पाइलट पाउनै मुस्किल

नेपालमा दोस्रो पुस्ताका पाइलट उत्पादन नहुँदा विमान ल्याए पनि उडाउने जनशक्ति अभाव टड्कारो बन्दै छ
सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले आगामी असारमा ल्याउन लागेको एयरबसको वाइड बडी विमानको उडान भर्न क्याप्टेन र कोपाइलटसहित कम्तीमा ३२ जना पाइलट आवश्यक पर्छ । यो जनशक्ति नेपालसँग छैन ।

त्यसका लागि निगमले सुरुमा कम्तीमा १० जना विदेशी पाइलट ल्याउँदै छ, उनीहरूकै इच्छाअनुसार मासिक २० लाख रुपैयाँसम्म तलब दिने सर्तमा ।

‘यतिउति भन्ने छैन, नेगोसिएट गरेर १६ देखि २० हजार डलरसम्म मासिक तलब दिन्छौं,’ महाप्रबन्धक सुगतरत्न कंसाकारले कान्तिपुरसँग भने, ‘नेपालमा सञ्चालित २६ वटा विदेशी एयरलाइन्सकै पाइलटको हाराहारी तलब दिनैपर्छ । नत्र हामी जहाज उडाउन सक्दैनौं ।’ उनका अनुसार सुरुमा ल्याइने प्रशिक्षक पाइलट र क्याप्टेनले निगमका अरू पाइलटलाई पनि वाइड बडीका लागि ‘क्लियर’ गर्दै जानेछन् । वाइड बडी सञ्चालनमा आइहाले पनि केही वर्ष विदेशी पाइलटकै कमान्ड रहनेछ । दुई वर्षअघि ल्याइएका दुइटा एयरबस उडाउन अहिले तीन विदेशीसहित ३४ पाइलट छन् । निगमले तीन विदेशीलाई मासिक १२ लाख र नेपालीलाई ७ लाख रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ ।

Yamaha

पाइलट अभाव नेपाल एयरलाइन्समा मात्र होइन, पछिल्लोपटक यहाँ सञ्चालित स्वदेशी एयरलाइन्सको पनि मुख्य समस्या यही बनेको छ । निजी क्षेत्रमा सर्वाधिक यात्रु बोक्ने बुद्ध एयरले हालै ८ नेपाली विद्यार्थीलाई उनीहरूकै खर्चमा, स्वदेश फर्केपछि बुद्धकै जहाज उडाउने सर्तमा अमेरिका पढ्न पठायो । ‘जब ग्यारेन्टी गरेर ८ नेपाली विद्यार्थीलाई अमेरिका पठायौं, थप ८ जना एक महिनामा जाँदै छन्,’ बुद्धका निर्देशक रूपेश जोशीले भने । ६ वर्षअघि नेपालमा पाइलट अभाव हुँदा बुद्धले तीन चरणमा ३० जना विज्ञान विषयमा १२ पास गरेका नेपाली विद्यार्थीलाई अमेरिका पाइलट कोर्स अध्ययनका लागि पठाएको थियो । चाँडै थप नयाँ देशी–विदेशी गन्तव्यमा जाने योजना बनाइरहेको बुद्धले नेपाली बजारमा पाइलट अभाव हुने देखिएपछि आफ्नो कम्पनीको सिफारिसमा भिसा लगाई अमेरिका पठाएको हो ।

बुद्धले जस्तै सरकारी स्वामित्वको निगमले पनि नेपाली विद्यार्थीलाई उनीहरूकै खर्चमा पाइलट तालिममा पठाउने तयारी गरिरहेको छ । नेपालमा भएका २१ वटा एयरलाइन्समध्ये सबभन्दा धेरै पाइलट चाहिने निगम नै हो । तर, निगमले पाइलट भर्नामा दरखास्त आहवान गर्दा प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्न सकिरहेको छैन । ‘साउनमा ३० जना जुनियर पाइलट माग गर्दै विज्ञापन गरेका थियौं, २८ जनाको मात्रै आवेदन पर्‍यो,’ निगमको मानव स्रोत विभागका निर्देशक रामप्रसाद खतिवडाले भने, ‘तीमध्ये १८ लिखितमा निस्किए । मौखिकसहित १२ जनाको मात्रै भर्ना गर्न सक्यौं ।’

पाइलटका लागि आह्वान गरिने विज्ञापनमा जहिल्यै पर्याप्त आवेदन नपाउने निगमले केही समयअघि प्रशासनका लागि १ सय ५२ कर्मचारी माग्दा ४२ हजारको आवेदन परेको थियो । यसैबाट नेपालमा प्राविधिक जनशक्ति अभाव रहेको छर्लंग हुन्छ ।

पछिल्लोपटक नयाँ हेलिकप्टर वा विमान कम्पनी खुलेपछि यिनले झेल्नुपर्ने मुख्य समस्या पाइलट अभाव नै बन्ने देखिएको छ । कान्छो एयरलाइन्स श्रीले जब साउनदेखि व्यावसायिक उडानका लागि पाइलट खोज्यो, तीनवटा एयरलाइन्समा उडाइरहेका एक दर्जन हाराहारी पाइलट श्रीमा पुगे । आकर्षक तलब सुविधा श्रीमा पाएपछि तारा, यती, सौर्य एयरलाइन्स पाइलटविरुद्ध अदालतमै गए । मुद्दा अहिलेसम्म टुंगिएकै छैन । ‘केही पाइलट साथीको मुद्दा विचाराधीन अवस्थामै छन्,’ श्री एयरलाइन्सका एक पाइलटले भने, ‘त्यसबेला ८ जना पाइलटविरुद्ध ती एयरलाइन्स अदालतमा मुद्दा दायर गर्न पुगेका थिए ।’

फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागका अनुसार नेपालमा १२ वटा एयरलाइन्सका ५४ वटा (फिक्स्ड विङ) र १० वटा हेलिकप्टर कम्पनीमा ३३ वटा (रोटर) विमान छन् । यी विमान उडाउने ३ सय ६७ नेपाली पाइलटले विभागबाट लाइसेन्स लिएका छन् । तर, अपरेटरहरू यो संख्या अत्यन्तै न्य्ून भएको बताउँछन् । नेपाली पाइलट अभावमा तिब्बत एयरलाइन्सको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले २६ जना विदेशी पाइलट राखेको छ । हिमालयनका प्रशासन उपप्रमुख विजय श्रेष्ठका अनुसार नेपाली बजारमा एयरबस ‘ए ३२०’ उडाउने पाइलट अभाव भएकै कारण विदेशी पाइलटबाट चारवटा अन्तर्राष्ट्रिय गन्तव्यमा काठमाडौंबाट उडान भइरहेका छन् । यस एयरलाइन्समा नेपाली पाइलटको संख्या २१ छ ।

दुइटा एयरबसका लागि तीन जना विदेशी पाइलट राखिरहेको निगमले साना चारवटा चिनियाँ विमान वाई१२ई उडाउन थप तीन चिनियाँ पाइलट ल्याउने प्रक्रिया थालिसकेको छ । नेपाली बजारमा यो वर्गको जहाज उडाउने प्रशिक्षक पाइलट (इन्स्ट्रक्टर पाइलट) र क्याप्टेन नपाइएपछि निगम पाइलट खोज्न विमान निर्माता मुलुकतर्फ लागेको हो ।

११ वटा हेलिकप्टर कम्पनीमध्ये श्री र मनाङबाहेक ९ कम्पनी विदेशी पाइलटकै भरमा छन् । विभागका एक उपनिर्देशकका अनुसार अहिले १० वटा हेलिकप्टर कम्पनीमा ११ वटामा विदेशी तथा ४३ वटामा स्वदेशी पाइलट छन् ।

‘कमर्सियल उडानमा रहने जहाजको तुलनामा हेलिकप्टर कम्पनीहरूलाई पाइलटको बढी अभाव छ,’ हेलिकप्टर पाइलट विवेक खडकाले भने, ‘पर्यटकीय सिजन सुरु भएपछि नेपाली पाइलटले मात्रै पुग्दैन, प्राय: सबै नेपाली कम्पनीले विदेशी बजारबाट पाइलट ल्याउनै पर्छ । नेपालमा पछिल्लोपटक दोस्रो पुस्ताको पाइलट नै तयार भएन ।’ नेपाली विद्यार्थी पाइलट कोर्स गर्न प्राय: अमेरिका, फिलिपिन्स र दक्षिण अफ्रिका जाने गर्छन् । पाइलट तालिममा ८० लाखदेखि १ करोड रुपैयाँँसम्म खर्च आवश्यक पर्छ ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुरु भयो यार्सा मार्च

स्थानीय तहले राजस्व संकलन गर्ने
वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाको मुख्य आयस्रोतको रूपमा रहेको यार्सा संकलनको तयारी सुरु भएको छ ।

विगतका वर्षजस्तै यस वर्ष पनि यार्सा संकलन क्षेत्रमा ३ महिनाका लागि लेकतिर सामल ढुवानी गर्नेहरूको लर्काे लाग्न थालेको छ ।

विशेषगरी, सुर्मा, साइपाल, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका यार्सागुम्बा संकलकहरू यतिखेर सपरिवार लेक उक्लन थालेका हुन् । वैशाख पहिलो सातादेखि सुरु हुने यार्सा संकलनपूर्व नै स्थानीयले ३ महिनाका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लेकतर्फ पुर्‍याउने गर्छन् । भेडा खच्चर हुनेहरूले चौपायाबाट र नहुनेले बोकेरै सामानहरू संकलन क्षेत्रमा पुर्‍याउने गर्छन् ।

लेकमा बस्न पाल गाड्ने तथा दाउराको जोहो गर्न स्थानीयहरू चैत मध्यतिर नै संकलन क्षेत्रमा पुग्ने गर्छन् । यार्सा संकलनका लागि भनेर यस क्षेत्रबाट धनगढी, महेन्द्रनगर, काठमाडौंलगायतका बाहिर जिल्लामा काम विशेष र अध्ययनका लागि गएका बासिन्दा पनि सबैजसो बझाङ आइसकेको सुर्माका देव बोहराले बताए ।

लेकमा सामल पुर्‍याइसकेपछि थकाइ मार्दै संकलकहरू। तस्बिर : वसन्तप्रताप

यस अवधिमा अल्पकालीन रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएकाहरू पनि घर फर्किने गरेको उनले बताए ।

उत्तरी भेगका सबै गाउँका बासिन्दा वैशाखदेखि असार महिनासम्म पूर्ण रूपमा यार्सा संकलन क्षेत्रमा बस्ने गर्छन् । गाउँमा अशक्त, वृद्धवृद्धा, सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्र हुन्छन् । ‘धेरैजसो लेक उक्लिइसके,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘बाँकी रहेका केही परिवार पनि आजभोलि नै जाने तयारीमा छन् । चैत अन्तिमतिर सबै गाउँ खाली भइसक्छन् ।’

लेक जानेका कारण अहिले सदरमुकाम चैनपुर र स्थानीय बजारमा सरसामान किन्नेहरूको निकै भीडभाड हुन थालेको छ । लेकमा आवश्यक पर्ने जुत्ता, ज्याकेट लगायतका न्याना लत्ताकपडा, उपभोग्य सरसामान खरिद गर्नेहरूका कारण बजारको कारोबारमा निकै वृद्धि भएको फेन्सी पसल सञ्चालक डबलबहादुर खडकाले बताए । ‘परिवारका सबै सदस्यलाई न्याना लुगा किन्नेको भीड लाग्न थालेको छ । एकै परिवारले २०/२५ हजारसम्मका लुगा खरिद गर्ने गरेका छन्,’ अन्य क्षेत्रमा न्यानो लुगाको सिजन नभए पनि बझाङमा भने गर्मी मौसम सुरु हुन लाग्दा न्याना लुगाको माग बढेको उनले बताए ।

स्थानीय तहले यार्सा संकलन क्षेत्रमा जानेहरूबाट राजस्व संकलन गर्ने तयारी गरेका छन् । केही दिनअघि बसेको गाउँपालिकाको बैठकले गाउँपालिकाभित्र बसोबास गर्नेबाट प्रतिव्यक्ति एक सय, गाउँपालिका बाहिरका संकलकबाट प्रतिव्यक्ति पाँच सय र बाहिरी जिल्लाका संकलकबाट एक हजार रुपैयाँ राजस्व संकलन गर्ने निर्णय गरेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

यस्तै साइपाल गाउँपालिकाले स्थानीय तहभित्रका संकलकका लागि २ सय ५०, छिमेकी स्थानीय तहका संकलकका लागि ३ सय ५०, जिल्लाभित्रका संकलकका लागि ५ सय र जिल्ला बाहिरका व्यक्तिबाट १ हजार राजस्व संकलन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र धामीले बताए । उनले यार्सा संकलन क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लाडि सुरक्षा व्यवस्थाका लागि पनि जिल्ला र प्रदेश स्तरमा पत्राचार गर्ने काम भइसकेको उनले बताए ।

प्रकाशित : चैत्र २५, २०७४ ०७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT