जापानी आरोहीको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ ।

मेरापिक हिमाल आरोहणका लागि गएका ७० वर्षीय जापानी नागरिक कासाइ तादामित्सुको गत शुक्रबार शिखरमा पुगेपछि मृत्यु भएको थियो ।

प्रदेश १ प्रहरी कार्यालयका अनुसार सोमबार उनको शव आधार शिविरमा ल्याएर लुक्लाबाट जहाजमार्फत काठमाडौं पठाइएको छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डाक्टर र प्रहरीले बचाए सुत्केरी

कान्तिपुर संवाददाता

दोलखा — अत्यधिक रक्तश्रावपछि अस्पतालमा सुत्केरी हुन आएकी एक महिलालाई शल्यक्रिया गर्ने चिकित्सक र प्रहरीले रक्तदान गरेर बचाएका छन् ।

चिकित्सकका अनुसार मानिसको शरीरमा पाँच लिटर रगत हुन्छ । करिब चार लिटर रगत शरीरबाट बाहिर निस्किएर बेहोस अवस्थामा ल्याइएकी बुद्धमाया थामीलाई ‘ओ पोजेटिभ’ रगत अभाव भएपछि शल्यक्रिया गर्न तयार भएका डा. विनोद दंगाल आफैंले रक्तदान गरेका थिए ।

तिब्बती सीमाछेउ दुर्गम विगु गाउँपालिका–८ खोपाचाँगुबाट ल्याइएकी ४३ वर्षीया बुद्धमायालाई ब्लड बैंकमा भएको तीन पोका रगतले नपुग्ने भएपछि आफूले पनि रक्तदान गरेको दंगालले बताए । प्रहरीले समेत रक्तदान गरेपछि जम्मा भएको आठ पोका रगत बुद्धमायालाई दिएपछि अवस्था राम्रो भएको अस्पतालको भनाइ छ ।

निकै ढिलो गरी अस्पताल ल्याइपुर्‍याइएकाले उनलाई शल्यक्रिया गर्न चार घण्टा लागेको थियो । पेटभित्रै शिशुको ज्यान गए तापनि आमा सकुशल छन् । उक्त अस्पतालमा ‘ओ पोजेटिभ’ रगत सधैं अभाव हुन्छ ।
उक्त समूहको रगत नपाइएपछि शल्यक्रिया गर्ने डाक्टर आफैंले रक्तदान गरी अरूलाई पनि आहवान गरेका थिए । डा. दंगालको आग्रहपछि दोलखामा कार्यरत प्रहरी नायब निरीक्षक यज्ञनन्दप्रसाद शाह र सुजित बस्नेत, प्रहरी जवानहरू शर्माप्रसाद कुर्मी, प्रेम भण्डारी, कुमार बस्नेत, खोभारी ठाकुर र भीम सापाकोटाले एक/एक पाउन्ड रगत दान गरेका थिए ।

बेहोस भएर चरिकोट अस्पताल आइपुगेको पनि थाहा नभएको बताउने बुधमायाले आफूलाई बचाउने डाक्टर र प्रहरीलाई धन्यवाद भनिनन् । बुद्धमायाका पति कर्णबहादुर थामीले गाउँबाट आएका गरिबलाई रगत खोजेर बिनाखर्चमा सबै उपचार गरिदिएर ठूलो गुण लगाएको बताए । ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT