम्म गुड्ने अधिकांश बस अरनिको सेवा समितिअन्तर्गतका छन् ।

अरनिकोको अझै एकलौटी

काठमाडौंबाट चौतारा आउने जुगल, जलवीरे आउने जलवीरे यातायात, बाह्रबिसे चल्ने सुनकोसी, दोलखा चल्ने सगरमाथा, काभ्रेमा कोसीपारि र शैलुंगेश्वरी यातायातका नाममा अरनिकोले नै बस सञ्चालन गर्दै आएको छ ।


सीमा क्षेत्र तातोपानी र सदरमुकाम चौतारासम्म दुवै रुटमा अरनिकोकै बस चल्ने गरेका छन् । सरकारले दिएको सुविधा पनि अरनिको यातायातले दिने गरेको छैन । विद्यार्थी, अपांगता भएका र ज्येष्ठ नागरिकले पाउने सहुलियत अरनिको बसले नदिएको यात्रुको गुनासो छ । महिला, अपांग र ज्येष्ठ नागरिक सिटको अवज्ञा नै गरिएको छ ।

‘सिन्डिकेट नहटेका कारण सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, त्यसका अलावा दुर्घटनाको जोखिम उच्च छ,’ दैनिक विद्यालय आउजाउ गर्दै आएकी साँगाचोक पोखरेकी सीता पराजुलीले भनिन्, ‘बेलामै समाधान गर्न जरुरी देखिन्छ ।’ सिटबाहेक राख्न नपाइने भए पनि अरनिको बसमा कोचाकोच यात्रु राखिन्छ ।


ग्रामीण भेगमा रुट परमिट नलिई बस जान नदिने सरकारी निर्णयपछि जलवीरे, फुल्पिङकोट, कर्थली, घोर्थलीलगायतका दुई दर्जन स्थानमा यातायातका साधन चल्न सकेका थिएनन् । पछि जिल्ला प्रशासनको पहलमा गाउँका सडकमा बस जान थालेका हुन् । ‘केही समस्या छन्, तर हामी चुकेका छैनौं,’ अरनिको सेवा समितिका अध्यक्ष श्याम लामाले भने, ‘केही गुनासो भए समितिमा राख्न अनुरोध गर्छ‘, हामी सुधार्छौं ।’


जिल्लामा सञ्चालन भइरहेका हेलम्बु यातायात र आमा हेम्लो यातायातबीच प्रतिस्पर्धा देखिए पनि ती कम्पनी एकीकृत हुने चरणमा छन् ।

मेलम्ची नगरपालिकादेखि हेलम्बु गाउँपालिकाअन्तर्गतको तिपेनी, हेलम्बु, तिम्बु, किउल, महांकाल, इचोकलगायत गाउँका बासिन्दाले आमा हेल्मो यातायातको सुविधा लिइरहेका छन् । विकट गाउँ गुन्सा, भोताङ, बरुवामा आमा हेल्मो यातायातले सेवा दिइरहेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले एकाधिकार अन्त्य गर्न कडा भएर प्रस्तुत हुने बताए ।

‘एकाधिकार तोड्न थप नीति आउनुपर्छ,’ उनले भने, ‘केन्द्रको निर्देशनअनुसार अघि बढ्छौं ।’

प्रकाशित : चैत्र २२, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?