१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सेवा नपाएको भन्दै तालाबन्दी

कर्मचारी–स्थानीय असमझदारी
अर्जुन राजवंशी

गौरादह (झापा) — नगरवासीले गौरादह नगरपालिका कार्यालयबाट समयमै सेवा पाउन नसकेको गुनासो गरेका छन् । उनीहरूले जनप्रतिनिधि र कर्मचारीले गुनासोअनुसार काम नगरेको भन्दै सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

सेवा नपाएको भन्दै तालाबन्दी

उनीहरूले नगरपालिकाबाट सामान्य काम गराउन पनि विभिन्न अवरोध झेल्नुपरेको आरोप लगाएका छन् । स्थानीयले घर नक्सा सिफारिस, घर सम्पन्नताको प्रमाणपत्र पाउन नसकेको, नगरपालिकाले अहिलेसम्म बजेट सार्वजनिक नगरेको एवं कार्यालय समयमा जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेको आरोप लगाएका छन् । उनीहरूले स्थानीय सरकार बने पनि आफूहरूले भने झनबढी सास्ती बेहोर्नुपरेको बताएका छन् ।

सेवाग्राही प्रकाश बाँस्कोटाले नगरपालिकाको सेवा प्रवाह नियमित बनाउन खबरदारी गर्नुपरेको बताए । ‘कार्यालयको सेवा दुरुस्त बनाउन हामीले ताला लगाउनुको विकल्प भएन,’ सेवाग्राही बाँस्कोटाले भने, ‘यसबारे जनप्रतिनिधिलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएपछि यो अवस्थासम्म पुगेका हौं ।’ उनले एउटै कामका लागि पटकपटक कार्यालय धाउँदा समेत आफ्नो काम हुन नसकेको गुनासो गरे । उनले नगरपालिका जनताको कामप्रति चिन्तित बन्न नसकेको आरोप लगाए ।

गौरादह वाणिज्य संघका अध्यक्ष जीवन राईले नगरपालिकाले सेवाग्राहीको काम राम्ररी गर्न नसकेकाले स्थानीय विरोधमा उत्रिएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिल्न नसक्दा सेवाग्राही मारमा परेको बताए । उनले भने, ‘कर्मचारीहरूले अझै पनि पुरानै शैलीमा काम गरिरहेका छन् ।’

निर्वाचित जनप्रतिनिधि भए पनि उनीहरूले कडाइका साथ काम गराउन सकिरहेका छैनन् । त्यसैको असर हो, कार्यालयमा तालाबन्दी ।’ स्थानीयका अनुसार नगरपालिकाले महिनौंदेखि घरको नक्सा पास र घर सम्पन्नताको प्रमाणपत्र दिन सकेको छैन ।

नगर प्रमुख रोहितकुमार शाह तथा उपमेयर गीता भेटवालले जनगुनासोअनुसार सेवा प्रवाहमा केही कमजोरी भएको स्वीकार गरे । उनीहरूले कार्यालयको सेवा प्रवाहबारे मौखिक गुनासो आए पनि लिखित गुनासो नआएको मेयर शाहले बताए ।

उनले भने, ‘हामी जनप्रतिनिधिहरू जनताकै घरदैलोमा गएर सेवा दिइरहेका छौं ।

कार्यालयमा बसेर भन्दा पनि उनीहरूको वडामा, टोलमा पुगेर विकास निर्माणको अनुगमन गर्ने, नयाँ योजनाबारे छलफल गर्ने, जनताका गुनासो सुन्ने काम गरिरहेका छौं ।’ उनले जनताका अपेक्षा धेरै रहेको तर, ठूलो संख्यामा कर्मचारी अभाव रहेकाले केही कामहरू सम्पन्न गर्न समय लागेको स्वीकार गरे ।

कर्मचारीले बुझाए ज्ञापनपत्र
गौरादह नगरपालिका कार्यालयमा कार्यरत तीन दर्जनभन्दा बढी कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले चार बुँदे माग राखी मंगलबार नगरपालिकाका मेयर शाहलाई ज्ञापन पत्र बुझाएका हुन् । कर्मचारीले कार्यालयमा बसेर काम गर्न सुरक्षित वातावरण नरहेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

नासु खडगबहादुर थापाले कानुनी रूपमा काम गर्न समस्या भइरहेको अवस्थामा सेवाग्राहीबाट समेत काम गर्ने वातावरण बिग्रिएको बताए । कार्यालयभित्र काम गरिरहेका कर्मचारीलाई बाहिर निकालेर अपरिचित समूहले कार्यालयमा तालाबन्दी गर्ने, कर्मचारीविरुद्ध अनर्गल हल्ला फैलाउनेजस्ता कुराले कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको उनले बताए ।

उनीहरूले ज्ञापनपत्रमार्फत कर्मचारीलाई ऐन, कानुन, विधि र प्रक्रियाविपरीत काममा लगाउने प्रवृतिको अन्त्य गर्नुपर्ने, कर्मचारीको जीउ, ज्यान, सम्पत्ति, सेवा तथा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, कार्यालयमा काम गर्न मिल्ने उचित वातावरणको व्यवस्था गर्नुपर्ने र कर्मचारीमाथि असभ्य व्यवहार गर्ने तथा कार्यालयमा तालाबन्दी गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले मेयर शाहलाई बुझाएका थिए । ज्ञापनपत्र बुझदै मेयर शाहले कर्मचारीलाई कार्यालयमा काम गर्न सुरक्षित वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनगुनासोलाई ऐन, कानुनअनुसार ढुक्क भएर काम गर्न निर्देशन दिए । कर्मचारीले माग पूरा नभए संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

प्रकाशित : चैत्र २२, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?